चितवन क्रिकेट संघको अध्यक्षमा पिया

हिमालय टाइम्स
Read Time = 3 mins

चितवन । चितवन जिल्ला क्रिकेट संघको अध्यक्षमा सुदीप पिया निर्वाचित हुनुभएको छ । मंगलबार भएको तेस्रो अधिवेशन तथा साधारणसभाबाट पियाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । पियाको प्यानलबाट राजु खड्काबाहेक १४ जना कार्यसमिति सदस्यहरू निर्वाचित हुनुभयो । संस्थापनइतर पक्षबाट मनिष सापकोटाको प्यानलसहित निर्वाचनमा होमिएको थियो । पियाले सापकोटालाई तीन मतले पराजित गर्दै अध्यक्ष चयन हुनुभएको हो । सापकोटाले २२ र पियाले २५ मत प्राप्त गर्नुभयो । पिया अघिल्लो कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।

यस्तै, उपाध्यक्षमा उमेश पिया विजयी हुनुभयो । उहाँले इशानसिंह बानियाँलाई एक मतले पराजित गर्नुभएको थियो । पियाले २४ र बानियाँले २३ मत प्राप्त गर्नुभयो । पिया निवर्तमान कार्यसमितिमा सचिव हुनुहुन्थ्यो । त्यसबाहेक सचिव पदमा सुरज ज्ञवाली विजयी हुनुभयो । ज्ञवालीले २४ र सचिवका अर्का प्रत्यासी अनिल अधिकारीले २३ मत प्राप्त गर्नुभयो । पराजित अधिकारी बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष हुनुहुन्छ ।

कोषाध्यक्षमा अर्जुन केसी विजयी हुनुभयो । केसीले २४ र वचन कार्कीले २३ मत प्राप्त गर्नुभयो । कार्यसमिति सदस्यका लागि एक महिलासहित ११ जनाका लागि भएको निर्वाचनमा संस्थापन पक्षबाट १० जना निर्वाचित भए । महिला सदस्यमा पिया पक्षबाट आर्या अर्याल निर्वाचित हुनुभयो । यस्तै, सदस्यहरूमा अरुण घले, प्रशान्तकुमार पिया, उत्सव श्रेष्ठ, जीवन गुप्ता, ध्रुव शर्मा, प्रितम पिया, विजय बोहोरा, भरतकाजी कुँवर, मेघनाथ उपाध्याय र राजु खड्का निर्वाचित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?