एकीकृत कृषि उत्पादनको साथै प्राकृतिक सन्तुलन

Read Time = 15 mins

वर्तमान युगमा फोहोर व्यवस्थापन ठूलो समस्याको रूपमा देखा पर्दैछ । फोहोरले वातावरणीय वा प्रकृतिक सन्तुलन नै बदलिँदै गएको छ । यहाँ बिगे्रकोभन्दा बदलिएको शब्द प्रयोग हुनुको प्रयोजन छ । यो वातावरणीय असन्तुलन यस बेलाको पृथ्वीका बासिन्दा अर्थात् स्थावर, जंगम सबै जीवहरूको निमित्त बिग्रेको हुन सक्छ तर यसलाई प्राकृतिक चक्रको परिप्रेक्षमा हेर्ने हो भने युगान्तरणको चरण अर्थात् परिवर्तनको चरण भन्न सकिन्छ । पृथ्वीको इतिहासमा डाइनासोरको युग परिर्वन भएर अनेकौं युग हुँदै वर्तमान युग आएको हो । हरेक यस्ता परिवर्तका चरणहरूले त्यस बेलाका जीवहरू समाप्त हुन्छन् अनि अर्को किसिमका जीवहरूको प्रार्दुभाव हुन्छ । प्रकृतिलाई यस्ता परिवर्तन गर्न सघाउने आफ्नो विनाशमा उद्यत् त्यस बेलाका उन्नत जीवहरू नै हुन् ।

तसर्थ वातावरणीय असन्तुलन मानव लगायत वर्तमानका जीवहरूका निमित्त बिग्रेको हो तर प्रकृति स्वयंको निमित्त भने अर्को चरणतर्फको यात्रा हो । फोहोर कुनै अप्राकृतिक वा अनुपयोगी वस्तु होइन । फोहोरको सामान्य परिभाषा बेकार वा अनुपयोगी वस्तु भन्ने होइन । कतैको उपयोगी वस्तु उपयोगविहीन परिस्थितिमा जम्मा हुँदा त्यो फोहोर हुन्छ । अझ भन्ने हो भने कसैको निमित्त उपयोगी भएको वस्तु बलात अनुपयोगी रूपमा जम्मा गर्दा फोहोर हुन्छ । यो फोहोर उत्पादकले वास्तविक उपभोक्ताको हक खोसेर त्यसको अस्तित्वको संघर्ष अझ कठिन बनाउँछ । साथै त्यो आफूलाई फोहोर पारेर आफ्नै अस्तित्वलाई पनि खतरामा पारेको हुन्छ ।

पाँचको परिधि अर्थात् पञ्चतत्वको अवधारणामा यस्ता वस्तुहरू प्रकृतिलाई नै फिर्ता गर्नु पर्दछ । अनि धेरैजसो अनुपयोगी वस्तुहरू प्रकृतिलाई फिर्ता गर्ने माध्यम एकीकृत कृषि हो । अहिले फोहोरको थुप्रामा देखिने अधिकांश आयातन ओगटेका वस्तुहरू एकीकृत कृषि प्रणालीका कुनै न कुनै चरणमा उपभोग हुन सक्छन् तर आधुनिक तथा व्यावसायिक भनिने कृषि प्रणालीले यस्ता उपभोग रोक्छ । एकीकृत कृषिले कृषि उत्पादन बढाउने मात्र नभएर वातावरणीय दुष्परिणाम पनि न्यूनीकरण गर्छ ।

अहिले फोहोरको थुप्रामा देखिने अधिकांश आयातन ओगटेका वस्तुहरू एकीकृत कृषि प्रणालीका कुनै न कुनै चरणमा उपभोग हुन सक्छन् तर आधुनिक तथा व्यावसायिक भनिने कृषि प्रणालीले यस्ता उपभोग रोक्छ । एकीकृत कृषिले कृषि उत्पादन बढाउनेमात्र नभएर वातावरणीय दुष्परिणाम पनि न्यूनीकरण गर्छ ।

अझ भन्ने हो भने वातावरण सुधार्ने काम पनि एकीकृत कृषि प्रणलीबाटै सम्भव छ । तर, व्यावसायिक कृषिको चास्नीमा डुबाइएको नारा र जमिनबाट होइन किताबबाट कृषिमा जान्ने भएकाहरूले दिएको अवधारणाले तात्कलिक रूपमा उत्पादन बढेको देखिन्छ । साथसाथै यसले वातावरणमा प्रसस्त हानी पुर्‍याउँछ । उदाहरणको निमित्त कृषि उत्पादनमा प्रसस्त योगदान गरेका भारतका कतिपय स्थानमामा पराल जलाउनाले सास फेर्न अयोग्य हुँदै गएको हावालाई लिन सकिन्छ । अब भारत सरकारले पराल बाल्ने समस्याको निराकरण गर्न अभियान नै चलाउनु परेको छ । विस्तारै यो अवस्था नेपालको तराईतिर देखिन थालेको छ । धान कटाइको बेला पराल जलाएका दृश्यहरू सामान्य हुन थालेका छन् ।

