कोशीमा सभामुखको निर्वाचन विश्वासको मत लिनुअघि कि पछि ?

पद रिक्त भएको १५ दिनमै हुनुपर्ने विज्ञको सुझाव

यज्ञराज पाण्डे
Read Time = 11 mins

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएपछि अब नयाँ सभामुखका लागि निर्वाचन कहिले हुने भन्ने प्रश्न उब्जिएको छ । सरकार गठनमा बहुमत दाबी गर्न नसक्ने भएपछि सत्ता गठबन्धनले उहाँलाई पदबाट राजीनामा गरेर बहुमत जुटाए पनि नयाँ सभामुखको निर्वाचनअघि नै विश्वासको मत लिने कि विश्वासको मत लिएर मात्रै सभामुखको निर्वाचन गर्ने अन्योलता देखिएको छ ।

नेपालको संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उपसभामुखको व्यवस्था छ । धारा १८२ को उपधारा १ मा प्रदेशसभाको बैठक सुरु भएको १५ दिनभित्र सभामा रहेका सदस्यमध्येबाट एकजना सभामुख र एकजना उपसभामुख निर्वाचित गरिसक्नु पर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कोशी प्रदेशसभाबाट बाबुराम गौतम सभामुख र सिर्जना दनुवार उपसभामुखमा निर्वाचित हुनुभएको थियो ।

धारा १८२ को उपधारा ३ मा ‘प्रदेश सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी प्रदेश सभामुख वा उपसभामुखको पदपूर्ति गर्ने सक्नेछन्’ भनिएको छ । तर, रिक्त रहेको सभामुख र उपसभामुख पद कति दिनभित्र पूर्ति गर्ने भन्ने विषयमा संविधानले समेत केही बोलेको छैन । धारा १८२ कै उपधारा ५ मा प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रदेशसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

कोशी प्रदेशसभा नियमावली २०७४ (संशोधन) समेतको नियम १६९ ले सभामुख र उपसभामुखको राजीनामाको व्यवस्था गरेको छ । नियम १६९ को उपनियम १ मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी आफ्नो पदबाट राजीनामा दिनसक्ने व्यवस्था छ । उपसभामुख वा कुनै सदस्यले आफ्नो पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गरी दिनुपर्ने उल्लेख छ ।

सोही नियम २ को उपनियम १ बमोजिम दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउनेछ । बैठक चालु नरहेको अवस्थामा सूचना पत्रमा प्रकाशन गरी त्यसको प्रचारप्रसारसमेत गराइने उल्लेख छ । सभामुख गौतमसहितको हस्ताक्षर बुझाउँदै नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले असार २१ गते कोशी प्रदेशसभामा बहुमत रहेको दाबी प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको थियो । सोही दाबीका आधारमा प्रदेश प्रमुखले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

गौतमको राजीनामापछि अहिले कोशीमा सभामुख पद खाली छ । तर, सभामुखको निर्वाचन कसरी र कहिले गर्ने भन्ने विषयमा कोशी प्रदेशसभा सचिवालयका कर्मचारीहरू अन्योलमा छन् । कोशी प्रदेशसभा नियमावली २०७४ (संशोधन) मा सभामुखले राजीनामा दिएपछि कसरी र कहिलेसम्ममा सभामुख निर्वाचन गर्ने भन्ने विषय मौन छ । नियमावलीमा सभामुखको पुनः निर्वाचनबारे उल्लेख नहुँदा के गर्ने ? भन्ने विषयमा अन्योल भएको सचिवालयका उपसचिव तथा प्रवक्ता गौतमराज अमात्यले जानकारी दिनुभयो । नियमावली पुनः निर्वाचनमा मौन रहेकाले आफूहरू छलफलमा रहेको उहाँको भनाइ छ ।

प्रदेशसभाको सुरुकै अवस्थाको कानुन आकर्षित हुँदा १५ दिनभित्रै सभामुखको निर्वाचन गरिनुपर्ने : डा. ज्ञवाली
बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली प्रदेशसभाको कार्यकालको बीचमा सभामुखको पद रिक्त हुँदा सुरुकै अवस्थाको कानुनी व्यवस्था लागू हुने जिकिर गर्नुहुन्छ । प्रदेशसभा बैठक सुरु भएको १५ दिनमै सभामुखको निर्वाचन गर्नुपर्ने सुरुको अवस्थाअनुसार प्रदेशसभाको कार्यकाल अवधिमा सभामुखको पद रिक्त हुँदा पनि १५ दिनमै उक्त पदपूर्ति गरिनुपर्ने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यस्तो अवस्थामा संविधानको यान्त्रिक व्याख्या गरिनुपर्ने हुन्छ । सभामुखको पद १५ दिनभन्दा बढी रिक्त हुनुहुँदैन भन्ने संवैधानिक मान्यता हो । त्यसैले त अधिवेशन सुरु भएको १५ दिनभित्रै सभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था संविधानले गरेको हो । अहिलेको अवस्थामा पनि १५ दिनभित्रै सभामुखको निर्वाचन गरिनुपर्दछ ।’

