अहोरात्र : दार्शनिक उपन्यास

हिमालय टाइम्स
Read Time = 19 mins

✍️ प्रा.डा. खेम दाहाल

‘अहोरात्र’ (२०७९) उपन्यास खेमनाथ दाहाल (लाब्री, तेह्रथुम, २००९) को नवीन आख्यान सिर्जना प्रकाशनमा आएको छ । मूलतः दाहाल कवि हुन् । ‘योद्धा’ (खण्डकाव्य), ‘श्वेतपत्र’ (महाकाव्य) जस्ता कृति उनका कालजयी कृति हुन् । ‘श्वेतपत्र’ सँग बाँहाँ मिलाउने गरी आख्यानात्मक कृति ‘अहोरात्र’ आउनु उमेर प्रौढ हुँदै जाँदा सिर्जना भएका कृतिहरू अझैँ गहिरो धरातल र गहिरा विषयमा प्रस्तुत हुँदै जाने लक्षणले कवि दाहालका कृतिले कालान्तरसम्म इतिहासमा अमरता धान्ने कुरामा विश्वास गरिन्छ ।

‘अहोरात्र’ एउटा गतिलो उपन्यास हो, विसं २०७० पछिका उपन्यासहरू सबैजसो विश्वव्यापीकरणको युगसँग नाता राख्छन् । अहिले विश्व नै एक परिवारझैँ देखिन थालेको छ; संसारलाई यातायात र इन्टर-नेटले जोडेका कारणले कुनै खास स्थानको विषय मात्र एउटा कृतिमा सम्प्रेषण हुन छोडेको युगमा विविध विषय र विविध स्थानहरूले कार्यपीठिका दिने युग देखिँदै छ । यस युगमा इपिली तेनको प्रत्यक्षवादी-विधेयवादी (Positivism) को आफ्ना सूत्रहरू प्रयोगमा आउन छोडेको अवस्था छ, र ‘प्रजाति’, मुहूर्त र पर्यावरणका बुँदा आकर्षित हुन छोडेका छन् ।

यी बुँदा परिपाटिबद्ध लेखनको युग विसं १९९१ देखि २०२० सम्मको युगमा बढी आकर्षित हुन्थे । विसं २०२१ देखि २०४० को उच्च बौद्धिक साधनाको युगमा कम आकर्षित हुन थाले, विसं २०४१ पछिका विसंं २०६१ को प्रशासनको आलोचनार्थ सिर्जना भएका आख्यानमा सामान्य रूपमा आकर्षित बुँदा विसं २०६२ पछिको युगमा अझैँ कम आकर्षित हुने युग हो ।

अमेरिकी समाज, वर्तमान युग, अझै धर्मका विविध भाव र तिनको उपयोग, संस्कारमाथि लगाइएका दोषहरू, हिन्दु, मुस्लिम र क्रास्टेली धर्मका धारभित्र पसेर कवि–आख्यानकार खेमनाथ दाहालले ‘अहोरात्र’ नामक आख्यानात्मक कृति ल्याएर स्थापित स्रष्टा कविका साथै स्थापित आख्यानकार बन्ने गतिलो प्रमाण प्रस्तुत गरेको पाइएको छ ।

