खोटाङमा एक कार्यालयबाहेक कुनैमा छैन स्तनपान कक्ष

प्रतिकात्मक तस्बिर

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 9 mins

खोटाङ । सरकारी, गैरसरकारी वा निजी संघसंस्थाले आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने कुरा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख छ ।

तर, खोटाङको खोटेहाङ गाउँपालिका बाहेक सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा स्तनपान कक्ष छैन । बैशाख अन्तिमबाट पालिकाभित्र स्तनपान कक्ष सञ्चालनमा ल्याईएको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राईले बताए । स्तनपान कक्ष अति आवश्यक हो । हाम्रो दुईजना महिला कार्यपालिका सदस्यहरुको बच्चा भएकाले पनि आवश्यक ठहरिएरै स्तनपान कक्ष बनाएका हौ। अरुले पनि बनाउन आवश्यक छ । राईले भन्नुभयो ।

नयाँ बन्ने भवनमा स्तनपान कक्ष बनाउने योजना अघि सारिएको रावाबेशी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुशिला घिमिरेले जानकारी दिईन् । निर्माण सम्पन्न भएको प्रशासकीय भवनमा कार्यालय सरेपछि स्तनपान कक्ष पनि सञ्चालन गर्ने तयारी भईरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । स्तनपान कक्ष बनाउने योजना रहेको साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई बताउनुहुन्छ ।

स्तनपान कक्ष निर्माणलाई चालू आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको हलेसी तुवाचुङ नगरपालिका मेयर बिमला राईले बताउनुभयो । स्तनपान कक्ष बनाउन अगाडी नै कार्यपालिका बैठकबाट निर्णय गरेर बजेट छुट्याईएको भए पनि संरचना अभावले स्तनपान कक्ष बनाउन नसकिएको जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणादेबी राईले बताउनुभयो ।

गाउँपालिकाको नयाँ भवन बन्दैछ, भवन बनिसकेपछि स्तनपान कक्ष बनाउँछौ । त्यसका लागि कार्यपालिकाले धेरै अघि निर्णय गरिसकेको छ । तत्काल भने संरचना अभावले स्तनपान कक्ष निर्माण र कार्यान्वयन गर्न नसकिएको हो । अध्यक्ष राईले भन्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, केपिलासगढी गाउँपालिकामा स्तनपान कक्ष नै छैन । कार्यस्थलमा स्तनपान कक्ष नहुँदा महिला जनप्रतिनिधि, महिला कर्मचारी, महिला सेवाग्राहीलाई बच्चालाई दूध खुवाउन अफ्ठयारो र समस्या हुने गरेको स्थानीय तहमा कार्यरत एकजना महिला कर्मचारीले बताईन् । स्तनपान कक्षलाई बजेट प्रस्ताव गर्दा बजेट नै पास नगरेको उनको गुनासो छ । कानुनले नै स्तनपान कक्ष बनाउनु भन्छ तर, जनप्रतिनिध यसप्रति सचेत छैनन् । स्तनपान कक्ष व्यवहारिक रुपले पनि बनाउनै पर्ने हो तर,जनप्रतिनिधिहरु चासो राख्दैनन् । ति कर्मचारीले भने ।

जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, जिल्ला अस्पताल लगायत मानिसको भिड हुने कार्यालयहरुमा स्तनपान कक्ष नहुँदा महिला कर्मचारी, महिला सेवाग्राहीले शिशुलाई स्तनपान गराउन असहज छ । स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता नहुँदा बच्चा भएका महिला कर्मचारीहरु कम मात्रामा कार्यालय आउने गरेको पाईएको छ । महिला सेवाग्राहीहरु त त्यतिकै धुलोमैलोमा बसेर शिशुलाई स्तनपान गराउन बाध्य छन् ।

अब आउने प्रमुख जिल्ला अधिकारी समक्ष स्तनपान कक्ष स्थापना गर्नलाई कुरा राख्ने खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले बताउनुभयो । मानिसको अत्याधिक भिड हुने राष्ट्रिय वाणिज्य बैंकमा स्तनपान कक्ष नै छैन । स्तनपान कक्ष आवश्यक भए पनि नयाँ भवनमा कार्यालय सरेको र कोठा अभावले बनाउन नसकिएको बैंकका शाखा प्रवन्धक राम कुमार आचार्यले बताउनुभयो । आचार्यका अनुसार कोठा अभावले स्तनपान कक्ष बनाउन नसकिएको क्षेत्रिय कार्यालय विराटनगरमा रिपोर्टिङ गरिएको छ ।

बैंकमा स्तनपान कक्ष नहुँदा महिला सेवाग्राहीहरुले भित्ताको कुनातिर फर्केर असजिलो तरिकाले स्तनपान गराईरहेको देखिन्छ । कतिपय महिला सेवाग्राहीहरु बैंकको गेटबाहिर सिंढी र भुईमा बसेर स्तनपान गराईरहेका भेटिन्छन् । बैंकलाई महिलाको मानसम्मान गर्नमा ध्यानै छैन ।

सरकारको नीति अनुसार स्तनपान कक्ष बनाउनु अनिवार्य भएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देलले बताउनुभयो । तर, सरकारले पनि श्रोत, साधन उपलब्ध गराउनमा कन्जुस र ढिलाई गर्न नहुने सिग्देलको भनाई छ । जिल्ला अस्पताल नै निर्माण भईरहेकाले त्यहाँ पनि स्तनपान कक्ष बनाउन नसकिएको उहाँको भनाइ छ ।
सार्वजनिक तथा नीजि संस्थाले अनिवार्य रुपमा स्तनपान कक्ष बनाएर महिलाहरुको मान सम्मान गर्नुपर्ने र मातृत्वकै कारणले महिलालाई पछि पार्न नहुने राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव गीताकुमारी दाहाल बताउनुहुन्छ ।

स्तनपान कक्ष मानव अधिकारसँग प्रत्यक्ष रुपमा जोडिएको विषय हो। महिलालाई राज्यले दिएको सुविधा पनि हो । स्तनपान कक्ष सबै कार्यालयमा हुनुपर्छ । यस विषयमा अब अनुगमन गर्छौ । अनिवार्य बनाउन भन्छौ, नबनाए सरकारलाई रिर्पाेटिङ गर्छौ । उपसचिव दाहालले भन्नुभयो। जिल्लाका एक स्थानीय तह बाहेक अन्यले स्तनपान कक्ष नबनाउनुमा आमा कर्मचारी र शिशुप्रति उनीहरु कति सचेत र सजग छ भन्ने छर्लङग हुन्छ ।

नेपाल जनसांख्यीक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांक अनुसार पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत, शिशु जन्मेकै १ घण्टाभित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत र शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ८९ प्रतिशत रहेको छ ।

विश्व स्तनपान सप्ताह-१६ साउनदेखि २२ साउनसम्म) “स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरुको प्रतिवद्धता” नारासहित मनाई रहंदा खोटाङका सरकारी, गैरसरकारी र नीजि संघसंस्थामा कार्यरत महिला कर्मचारीहरुले स्तनपानलाई निरन्तरता दिन र नियमित बनाउन स्तनपान गराउने आमाहरुले ठूलो चुनौती व्यहोर्दै आउनुपरेको छ । कार्यस्थलमा स्तनपानका लागि सहज वातावरण बनाईदिनु सम्बन्धित सबैको जिम्मेवारी हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?