त्यसो त यसरी बीचमा पद रिक्त हुँदा यति दिनभित्र नै पदपूर्ति गर्नुपर्छ भन्ने संवैधानिक वा कानुनी व्यवस्था छैन । तर, यसलाई अहिले प्रयोगात्मक रूपले पनि हेरिनुपर्ने डा. ज्ञवालीको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘तर यो विषय अहिले त सरकार गठनसँग बढी सम्बन्धित छ । सरकारले विश्वासको मत लिँदा बहुमत पुर्‍याउनलाई पनि अहिले सभामुखको निर्वाचन गर्ने अवस्था देखिँदैन । विश्वासको मत लिएपछि मात्रै सभामुखको निर्वाचन हुने देखिन्छ । उपसभामुखले अहिले सभामुखको भूमिका निभाउन सक्नुहुन्छ । तर, उपसभामुखले पनि राजीनामा दिने र ज्येष्ठ नागरिकले सभामुखको भूमिका खेलेपछि भने विश्वासको मतलगत्तै सभामुखको निर्वाचन हुनुपर्दछ । सभामुखको निर्वाचनपछि विश्वासको मत लिएको सरकार स्थायी हुन्छ भन्ने ग्यारेण्टी छैन ।’ संवैधानिक नैतिकता मान्ने हो भने सभामुखको निर्वाचन छ रिक्त भएको १५ दिनमै गरिनुपर्ने डा. ज्ञवालीको तर्क छ ।

राजनीतिक दलसँग छलफल गरेर मात्रै सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउँछौँ : प्रवक्ता अमात्य
प्रदेशसभा सचिवालयका उपसचिव तथा प्रवक्ता गौतमराज अमात्यले पुनः निर्वाचन गर्ने विषयमा नियमावली मौन रहेकाले आफूहरू छलफलमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामी अन्योलमा छौँ । सभामुख पद रिक्त रहेको अवस्थामा सभाको अध्यक्षता उपसभामुखले गर्नुहुनेछ । उपसभामुखले पनि राजीनामा दिएको अवस्थामा ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्नुहुने छ । पुनः निर्वाचन गर्ने विषयमा भने हामी सभामा रहेका दलहरूसँग छलफल गर्नेछौँ ।’

सभामुखको निर्वाचन राजनीतिक सहमतिको आधारमा हुने प्रवक्ता अमात्यको तर्क छ । उहाँले संविधान र नियमावलीले यति दिनभित्रै सभामुखको निर्वाचन गर्नुपर्छ भन्ने विषय नबोलेकाले यो विषयमा राजनीतिक सहमति खोजिने उहाँले तर्क गर्नुभएको हो ।

उद्धव थापालाई मुख्यमन्त्री बनाउन गौतमको राजीनामा
नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की सरकार गठनमा सभामुखको हस्ताक्षर असंवैधानिक भएको भन्दै मुख्यमन्त्री नियुक्ति बदरको माग दाबीसहित रिट निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको थियो । सर्वोच्चको साउन ११ गतेको फैसलाले थापाको नियुक्त बदर भएको थियो । यसपछि सभामुख रहेका गौतमले साउन १६ गते राजीनामा दिनुभएको थियो । गौतमले सभामुखबाट राजीनामा दिएपछि थापा पुनः सरकार गठन गर्न बहुमत दाबी गर्दै प्रदेश प्रमुखसमक्ष पुग्नु भएको थियो । सोही दिन उहाँलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्तसमेत गर्नुभएको थियो । मुख्यमन्त्री थापाले साउन १७ गते गौतमसहित तीन जनालाई मन्त्री नियुक्त गर्नुभएको छ ।

माओवादीबाट निर्वाचित गौतमले आफूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन दिएपछि राजीनामा दिएको बताउँदै आउनुभएको छ । उहाँ सभामुखबाट राजीनामा दिएको भोलिपल्ट कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बन्नुले पनि सत्ता समीकरणमा भएको भागबण्डालाई पुष्टि गरेको छ ।

मुख्यमन्त्री थापाले साउन १६ गतेका मितिले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । कोशीमा विश्वासको मत लिन ४७ सिट आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेशसभामा अहिले सत्ता गठबन्धनसँग ४७ सिट छ । एमाले र राप्रपासँग उपसभामुखसहित ४६ सिट छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?