यस पछिल्लो चरणमा होमनाथ सुवेदी, सरूभक्त श्रेष्ठ, होमराज आचार्य, गोविन्दराज भट्टराई, भुवनहरि सिग्देल, रोशन थापा ‘नीरव’, नीलम कार्की निहारिका, सञ्जीव उप्रेती, नारायण वाग्ले, अमर न्यौपाने, राजन कुमारुङ, लक्ष्मण गाम्नागे, सरला रेग्मीजस्ता सक्रिय आख्यानकारले गतिलो योगदान गरेका छन् । यसमा पनि होमराज आचार्य, सरूभक्त, सञ्जीव उप्रेती, सोम सानूजस्ता आख्यानकारहरू सोझैँ अमेरिकी भूमितिर फर्किएर त्यहाँको समाज र पर्यावरण चित्रणमा केन्द्रित भएका छन् ।
यस उपधारमा अमेरिकी समाज, वर्तमान युग, अझैँ धर्मका विविध भाव र तिनको उपयोग, संस्कारमाथि लगाइएका दोषहरू, हिन्दु, मुस्लिम र क्रास्टेली धर्मका धारभित्र पसेर कवि-आख्यानकार खेमनाथ दाहालले ‘अहोरात्र’ नामक आख्यानात्मक कृति ल्याएर स्थापित स्रष्टा कविका साथै स्थापित आख्यानकार बन्ने गतिलो प्रमाण प्रस्तुत गरेको पाइएको छ ।

विदेशतिर नेपाली जनशक्ति लाग्नुपर्ने कारणहरू गृहयुद्ध, गरिबी, बेरोजगारी, राजनीतिक नेताको गैरजिम्मेवारी चरित्र मुख्य कारक हुन् । यी कारणले नेपाली युवाशक्ति अमेरिका पुगेको प्रमाण ‘अहोरात्र’ उपन्यासले दिन्छ । यो कृति ई-प्रेस, प्रालि शान्तिनगर, बानेश्वरबाट प्रकाशित छ; प्रकाशक उषा दाहाल हुनुहुन्छ । यसमा परिमिलन, प्रत्युक्ति, स्वागत र बिदाइजस्ता निकै उपशीर्षक छन्; पृष्ठ संख्या ३७० भनेको सानो होइन ।

‘अहोरात्र’ मा अंकल (म)पात्र समझदार, प्रौढपात्र छन् जसले आफूसँग काम गर्ने युवकहरूलाई सम्झाई, बुझाई काममा फुर्सद भएका समयमा धर्म र संस्कारको व्याख्या गरेको पाइन्छ । अंकल पात्रलाई नेपाली पात्रका रूपमा चिनाइएको छ भने उनको निकटतम सहकर्मी पाकिस्तानमा जन्मिएको फराज नामक युवकले मुस्लिम धर्मलाई विशेष प्राथमिकता दिने, सरिकजस्ता धर्मचेत कम भएका पात्रलाई घोच्ने गरेर दुःख दिँदा संयोजकको भूमिकामा आबद्ध पात्र अंकलले अभिभावकीय भूमिका निर्वाह गरेको अवस्था छ ।

फराजले ‘कुरान’ का आधारमा जति प्रश्न गरे पनि अंकल पात्रले श्रीमद्भागवत, महाभारत, गीता, भविष्य पुराणबाट समन्वयकारी अर्थ लगाएर त्यस अल्पज्ञानी पात्रलाई आपूm अनुकूल बनाएका छन् र हाम्रो धर्मजस्तो सम्पन्न, व्यापक अर्थ दिने तथा पुरानो स्रोत अरू धर्ममा नभएको विषय प्रमाणका आधारमा पुष्टि गर्न सकेका कारणले आख्यानमा संवादै संवादले धेरै अंश सम्प्रेषित भएका छन्, लुब्बक पेर्सीले भनेझैँ नाटकीय शैलीले कृतिलाई गहिरो धरातल दिन्छ भनेको सूत्र हु-बहु लागू भएको छ । कतै समाख्यान र कतै भने संवाद चलिरहन्छ तर संवाद धेरै हुनु ‘अहोरात्र’को विशेषता नै हो ।

