दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक ४ बजेलाई सारियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेको आह्वानमा बसेको शीर्षनेताहरुको बैठक सहमतिविना टुंगिएको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालले अध्यक्ष केपी शर्मा ओलीसहित उक्त दलका प्रमुख सचेतकसमेत सहभागी हुनुहुन्थ्यो ।

१० साउनमा बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको छ ।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र प्रतिपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गर्नुभएको थियो । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गर्नुभएको थियो ।

तर, सदनको गतिरोध अन्त्य हुन नसकेपछि सोमबार शीर्षनेताहरुको बैठक सभामुख घिमिरेले राख्नुभएको हो । तर, बैठकमा सहमति हुन नसकेपछि सोमबार अपरान्ह साढे ३ बजे फेरि शीर्षनेताहरुको बैठक बस्ने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।

साथै सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकलाई अपरान्ह ४ बजे बस्नेगरी सारिएको अधिकारीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?