अव्यवस्थित विकासले सानोतिनो झरीमा पनि नागरिकलाई सकस

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । बागलुङमा हरेक वर्ष हिउँद लाग्दा साथ नयाँ–नयाँ ठाउँमा सडकको ट्रयाक खुल्छन् । ट्रयाक खुलेका सडकमा वर्षौँसम्म गाडी गुढ्दैनन् । बर्खा लाग्यो भने ति सडक भत्किएर बग्छन् । बस्तीमाथि रहेका सडकले त झन् सिंगो गाउँलाई नै जोखिममा पर्ने गर्दछन् । जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका ग्रामीण सडक बन्द भएको डेढ महिना बित्यो । असार पहिलो सातादेखि नै बन्द भएका सडक अहिलेसम्म बन्दनै छन् । वर्षाका कारण पहिरोले अवरुद्ध बनेका सडक अब असोज लागेपछि मात्रै खुल्ने छन् ।

कतिपय सडक पहिराले त कतिपय खोलामा पानीको बहाव बढ्दा बन्द छन् । धेरै जसो अव्यवस्थित रुपमा निर्माण भएका संरचनाले अवरुद्ध भएका छन् । ग्रामीण सडक त अवरुद्ध छँदै थिए, समय–समयमा शाखा सडकबाट आउने भेल बाढीले राष्ट्रिय लोकमार्ग पनि अवरुद्ध हुँदै आएका छन् । अव्यवस्थित र बिना इन्जिनियरिङ निर्माण भएका शाखा सडकले राष्ट्रिय राजमार्गसमेत क्षतविक्षत बन्दा सयौँ यातायात र हजारौँ यात्रु बेला–बेला अलपत्र पर्दै आएका छन् । ग्रामीण सडक संचालन नहुँदा जनजीवननै प्रभावित हुँदै आएको छ ।

निसीखोला गाउँपालिका–४ ओखरेनीमा केही वर्ष अगाडि मोटर बाटो पुग्यो । मोटरबाटोले स्थानीयलाई सहज त बनायो तर बर्खामा धेरैलाई उठिबाससमेत लगाएको छ । ओखरेनी गाउँमा पुगेको मोटरबाटोले सोही गाउँको विभिन्न टोल चिनारे गाउँनै पहिरोको उच्च जोखिममा परेको छ । हरेक वर्ष गाउँका दर्जनघर पहिराको जोखिममा पर्ने गरेका छन् । हिउँदमा जसोतसो गाडी चले पनि बर्खा लाग्दा साथ कच्ची भू–भागका कारण यातायात ठप्प हुन्छ । बिनाइन्जिनियरिङ सडक निर्माण गर्दा गाउँनै पहिराको जोखिममा परेको स्थानीयको गुनासो छ । गाउँमा पुगेको उक्त सडकबाट भलसहितको लेदोले मध्यपहाडी लोकमार्गको धरमशाला कालापैरामा दिनदिनै सडक अवरुद्ध गराउँदै आएको छ ।

पानी पर्दा बित्तिकै माथिदेखि भल आएर एकैछिनमा सडक पुरि दिँदा लोकमार्ग अवरुद्ध हुने गरेको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टिकानिधी पौडेलले बताउनुभयो । बर्खा लागेदेखि थापागाउँ, बडाचौर लगायतका गाउँका सडक बन्द रहेको अध्यक्ष पौडेलको भनाइ छ । अब नयाँ सडक निर्माण गर्न रोकेर पुरानालाई स्तरोन्नती गर्ने गरि योजना बनाएको उहाँले बताउनुभयो । धेरै सडक निर्माण गर्दा बस्तीसँगै पर्यावरणमा असर पुग्ने भन्दै अब सडक दीर्घकालीन रुपमा चल्ने गरि निर्माण गर्ने उहाँ बताउनुहुन्छ ।