अभिभावक अंकल पात्रलाई मालिक माइकलले पूर्ण विश्वास गर्छ तर स्टेसनाचार्य नेपाली भए पनि दुष्ट व्यवहारको नमुना खलपात्र बन्न सकेको दृश्य हेर्दा स्वजाति एवम् विरोधमा उत्रिएको पनि छ । गोमांस खाएका हिन्दुहरूको विषयको प्रश्न फराजले उठाएको छ, त्यसलाई कलियुगको एक विशेषता भनी गौरवपूर्ण हाम्रो धर्ममा सम्झौैतावादी नीति अवलम्बन गरिएको छ । यसमा धर्म भनेका श्रमविभाजनबाट जन्मिएका धार हुन्, वेदमा धर्म र जात थिएनन् मनु स्वायम्भुव र उनकी पत्नी शतरूपाले छोरी पाए, देवहुति नाम राखे, ती देवहुति र कर्दम ऋषिको बिहे भयो ।

उनका छोरीहरूः कला, अनसूया, श्रद्धा, हविर्भू, गति, क्रिया, ख्याति, अरुन्धती र शान्ति थिए; हामी सबै उनैका सन्तान हौँ, त्यसैले ठूलो र सानोको दम्य छोडेर बाँच्नुपर्छ भन्ने भावना सम्प्रेषित रहन्छ । हिन्दु धर्मको चलनमा मन्त्र पढ्दा मौनमौन मनमनमा पढिन्छ, मुसलमानको धर्ममा थर्काएर पढिन्छ; कालान्तरमा जति पनि धर्म जन्मिए हिन्दु धर्मबाट अनुप्राणित रहे भन्ने कति आख्यान-मिथक जोड्ने प्रयास भएको छ । मुसलमानको धर्ममा मक्काको इरानमा देउतालाई गाईको रगत चढाउने चलन छ, गंगाजल चढाउँदैनन् ।

‘अहोरात्र’ को बिचभाग हाम्रो दयनीय अवस्थामाथि गहिरोसँग पसेको छ । दुःखी पात्र सरिकजस्ता कति पात्रहरू भविष्य बनाउन अमेरिका जान्छन् तर आर्थिक कारणले पढाइ छुटेर श्रमिक बन्दछन् । उसकी आमाले अर्को विवाह गरेकी छे, बाबु मरेको छ, सरिक भनिने पात्र बबुरो, टुहुरो छ; यस्ता कति मानिस अवैध (ग्रिनकार्ड) नपाई ग्रिनकार्ड पाउनेको दपेटो–हेपाइँ खाएर बस्नेहरूको संख्या लाखभन्दा माथि भएको जनाइन्छ ।

माइकलजस्ता ग्यास स्टोर मालिक छन् जसको दिमाग तिखो छ, साथै मानिस चिन्दछ, इमानदारको कदर गर्छ, स्टेसनाचार्यको चरित्र थाहा पाएर पनि, खल पात्र चिनेर पनि विशेष कारणले हटाउन सक्दैन, उसको बाध्यता हो । अर्को कुरा प्रशस्त छोइने घटना धर्मको परिवर्तनसँग आबद्ध छ, यसमा ‘स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः’ को सम्मान गरिन्छ । तर स्थिति अमेरिकामा विपरीत छ, धर्म र भौतिक आतङ्कको लामो व्याख्या सरूभक्तको ‘प्रतिगन्ध’ मा पनि सम्प्रेषित छ ।
सेभेन इलेभेनजस्ता स्टोरमा काम गर्ने कर्मचारीलाई न बस्ने कुर्सी छ, न टुल नै छ । नेपालबाट डिभी परेर गएका, कक्षा १०+२ पास गरेर त्यहाँ पुगेका युवक युवतीको दुःखको चिरफार गरिएको छ । बाबुआमाले लाडप्यारमा पालेका यी कलिला युवाहरू घण्टौं घण्टा उभिएर काम गर्छन्, कति समय पढ्छन् र कति समय सुत्छन्, कतिले शुल्क तिर्न नसकी पढाइ छोडेर श्रममा जानु पर्ने बाध्यता यहाँ देखिँदा डिभी पर्ने र अमेरिका पढ्न जानेमाथि संवेदनशील भइन्छ ।

