महिला विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

Read Time = 3 mins

पेरिस । मोरोक्कोमाथि ४-० को फराकिलो जित हात पार्दै फ्रान्सले फिफा महिला विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । फ्रान्सको जितमा युजेनी ले सोमेरले दुर्ई तथा काडियाटोउ डिएनी र केन्जा डालीले एक-एक गोल गर्नुभयो ।

खेलको १५औँ मिनेटमा फ्रान्सले काडियाटोउ डिएनीको गोलमा अग्रता लियो । २०औँ मिनेटमा केन्जा डालीले दोस्रो गोल गर्नुभयो । २३औँ मिनेटमा युजेनी ले सोमेरले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा ३-० को अग्रता दिलाउनुभयो ।

यस्तै, ७०औँ मिनेटमा युजेनी ले सोमेरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै फ्रान्सलाई फराकिलो जित दिलाउनुभयो । अब फ्रान्सले क्वाटरफाइनलमा सहआयोजक अष्ट्रेलियासँग खेल्नेछ ।

फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएसँगै फिफा महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब क्वाटरफाइनलमा स्पेन र नेदरल्याण्ड्स, जापान र स्विडेन, अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्याण्ड र कोलम्बियाबीच खेल हुनेछ ।

११ अगस्टमा स्पेन र नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ । १२ अगस्टमा अष्ट्रेलिया र फ्रान्स तथा इंग्ल्याण्ड र कोलम्बियाबीच खेल हुनेछ । १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ ।

१९ अगस्टमा तेस्रो स्थानका लागि तथा २० अगस्टमा फाइनल हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो ।

यसअघि मंगलबार नै जमैकालाई १-० ले पराजित गर्दै कोलम्बियाले क्वाटरफाइनलमा स्थान बनाएको थियो । कोलम्बियाको जितमा क्याटलिना उस्मीले निर्णायक गोल गर्नुभयो । जितसँगै कोलम्बियाले क्वाटरफाइनलमा इंग्ल्याण्डसँगको भेट पक्का गरेको हो । इंग्ल्याण्डले सोमबार नाइजेरियालाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै अन्तिम आठमा स्थानमा स्थान बनाइसकेको थियो । इंग्ल्याण्डले टाइब्रेकरमा नाइजेरियालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?