“स्थानीय तह अगाडि कुनै पनि गाउँमा सडक पुगेका थिएनन्, पालिकाले सबै ठाउँमा सडक पु¥याउने योजना बनाएको थियो, सोही अनुसार धेरै गाउँमा सडक पुगे, अहिले मोटरबाटो नपुगेको कुनै पनि गाउँ छैन,” अध्यक्ष पौडेलले भन्नुभयो – “धेरै ठाउँमा सडकका कारण बस्ती विस्थापित हुने अवस्था आएको छ, हाम्रोमा त त्यो समस्या छैन अहिलेसम्म, हिउँदमा चल्ने, बर्खामा नचल्ने सडकलाई अब बाह्रै महिना संचालनमा ल्याउने गरि काम थालेका छौँ ।”

जिल्लाको तमानखोला गाउँपालिकाका सबै ग्रामीण सडक असारदेखि नै ठप्प छन् । बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म चल्ने सडक नियमित चले पनि अन्य सडक बन्दछन् । बडिगाड, ढोरपाटन, गलकोट लगायतका ठाउँका ग्रामीण सडक पनि बर्खामा चल्दैनन् । भौगोलिक अवस्था, सरोकारवालाको बेवास्ता तथा गाउँगाउँमा मनपरी सडक खन्ने प्रवृत्तिका कारण ग्रामीण र मुख्य सडक क्षतविक्षत हुँदै गएको स्थानीय प्रेमबहादुर पुनले बताउनुभयो । पुराना सडकलाई बेवास्ता गर्ने र मनपरी नयाँ शाखा सडक खन्ने प्रवृत्तिका कारण बर्खामा सडक संचालन हुन नसक्ने उहाँको भनाइ छ ।

“काम परेर बजार जान प¥यो भने दुई/तीन ठाउँ गाठी परिवर्तन गर्नु पर्छ, गाउँतिर निकै समस्या हुन्छ, पानीका कारण ठाउँ–ठाउँमा सडक बिग्रिएको छ, यात्रा गर्न निकै गाह्रो,” उहाँले भन्नुभयो – “बर्खामा सबैभन्दा धेरै पहिरो सडकमै जाने गरेको छ, सडक खन्ने बेला नाप जाँच गरेर निर्माण गरेको भए, बर्खामा यस्तो समस्या आउने थिएन, हामी भुइँ मान्छेको कुरा कसैले सुन्दैनन् ।”

बागलुङमा निर्माण भएका कतिपय ग्रामीण सडक सरकारी मापदण्ड विपरीत वातावरणीय प्रभाव मूल्यांकन बिना नै खनिएका छन् । यस्ता सडक प्राविधिक दृष्टिले जोखिमयुक्त मानिन्छन् । वातावरणीय प्रभाव मूल्यांकन बिना नै सडक खन्ने होडबाजीका कारण पहिरोको जोखिमका साथै गाउँ नै कुरूप हुँदै गएका छन् । सबैलाई पायक पर्ने एउटै सडक निर्माण गरी सोही सडकलाई फराकिलो बनाएमा मात्र समस्याको केही समाधान हुने स्थानीय तिलबहादुर घर्ती बताउनुहुन्छ ।

उहाँले गाउँ–गाउँमा निर्माण भएका सडक निकै साँघुरा र दुर्घटना नित्याउने खालका भएको बताउनुभयो । नयाँ सडक खोल्नका लागि सरोकारवाला निकायले चासो दिएको घर्तीले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो – “बाटो अलि फराकिलो बनाउनु पर्छ, गाउँ–गाउँमा पुगेर हेर्ने हो भने त्यहाँ बनेका सडकमा मोटरसाइकल पनि गुड्दैनन्, गाडी गुड्ने त कुरै भएन, हिउँदमा बाटो खन्छन्, बर्खामा बगाउँछ, विकास दीर्घकालीन हुन सकेको छैन, जहाँ पनि बाटो मात्रै खनेको देखिन्छ, अरु विकास कम भएको पाइन्छ ।”

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?