कांग्रेसको सेवा दल र सम्भाव्य प्रभाव

हिमालय टाइम्स
Read Time = 7 mins

नेपाली कांग्रेसले देशैभरिका सबै ७५३ वटै पालिकामा गाउँ सेवा दल गठन गर्ने निर्णय गरेको छ । सेवा दलको उद्देश्य जनताको सेवा गर्ने भन्ने अर्थमा त यो उचितै होला तर यसबाट पार्टीभित्रको आन्तरिक तथा बाहृय कलहसमेत निम्तिने सम्भावनालाई मध्यनजर गर्दा भने यो घातक पनि हुन सक्छ । राजनीति गर्नेहरू सबैले सकेसम्म आफ्नो पार्टीको सदस्य संख्या वृद्धि गर्ने प्रयास गर्छन् । त्यसैका आधारमा हाम्रो पार्टीमा यति सदस्य छन् भनेर उनीहरू दाबी गरिरहेका हुन्छन् । सबै क्षेत्रका मानिस आफ्नै पार्टीमा समेट्न महिला, युवक, विद्यार्थी, प्राध्यापक, साहित्यकार, मजदुर, किसान, शिक्षक, पूर्वप्रहरी, पूर्वसैनिक लगायतलाई सदस्य बनाएर तिनीहरूको पनि संघसंगठन बनाइएको हुन्छ । यो सबै पार्टीमा छ ।

कसको कति संगठन विस्तार भएको छ, त्यसका आधारमा वर्गीय वा भ्रातृ संगठन तथा केहीलाई शुभचिन्तक संगठन भनेर पनि समेट्ने प्रयास गरिएको हुन्छ । नाम भने तिनले फरक–फरक राखेका हुन्छन् । तिनले आफ्नो पार्टीको समर्थन जनाउने गरी भ्रातृ संगठनहरूको नाममा कुनैले संघ र कुनैले संगठन भनेर जोड्ने गर्छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र यी तीनवटा पार्टीको सामान्यतया सबैतिर भ्रातृ संगठन विस्तार भएका हुनसक्छन् । यसपछिका एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीहरूको संगठन पनि देशभरि विस्तार भएको हुनसक्छ तर सदस्य संख्या भने कांग्रेस, एमाले र माओवादीका जति छैनन् ।

नयाँ पार्टी भएर पनि छिट्टै चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि संगठन विस्तार गर्ने क्रममा छ तर उक्त पार्टी देशव्यापी बन्न सकेको छैन र भ्रातृ संगठनको विस्तार व्यापक रूपमा हुनसकेको छैन । नेपाली कांग्रेस यी सबै पार्टीहरूमध्येको अग्रणी र पुरानो पार्टी हो । यसको संगठन विस्तार देशव्यापी छ । भ्रातृ र शुभचिन्तक संघसंगठन धेरै छन् । यस अर्थमा नेपाली कांग्रेस सबैभन्दा सबल पार्टी पनि हो । इतिहासदेखिको यसको साखका कारण निर्वाचनहरूमा सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित बन्दै आएको छ । गतवर्ष सम्पन्न भएको आमनिर्वाचनबाट नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो पार्टीका रूपमा स्थापित हुन सकेको थियो ।

आगामी २०८४ सालको निर्वाचनलाई दृष्टिगत गरी नेपाली कांग्रेसले आफ्नो संगठन विस्तार गर्ने र यसलाई सबल पार्ने अभियान चलाइएको छ । एक थरी सदस्यहरूले युवा नेतृत्व र पार्टी सुदृढकीरण अभियान नै चलाइका छन् । हालै केन्द्रीय समितिको बैठक समाप्त भएको छ । पार्टीमा शुद्धीकरणको कुरा पनि उठिरहेको छ । क्रियाशील सदस्यता वितरण अब सधैं खुला रहने भनिएको छ । यी जे जति काम गर्ने भनिएको छ ती सबै पार्टीलाई सुदृढ बनाउनकै लागि हो । अहिले देशभरिकै ७५३ वटै पालिकाहरूमा पार्टीको सेवा दल स्थापना गर्ने भनेको छ । यसो गर्दा स्थानीय तहका जनताहरूका लागि भने सेवा लिने बेला केही सहज होला तर त्यसका दूरगामी प्रभाव पनि छन् ।

उद्देश्य गाउँगाउँसम्मका जनतालाई सेवा दिने भन्ने उद्देश्य भएकाले यसलाई सकारात्मक मान्न सकिएला तर एउटा पार्टीले गर्न लागेको कुनै कामको प्रतिवाद वा त्यसलाई निस्तेज पार्ने र त्यसलाई आफ्नाविरुद्धको अभियानका रूपमा अरू पार्टीहरूले लिने प्रचलन हाम्रोमा पुरानै हो । नयाँ सोचहरू सबैभन्दा पहिले नेपाली कांग्रेसले बनाउने र त्यसको प्रतिवाद वा प्रतिकारमा स्थापना भएका अन्य पार्टीका भ्रातृ संगठनबाट आफैं प्रताडित बन्दै नेपाली कांग्रेस आइरहेको इतिहास छ । नेपाली कांग्रेसले प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल शिक्षक संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल किसानसंघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल मजदुर संघ, नेपाल चिकित्सक संघ, नेपाली लेखक संघ जस्ता भ्रातृ संगठन तथा शुभचिन्तक संघसंस्था रहेका बेला कम्युनिष्ट पार्टीहरूले त यस्ता अनेकौं संगठन विस्तार गरिसकेका छन् ।

ती सबैको प्रहार नेपाली कांग्रेसले भोग्नु परिरहेको छ, अवस्थामा अब स्थापना हुने र ७५३ वटै पालिकासम्मै विस्तार हुन लागेको सेवा दलको सोच सकारात्मक भएर पनि सालिन किसिमले सेवामा लागि पर्ने कांग्रेस कार्यकर्ताका लागि भोलि स्थापना हुने अन्य दलका उद्दण्डता पुनः नेपाली कांग्रेसका सेवा दलका कार्यकर्ताले व्यहोनुपर्ने अवस्था आउन सक्छ । त्यस्तो बेलामा नेपाली कांग्रेस पार्टीले आफ्ना कार्यकर्तालाई कुखुराको पोथीले पँखेटा फिँजाएर आफ्ना बच्चालाई छोप्दै चिलबाट जोगाएको जस्तो कार्यकर्ताको संरक्षण गर्न भने सक्नुपर्ने हुन्छ । सधैं मास पार्टी भनेर संगठनमा उदासीन रहने कांग्रेसका लागि यो सेवा दल स्थापना र विस्तार एक चुनौतीपूर्ण कार्य हो भनेर बुझ्नु उचित हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?