अमेरिकामा पत्नी-पतिको सम्बन्ध तीतो, रुखो र अपवित्र हुनसक्ने देखिन्छ । घुर्की-धम्की, छोड्छु भन्ने साससासको पलपलको त्यो साह्रै छिन्न खोजेको डोरी सधैं छिन्छ कि छिन्छ कि झैँ लाग्दै जान्छ । फराजकी आमा-सासू आमा छोरी र जुवाइँको नाता भत्काउने जोडमा छिन् । स्वतन्त्र महिलाबाट पुरुष पीडित छन् नागरिक बनेका पुरुषले नागरिक नबनेका महिलालाई सताउँछन् । वैधानिक बनेका जो कोहीले नबनेका पात्रहरूमाथि गर्ने शोषण ज्यादै टिठलाग्दो प्रकारबाट प्रसारित रहन्छ । यस सन्दर्भमा सञ्जीज उप्रेतीको ‘हंस’ मा सीमा भनिने पात्र पनि दुःखमा पारिएकी छे भने फराज भनिने पात्र ‘अहोरात्र’मा सासूले खेलेको भूमिकाबाट पत्नी पीडामा हुन्छ । उच्च शिक्षा प्राप्त भएमात्र उच्च नागरिक हुन सकिन्छ ।

नेपालबाट कक्षा-१० जोड दुई उत्तीर्ण सन्तानलाई त्यस देशमा पढ्न पठाउने साधारण मानिसले सोच्नुपर्ने वेला आएको छ । धेरै डलर शुल्क तिर्न नसक्ने अभिभावकका सन्तानमाथि पाठक- सहानुभूति हुने स्थिति छ । यस प्रकारले कति छात्रछात्रा पढाइ छोडेर श्रमिक भएका विषयमा समाख्याताले छलफल, संवाद चलाएर एउटा अनुसन्धान नै गर्न लागेको बुझिन्छ, किन र कसरी यी कलिला युवाले पढाइ छोडे भन्ने संवादमा आर्थिक कारण दुःखको कारण ठहरिएको छ । राणाजी पात्रझैँ १ लाख रकम छोराको शुल्क तिर्न सक्ने नेपाली कति होलान् र कति धन परदेश पुग्यो भन्ने अनुसन्धान एक पक्ष हो । ‘म’ पात्र परिधिमा छन्, परिधीय पात्र भएर अरूको कथा भन्दछन् ।

कति पात्रहरू नाम बदलेर नेपाली नामका ठाउँमा विदेशी नाम राखी छद्म नामले काम गर्ने रहेछन् । यसमा नेपालीको छोरो रायन पनि हो, ऊ लिभिङ टुगेदरमा छ, युवतीबाट ठगिन्छ । नेपालका जिल्ला तेह्रथुम, ताप्लेजुङ सम्झनामा छन्, काठमाडौं, भक्तपुर र लुम्बिनीसमेत सम्मानमा छन् ।

कति पात्रहरू नाम बदलेर नेपाली नामका ठाउँमा विदेशी नाम राखी छद्म नामले काम गर्ने रहेछन् । यसमा नेपालीको छोरो रायन पनि हो, ऊ लिभिङ टुगेदरमा छ, युवतीबाट ठगिन्छ । नेपालका जिल्ला तेह्रथुम, ताप्लेजुङ सम्झनामा छन्, काठमाडौं, भक्तपुर र लुम्बिनीसमेत सम्मानमा छन्, नेपाललाई हरेक कोणबाट स्मरणमा लिइएका उदाहरण ‘अहोरात्र’ मा छन् । होमनाथ सुवेदीको ‘यमपुरीको महल’, सोम सानूको ‘थोपै थोपा’, भारती गौतमको ‘अमेरिकामा आमा’, होमराज आचार्यको ‘सिरू’ र नीलम कार्कीको ‘अर्की आइमाई’भित्र नेपालको मोह गर्ने पात्र धेरै छन् डायस्पोरिक चेत हो । सरला गौतमले ‘कैली’ लाई ‘डुमेरो’मा अमेरिका पु¥याइन् र धन कमाएर सजिलै आइन् ।