यो पराल भने एकीकृत कृषिमा संयुक्त भएको पशुपालनमा पशु आहाराको रूपमा प्रयोग हुने थियो । त्यसले उत्पादन बढाउने थियो । एकीकृत कृषिको पशुपक्षी पालनले फोहोर उत्पादन गर्दैन तर व्यावसायिक भनाइने कृषि प्रणालीले प्रसस्त फोहोर उत्पादन गर्दछ । अब त कुखुरा पालनजस्तो कृषि व्यवसाय पनि अनुमति लिँदा फोहोर व्यवस्थापनको योजना खोजिन थालेको छ । केही वर्ष पहिले मोरङको बेतौनामा भएको एक ठूलो व्यावसायिक कुखुरा फारम स्थानीयले बन्द गराए । कारण थियो त्यस फारमबाट निस्केको फोहोरले बढेको झिँगा र त्यसले स्थानीयलाई दिएको कष्ट । वास्तवमा यो विकराल समस्या नै थियो जो कुखुरा पालनमा केवल व्यासायिकता मात्र हेर्नाले भएकोे थियो ।

तर, त्यही कुखुरा फारमबाट निस्कने फोहोरले खेतीमा मलको आवश्यकता पनि परिपूर्ति हुन सक्छ भन्ने सोच भएन वा कथित व्यावसायिकताले दिएन । विडम्बनै भन्नुपर्छ नेपालले हरेक वर्ष मलको समस्या भोग्दै आएको छ । रासायनिक मल, किटनाशक, झारनाशक अदिलाई कृषि विकास भनेर मुलुकले लाखौं टन यस्ता वस्तु आयात गर्ने गरेको छ । साथसाथै अग्र्यानिक खेती भनेर यस्ता वस्तुको प्रयोगलाई नियन्त्रण गर्ने प्रयत्न पनि गरिँदैछ । त्यसमाथि कृषिका अनेकौं क्षेत्रबाट उत्पादित कथित फोहोर विसर्जनको समस्या त छ“दैछ । घट्नुको साटो यो समस्या झन्झन् विकराल हुँदै जाँदैछ । यो सबै कृषि क्षेत्रमा गरिएको बहुुलठ्ठी अभ्यासको परिणाम हो ।

यी अभ्यासमा कृषिका आधारभूत कुरालाई अस्वीकार गरिएको छ । अनि यसलाई निराकरण गर्ने नाममा व्यावसायिक खेती, कन्ट्य्राक्ट फार्मिङ हुँदाहुँदा वैदेशिक लगानीसम्म परीक्षण हुँदैछ । कृषिको आपूर्ति शृंखलाका कडीहरूलाई सही रूपमा राख्ने नभएर तोड्ने काम हुँदैछ । कृषि भन्नाले केवल अन्न उत्पादन, तेलहनर दलहन उत्पादन, पशुपालन, पक्षी पालन एक्लाएक्लै होइन । यो एक एकीकृत प्रणाली हो जसमा एकले अर्कालाई टेवा दिएको हुन्छ । यो क्रममा मानव समाजलाई आवश्यक पर्ने हरेक वस्तु पैदा गरेको हुन्छ ।

यहा“ छिद्रान्वेषी प्रश्न उठ्न सक्छ कृषिले फलाम दिन्छ त ? हुन पनि हो फलाम मानव सभ्यताको एक आधारभूत तत्व हो । यदि फलाम नभएको भए मानव ढुंगे युगमै हुने थियो तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने फलाम उत्पादन हुँदैन । यस्तै अन्य वस्तु छन् जो उत्पादन हुँदैनन् केवल रूप परिवर्तन भएर मानव समाजको निमित्त उपयोगी बन्छन् । यस्ता वस्तुहरूको कच्चा पदार्थ कि त प्रकृतिमा उपलब्ध हुन्छन् कि कृषिका विभिन्न उत्पादबाट प्राप्त हुन्छन् । कृषि प्रणालीले भने उत्पादन नै गर्दछ । आफ्नो एक उत्पादनबाट कच्चा पदार्थ लिएर अर्को उत्पादन पनि गर्दछ । यसैले भन्न सकिन्छ सम्पूर्ण कृषि प्रणालीबाट फोहोर पैदा हुँदैन । यदि कुनै फोहोर देखिन्छ भने त्यो अर्को कृषि उत्पादकोे निमित्त आवश्यक कच्चा पदार्थ हो जसलाई त्यो अर्को उत्पादन प्रक्रियासम्म पुग्न दिइएन ।

