बेनी-जोमसोम सडक तीन दिनदेखि अबरुद्ध

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । गत शनिवार रातीदेखि अबरुद्ध बेनी-जोमसोम सडक बुधबार (आज) बिहानसम्म पनि नखुल्दा मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटक तथा यात्रुहरु अलपत्र परेका छन् ।

रघुगंगा गाउँपालिका वडा नं १ र २ को सिमानाबाट झरेको पहिरोले रघुगङ्गा-३ बैसरीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भए पछि मुस्ताङ भ्रमणमा आएका भारतीय, तेस्रो मुलुकका पर्यटकलगाएत यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका छन् । स्थानीयले दिएको जानकारी अनुसार भारत र तेस्रो मुलुकबाट आएका ५६ जना पर्यटकहरु बेनी फर्कने वा पहिरो पार गरेर मुस्ताङ जाने भन्ने अन्योलमा रहेका छन् ।

शनिबारदेखिको अविरल वर्षाले सडकको सिरानबाट आएको पहिरोका कारण बेनी-जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको बैसरीमा सडक अवरुद्ध भएको हो ।

वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेका कारणले सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक,तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको हो । बैसरीमा दैनिक जसो खस्ने पहिरोले बेनी-जोमसोम सडकको यातायात सेवा प्रभावित हुने गरेको छ । सडक माथिबाट खस्ने पहिरो निरन्तर खस्न थालेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकमा दैनिकजसो यातायातका साधनआवत जावत बन्द हुने गरेको हो ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका सर्वसाधारणका साथै तीर्थयात्री र पर्यटकले लामो समय सडकमै बस्नुपरेको छ भने समयमा गन्तव्यमा पुग्न पाएका छैनन् ।

सडक माथिको करिब चार सय मिटर चौडाइ र पाँच सय मिटर लम्बाइको पाखोमा पहिरो खसिरहेको छ । पाखोबाट खस्ने ढुङ्गा र पहिरोले गुडिरहेका सवारी साधनलाई क्षतिपुग्ने, यात्रुलाई चोटपटक लाग्ने गरेको छ । गत वर्षदेखि बैसरीमा पहिरो खस्न सुरु गरेको हो ।

बैकल्पिक रुपमा सडक स्तरोन्नतीमा ध्यान नदिदाँ ठुला सवारी साधन पहिरोले रोकिनुपर्ने अवस्था छ भने जीप र मोटरसाइकलले बैसरी-रिसिन चौतारी-पिप्ले-घुमाउने तालजोड्ने सडक प्रयोग गर्दै आएका छन् ।

वैकल्पिक सडक जीर्ण, साँघुरो र जोखिमयुक्त छ । कूल ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सञ्चालन नहुँदा आवत जावत र कृषि उपज निकासी प्रभावित भएको छ ।

जिल्ला कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुँवरले बेनी-जोमसोम सडकमा खास काम नभै यात्रा गर्न नहुने बताउनुभयो । वर्षा भइरहेको र पहिरो खसिरहेकोले पानी पर्न बन्द नहोउन्जेल सडक स्थायी रुपमा खुलाउन समस्या भएको उहाँको भनाइ छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले भिर माथिको पाखो भूमिगत पानी र पहिरोले चिराचिरा भएर सडकमा पहिरो खसिरहने हुँदा जोखिमका साथै सडक अवरुद्ध हुने गरेको बताउनुभयो ।

सडकमा थुप्रिने पहिरो डोजरको सहायताले कालीगण्डकीमा खसालेर पन्छाउने गरिएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिको नेतृत्वमा केही दिनअघि भूमिगत पानी पाइपबाट बगाएर पहिरो रोकथामको प्रयास भएपनि सफल भएको छैन । आकाशबाट पानी पर्ने बित्तिकै पहिरो चल्ने र सडकमा खस्ने समस्या छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?