माओवादी केन्द्र एकढिक्का भएको छ, अब बिधि, पद्धति भन्दा बाहिर जाँदैन : अध्यक्ष प्रचण्ड

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पार्टी एकढिक्का र भावनात्मक रुपले एकजुट भएको बताउनुभएको छ ।

आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकको समापन मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले यस केन्द्रीय कमिटी बैठकपछि पार्टी एक ढिक्का भएको बताउनुभएको हो । उहाँले नेताहरु भावनात्मक रुपले पनि एकजुट भएको भन्दै माओवादी केन्द्र पुनः जाग्ने बताउनुभयो । उहाँले पार्टीले देशको नेतृत्व लिनेगरी अगाडी बढ्ने बताउनुभयो । उहाँले पार्टी बिधि, पद्धतीभन्दा बाहिर नजाने बताउनुभयो । उहाँले सिंगो पार्टी मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर अगाडी बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो बैठकबाट निक्लिदै गर्दा हामीले भन्न सक्छौँ, हामी एक ढिक्का भएका छौँ । हामी अब कुनैपनि खालको विधि, पद्धतीभन्दा बाहिर जाने छैनौँ । पार्टीको नेतृत्व अन्तर्गत मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर, जनतासँग सम्बन्ध कायम गरेर सरकारले थालेका सकारात्मक कामहरु जनतासँग स्थापित गरेर र यो परिवर्तनको स्वामित्व लिनेगरी, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानसभा, लगायतका परिवर्तनका स्वामित्व लिनेगरी जनतामा जान हामी सर्वसम्मत मात्रै भएका छैनौँ, विचार र राजनीतिमा मात्रै एक मत भएका छैनौँ, मेरो के विश्वास छ र म घोषणा गर्न सक्छु, आम नेपाली जनतालाई म भन्न चाहान्छु हामी सबैका निम्ति यो खुशी र गर्वको कुरा हो । हामी भावनात्मक रुपले पनि एकजुट भएका छौँ र अब माओवादी केन्द्र फेरी जाग्नेछ । माओवादीले देशको नेतृत्व लिनेगरी फेरी अगाडी बढ्ने छ ।’

अध्यक्ष दाहालले पार्टीले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान ३ महिना सञ्चालन गर्ने जानकारी दिदैँ आफु पनि सो अभियान अन्तर्गत ७ प्रदेशको ७ वटा वडामा पुग्ने बताउनुभयो । उहाँले सो अभियानका क्रममा माओवादी केन्द्रका शुभचिन्तकको मात्रै नभई सबै नेपाली जनताको घर–घरमा नेता, कार्यकर्ताहरु पुग्ने बताउनुभयो । उहाँले गाउँ–गाउँका एउटा पनि घर नबिराई जनताको घरमा पुग्न र जनताको कुरा सुन्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘आज बैठकको समापनतिर आउँदै गर्दा हामीले गर्वका साथ भन्न सक्ने भएका छौँ कि हामी एउटा नयाँ अभियानसहित जनतामा जाने निष्कर्षमा पुगेका छौँ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान भनेर वडा केन्द्रीत, सबै पार्टीका नेताहरु जनतासँग जोडिने, र जनताका समस्याहरुलाई समाधान गर्न नयाँ पहल लिने । ६ हजार ७ सय भन्दा बढी वडाहरुमा केन्द्रीत भएर ३ महिने अभियान चलाउने सर्वसम्मत् निष्कर्षमा हामी पुगेका छौँ । म समेतको कार्य विभाजन भएको छ । म पनि सातवटा प्रदेशका ७ वटा वडामा गएर त्यहाँको जनताको भावना, समस्या बुझ्ने र सबै केन्द्रीय नेताहरु वडा केन्द्रीत भएर जनअभियान चलाउने निष्कर्षमा पुगेका छौँ । हामीले यो अभियान अन्र्तगत एउटा पनि जनताको घर नछोड्ने । खालि माओवादी केन्द्रका समर्थक, शुभचिन्तकको मात्रै होइन, कुनैपनि राजनीतिक आस्थासँग सम्बन्धित भएपनि सुशासन, सामाजिक न्याय र समृद्धिमा हामीले लिदै गरेको पहलको बारेमा, जनतालाई हामीले आउने दिनमा कसरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने, सामाजिक न्याय र समृद्धिलाई अगाडी बढाउने हाम्रा योजनाहरु राख्ने, जनताका गुनासा, आलोचनाहरु सुन्ने, सहिद, बेपत्ता, घाइते परिवारसँग भेट्ने । एउटा घर पनि नछोड्ने । नेपाल राज्यभित्र भएका प्रत्येक घर, परिवार सँग सम्बन्ध गर्नेगरी तिन महिने अभियान चलाएर हामी विधान सम्मेलनमा आइपुग्ने निष्कर्षमा पुगेका छौँ ।’

उहाँले तिनमहिने विशेष अभियानपछि पार्टीको विधान अधिवेशन गर्ने पनि जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?