एकीकृत कृषि प्रणाली भन्नाले त्यो प्रणली हो जसले सनाताशास्त्रमा भनिएका पञ्चमहाभूतको उपयोगले उत्पादन गर्दछ । अर्थात् आकाशबाट छानो तथा मार्ग लिन्छ, पृथ्वीबाट कर्मथलो लिन्छ, सूर्यबाट ऊर्जा लिन्छ, वायुबाट प्राणतत्व लिन्छ, पानी जीवन सञ्चार लिन्छ । अर्थात् यो पाँचको परिधिबाट एक सम्पूर्ण विश्व बनाउँछ । वनस्पति प्राथमिक उत्पादन हुन्, यो प्राथमिक उत्पादनको प्रयोगले अन्य उत्पादन हुन्छन् । यो परिधि आफैँमा सम्पूर्ण हुन्छ । यसमा थपिएका अन्य बनावटी तत्वहरूले तत्कालीन उत्पादन बढेको देखिए पनि त्यसले खराब असर छोड्ने गर्छ । त्यसैले त अहिले विश्व अग्र्यानिक अर्थात् प्राकृतिक उत्पादको चाहना गर्दैछ र यो उत्पादन टुक्राटुक्रामा अलग अलग उत्पादन गर्ने प्रणालीमा सम्भव हुँदैन । गरिहाले पनि त्यो अत्यन्त महँगो पर्न जान्छ ।

प्रकृतिमा बेकार केही हुँदैन । हरेक वस्तु उपभोग्य हुन्छन्, उपभोक्ता फरक हुन्छन् । एउटाको फोहोरको डंगुर अर्को प्राणीको निवास हुन्छ । एउटाको उत्सर्जन अर्काको भोजन बन्छ । अरू उपभोक्ताको उपभोग्य जम्मा पार्दा फोहोर पैदा हुन्छ । त्यो अरू कुनै अंगलाई आवश्यक हुन सक्छ ।

रूख बिरुवाले घाँस, दाउरा अनि मल पैदा गर्छन् । रुख बिरुवा विभिन्न चराचुरुंगीहरू, किट पतंगहरूको आश्रय हुन्छन् । यस्ता जीवजन्तु, किटहरूको वातावरण सन्तुलनमा भूमिका हुन्छ । बाली उत्पादनमा पनि प्रत्यक्ष भूमिका हुन्छ । विभिन्न प्रकारका बाली जस्तो अन्न, दलहन, तेलहन, तरकारी, रेशा आदि मानवको दाना, छाना, नानाको आवश्यकता पूरा गर्छन् । यसबाट निक्लने मानव अनुपयोगी वस्तुहरू पशुपालन, पक्षीपालन, मत्स्यपालन आदिमा प्रयोग हुन्छ । त्यसबाट बचेका वस्तुबाट मल बन्छ । यसले उत्पादन खर्च पनि न्यून गर्छ अनि अग्र्यानिक हुने कुरा त छ“दैछ । पशुपक्षी पालनका मानव अनुपयोगी उत्पाद मलको रूपमा वनस्पतिले प्रयोग गर्दछन् । यसरी मल किन्दा हुने खर्चको कटौती हुन्छ ।

यसरी एक अर्काको व्यथ्र्य आपसी उपभोगले उत्पादन लागत अत्यन्त न्यून हुन जान्छ अनि कृषि कर्म बोझ होइन नाफा दिने हुन्छ । यो अवस्था केवल एक उत्पादलाई मात्र जोड दिएर सम्भव छैन । पाँचको परिधिमा रहन एकीकृत अर्थात प्राकृतिक कृषिले केही सिद्धान्त पालन गरेको हुन्छ । ती हुन् प्रकृतिमा बेकार केही हुँदैन । हरेक वस्तु उपभोग्य हुन्छन्, उपभोक्ता फरक हुन्छन् । एउटाको फोहोरको डंगुर अर्को प्राणीको निवास हुन्छ । एउटाको उत्सर्जन अर्काको भोजन बन्छ । अरू उपभोक्ताको उपभोग्य जम्मा पार्दा फोहोर पैदा हुन्छ । त्यो अरू कुनै अंगलाई आवश्यक हुन सक्छ ।

त्यसैले प्रकृतिसँग आवश्यकता अनुसारमात्र लिनुपर्दछ । आफूलाई आवश्यक नभएको चिजबिज प्रकृतिलाई फिर्ता गरेमा त्यो फिर्ता गरेको वस्तु अर्को रूपमा आफूलाई उपयोगी भएर फिर्ता आउने गर्छ । एकीकृत कृषि वा परम्परागत कृषिको यो बहुआयामिक महत्वलाई अस्वीकार गरेर गरिएका काम ठीक होइनन् । एक्लाएक्लै हेर्दा यस्ता हरेक काम विकासका लाग्छन् तर एक अर्र्कामा सन्दर्भ जोड्दा अवस्था हास्यास्पद र दुःखद् देखिन्छ ।

यसको अलग्गै अर्को विवेचन हुन सक्छ । तैपनि सामान्य उदाहरण पराल जलाउने कामलाई लिन सकिन्छ । त्यहाँ पराल किन जलाइन्छ भने त्यो स्थानमा कृषिमा पशुपालन हुने गरेको छैन वा भए पनि न्यून छ । त्यसैले पशुआहारमा आवश्यक पराल जलाइन्छ । यसले जमिनलाई पनि र आकाशलाई पनि हानी गर्दछ । पशुको पेटबाट निस्केको गोबरले जमिन मलिलो बनाउँछ । एकीकृत कृषि उत्पादनको साथै प्राकृतिक सन्तुलन पनि कायम राख्ने एक सबल औजार हो । यसको अभ्यासले मानव उपयोगी वातावरणीय सन्तुलन कायम गर्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?