अमेरिकामा कष्ट छ भन्ने देखाउँदै, मुसलमानी चलन ‘तलाक’ को अर्थ लगाउँदै, बेसोर र ज्याक्न हाइट सम्झानामा लिँदै परचक्रीले माया गर्दै, बा-आमाको आदर दिँदै, इमानदार पात्रको सम्मान गर्दै, फेरि जाँदा परचक्रीले डेरा मिलाउन आत्मीय व्यवहार गर्दै, छिमेकीसित सहयोग माग्दै र आफ्नै बिरादरीबाट हेपिँदै अमेरिका हेर्ने पात्र अंकलले फराजलाई धर्ममा कुनै दोष छैन, बुझाइमा दोष छ भन्ने भावना स्वीकार गराएपछि निकै कडा फराज निकै नरम भएको छ । ग्रिनकार्ड पाउन उकालो छ, निकै कठिन छ; यसै विषयमा नेपालीहरू परदेशीबाट ठगिन्छन् । फराज र अंकलको संवाद अहोरात्र चलेको हेर्ने इच्छाले शीर्षक ‘अहोरात्र’ राखिन्छ ।

धार्मिक ग्रन्थहरूमा एक दृष्टि लगाइन्छ । हिन्दु धर्मपछि बुद्ध धर्म र त्यसभन्दा धेरै पछि क्रिस्तान (जिजस क्राइस्ट)को उदय भएको प्रमाण ग्रन्थले दिन्छ । मायादेवीका बुद्ध र किस्तानका मारियम पुत्रको जन्म रुखकै फेदमा भई भगवान्का छोरा जिजस क्राइसटका जन्म सम्बन्धी कथामा हाम्रा धर्मले प्राचीनता अवलम्बन गरेको र अरू धर्मले तिनबाट घटना टिपेका मिथकहरू पढेर थकाइ लाग्छ । यशूले यहुदीलाई बाँच्ने प्रेरणा दिए, यहुदी र हिटलरको द्वन्द्व चर्कियो, प्रभु आउने भविष्यवाणी गर्ने चेला यहुन्ना थिए, फ्राउन र मोजेज द्वन्द्वमा उत्रिए भनिएको लामो इतिहास छ । मूलतः आख्यानलाई दर्शनले थिचेको, उपन्यास कम र धर्म-दर्शन-चिन्तन बढी भएको कृति ‘अहोरात्र’ हो ।

कथानक छिन्न खोजे पनि नछिनी अगाडि सर्छ, समाख्यान र संवादले कथानक बाँच्छ । पात्रहरू प्रमुख, सहायक र गौण, अनुकूल र प्रतिकूल, मञ्चीय र नेपथ्य छन् । दृष्टिबिन्दु तृतीय पुरुष र द्वितीय पुरुषका प्रयुक्त रहन्छन् । विचार- तत्त्व गहन छ; बौद्ध चिन्तन बुझ्न साधना नै चाहिन्छ । पदावली र भाषामा निकै पाडित्यको निर्वाह भएको छ भने बौद्धिक पाठकले छोड्दैनन्, डा.विष्णुराज आत्रेयको ‘कपिलधाम’को उपमार्ग ‘अहोरात्र’ मा समातिएको छ । पर्यावरणमा अमेरिकाको भूमिले स्थान दिएको छ भने पाकिस्तान र नेपाल अलिकति छोइन्छन् । युग विश्वव्यापीकरणको हो तापनि परिपाटीबद्ध लेखनको शैली-शिल्प विसं २०२० को अँगालिएको छ ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
खेम
खेम
2023-08-12 3:53 pm

धन्यवाद

रिलेटेड न्युज

छुटाउनुभयो कि ?