गौर हत्याकाण्डको छानबिन गर्ने सरकारको तयारीपछि उपेन्द्र यादव त्रसित, सरकार छाड्ने धम्की

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । उक्त सहमतिलाई लिएर सत्तारुढ दल जनता समाजवादी पार्टी त्रसित भएको हाे ।

यसै विषयलाई लिएर सत्तारुढ जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्नुभएको  छ । उक्त भेटमा यादवले सरकार छाड्ने धम्की समेत दिएको बुझिएको छ ।

मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच गृह मन्त्रालयमा पाँच बुँदे सहमति भएको थियो। उक्त सहमतिमा भएको गौर हत्याकाण्डको छानबिन गरिने भन्ने सवालमा सरकारले जसपालाई फसाउने प्रपञ्च रचेको आरोप लगाएको छ । तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्व उपेन्द्र यादवले गर्नुभएको थियो ।

२०६३ चैत ७ गते मधेशी जनअधिकार फोरम र नेकपा (माओवादी) दुबैले आमसभा गर्ने तय गरिएको स्थान रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा झडप हुँदा माओवादीका निशस्त्र २७ जना नेता कार्यकर्ताको वीभत्स हत्या भएको थियो । सोही आरोप लागेका यादवको नेतृत्वमा हाल जनता समाजवादी पार्टी जसपा बनेको छ।

स्रोतका अनुसार यादव र देउवाबीच भएको छलफलमा प्रधानमन्त्रीसँग छलफल गर्ने र सरकार छाड्ने जस्ता अप्रिय निर्णय नलिन यादवलाई देउवाले सम्झाएको भन्ने छ । उक्त छलफलमा यादवले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको बारेमा समेत देउवासँग असन्तुष्टि पोख्नुभएको बुझिएको छ ।

यादवसँगको छलफलपछि आज बिहान सभापति देउवा रक्षामन्त्री एवम् उपसभापति पुर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक र कृष्ण सिटौंलासहितका नेता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । उहाँहरुबीच संसदको गतिरोध अन्त्य र गौर हत्या काण्डको विषयमा छलफल भएको थियो ।

यो विषयमा जसपामा नेताहरु आन्तरिक छलफलमा समेत जुटेका छन् । जसपाका कार्यकारिणी समितिका सदस्यहरुले बुधबार यस विषयमा अनौपचारिक छलफल गरेका छन् ।

एउटा निचोडमा पुगेर आवश्यक परे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी जसपाका नेताहरुको छ ।

बहुचर्चित गौर हत्या प्रकरण ७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चोकमा भएको थियो । उक्त हिंसात्मक घटनामा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन उही समयमा कार्यक्रम राखेका थिए । साे समयमा  विवाद हुँदा हिंसात्मक घटना घटेकाे थियाे ।

आजभन्दा १७ वर्षअघि भएको गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै पीडित परिवारले रौतहटबाट आन्दोलन उठाएका थिए । उनीहरुले लगातार धर्ना तथा जुलुश कार्यक्रमको आयोजना गरेका थिए ।

पीडितहरुको आन्दोलनप्रति सरकारले  चासो राखेर उनीहरुलाई काठमाडौं बोलाएर मंगलबार पाँच बुँदे सहमति गरेको थियो । सो सहमतिमा उक्त घटनाकाे अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने कुरा उल्लेख छ ।

गौर हत्याकाण्डबारे डा. भट्टराई

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गौर हत्याकाण्डको सत्य तथ्य बाहिर आउनेमा आशंका व्यक्त गर्नुभएको छ ।

गौर हत्याकाण्ड पीडित संघर्ष समिति र गृहमन्त्रालयबीच आज ५ बुँदे सहमति भएको छ । यसबारे पूर्व प्रधानमन्त्री भट्टराईले आशंका व्यक्त गर्दै गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे सत्यतथ्य बाहिर नआउने बताउनु भएको छ ।

‘यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन ! यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृसंस हत्याकाण्ड थियो।’ उहाँले भन्नुभएको छ, ‘तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुॅडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला रु भविष्यले बताउनेछ।’

शान्तिप्रकृया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा आफूहरुले चाहेर पनि यसबारे केही गर्न नसकेकोमा डा. भट्टराईले आत्माआलोचना समेत गर्दै 'सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस्! सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ !' भन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?