कोदो उत्पादनमा ११.५० प्रतिशतले कमी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा कमी आएको छ । प्रत्येक वर्ष कोदो उत्पादनको क्षेत्रफल घटेता पनि उत्पादनमा भने त्यति गिरावट आएको थिएन । तर यस वर्ष गत वर्षको तुलनामा ११.५० प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

बीउ छर्ने बेला पानी नपरी खडेरी पर्दा बीउ कम उम्रनुका साथै कोदोमा (छिर्केमिर्के) रोग समेत देखिएकोले कोदो उत्पादनमा कमी आएको भन्दै उहाँले जङ्गली जनावर, जङ्गली बाख्रा, खरायोलगायत जनावरले कृषकलाई निकै समस्या दिएको बताउनुभयो । पछिल्लो समय गाउँमा बसाइँसराइ र युवा जनशक्ति पलायन र कोदो खेती अरु खेतीभन्दा झन्झटिलो भएको हुँदा कृषकहरुको आकर्षण समेत घटेको उहाँले उल्लेख गर्नुभयो ।

पाँच वर्षको कोदो उत्पादनको तथ्याङ्कसँग विश्लेषण गर्दा क्षेत्रफल घटेता पनि उत्पादनमा भने स्थिर देखिएको छ । यस जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा दुई हजार ८९६ हेक्टर क्षेत्रफलमा तीन हजार २६१ मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमा १.१३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार ९३६ हेक्टर क्षेत्रफलमा तीन हजार ३६१ मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमा १.१४ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार ९०२ हेक्टर क्षेत्रफलमा तीन हजार २७८ मेट्रिक टन उत्पादन भएको थियो । जसमा १.१३ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा दुई हजार ९०५ हेक्टर क्षेत्रफलमा तीन हजार ७७६.५ मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमा १.३० मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको थियो । अहिले दई हजार ८८१ हेक्टर क्षेत्रफलमा तीन हजार ३४१.९६ मेट्रिक टन कोदो उत्पादन भएको छ । जसमा १.१६ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

यस जिल्लामा विशेषगरी ओख्ले १, डल्ले १ र स्थानीय जातको कोदो लगाउने गरिन्छ । जिल्लाको इस्मा, मदाने, मालिका, धुर्कोट, कालिगण्डकी र चन्द्रकोट गाउँपालिकालाई कोदोको मुख्य पकेट क्षेत्र मानिएको छ । गुल्मीमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रर्बद्धन पछि महत्व पनि बढ्दै गएको भन्दै कोदो खेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको उहाँले बताउनुभयो ।

गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय शहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा शहरका रेष्टुरा र होटलमा कोदोको परिकार पाक्ने गरेको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरूप नेपालले २०७९ पौष १७ गते सो कार्यक्रमको शुभारम्भ गरेको थियो । कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली भएको प्रमुख भण्डारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?