वर्षाले ग्रामीण सडक ठप्प : स्थानीयलाई सामान ढुवानी गर्न समस्या

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । तीन दिनदेखिको अविरल वर्षाका कारण बागलुङका मुख्यसहित ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडक वर्षा रोकिँदा बित्तिकै खुलाउने गरे पनि ग्रामीण सडक ठप्प छन् । ग्रामीण सडक ठप्प हुँदा स्थानीयलाई दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । ग्रामीण सडक एक महिनादेखि ठप्प छन् । सडक ठप्प हुँदा ग्रामीण क्षेत्रबाट बिरामी अस्पातल ल्याउनसमेत समस्या भएको छ ।

सोमबार रातीदेखि अवरुद्ध भएका राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोर संचालनमा आएपछि अहिले दुई तर्फ यातायाता संचालन भइ रहेका छन् । गाउँबाट मुख्य सडकमा पुक्नै निकै समस्या हुने गरेको तमानखोलाका स्थानीय भीमबहादुर रसाइलीले बताउनुभयो । उहाँले गाउँमा अहिले ज्वरो, रुघा खोकी लगाएका बिरामीहरु बढ्दै गएको भन्दै पहिराले सडक अवरुद्ध हुँदा उनीहरुलाई अस्पताल पुर्याउन समस्या भइरहेको बताउनुभयो ।

उहाँले गाउँमा सडक नआउँदा बिरामीलाई मान्छेलेनै बोकेर अस्पतालसम्म पुर्याउने र सामान ढुवानी घोडा खच्चडदेखि गराउने गरेको भन्दै अहिले सडक पुगेर पनि अवस्था त्यही आएको गुनासो पोख्नु भयो । पहिले सामान ढुवानीका लागि प्रसस्त खच्चड पाइने गरेको भन्दै अहिले नपाइँदा मान्छेले नै बोक्नु पर्ने अवस्था आएको बताउनुभयो ।

“पहिले–पहिले गाउँमा मोटरबाटो आएका थिएनन्, गाडी पनि आउँदैनथे, केही वर्ष यता हिउँदभरी गाडी दौडिन्छन्, बर्खा लाग्यो भने सुनसान हुन्छन्, गाडीहरू नचल्दा हामीहरुले धेरै दुःख पाएका छौँ, गाउँको कोही सिकिस्त बिरामी पर्छ उसलाई छिटो–छिटो अस्पताल कसरी लैजाने ?, बोकेर लैजाँदा बाटोमै मर्छ कि भन्ने डर” रसाइलीले भन्नुभयो – “सहर बजारमा सबै सुविधा हुन्छ, त्यहाँ बाह्रै महिना गाडी गुड्छन्, हाम्रो दुर्गम गाउँमा ६ महिना पनि राम्रोसँग गाडी गुड्दैनन् ।”

निसीखोलाका कमलमणी शर्माले सडकले हिउँदमा सुविधा दिए पनि बर्खामा दुःख मात्रै दिएको गुनासो गर्नुभयो । अहिले लोकमार्ग बाहेक कुनै पनि सडकमा गाडी नगुड्ने भन्दै टाढा–टाढा जानु परे हिँडेर पुग्नु पर्ने बाध्यता रहेको सुनाउनुभयो । केही दिनदेखिको बर्खाले गाउँमा आएका सडकहरु सबै भत्किएर ठप्प बनेको भन्दै स्थानीय पालिकाले तत्काल नखुलाउँदा हामीहरु मारमा परेको बताउनुहुन्छ । सडक नआउँदा बर्खामा चाहिने सबै सामानहरु वर्षा सुरु हुनुभन्दा पहिलेनै जोहो गरेर राख्ने गरेको स्मरण गर्दै अहिले धेरैले पहिलेनै सामान जम्मा गरेर राख्न छोडेको बताउनुभयो ।

“पहिले–पहिले मोटरबाटो कतै थिएनन्, गाउँलेले बर्खा नलाग्दै, चामल, नुन, तले जोहो गरेर बर्खाभरी पुग्ने गरि राख्थे, त्यसरी जोहो गरेर राखेको सामान, म्याद गुज्रिएको हुन्थ्यो, सडक आएपछि धेरैले एकमुष्ट सामान जम्मा गरेर राख्न छोडे” शर्माले भन्नुभयो – “बर्खा लागेको केही समय त गाउँ गाडी आउँथे, अहिले त धेरै ठाउँमा पहिरो गएर बाटो सबै भन्द भएका छन्, सरकारले दशैँ अगाडि बाटो खुलाउँदैन, त्यस बेलासम्म भोकै बस्न भएन, बोकेर भए पनि ल्याउनु पर्यो ।”

तमानाखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले नागरिकको आवश्यकतालाई मध्यनजर गरेर बस्ती बस्तीसम्म सडक पु¥याएको र बर्खाको समय केही ठाउँमा पहिरो झर्दा यातायाता निरन्तर चल्न नसक्दा स्थानीयलाई सास्ती भएको बताउनुभयो । आफूहरुले जोखिम न्यूनिकरण हुने गरि सडक निर्माण गरेको भन्दै भारी वर्षाका कारण केही सडक अवरुद्ध भएको बताउनुहुन्छ । पालिका केन्द्रदेखि गाउँ–गाउँमा पुग्ने सडकका बीच–बीचमा धेरै खोलाहरु रहेको हुँदा गाडीहरु चल्न नसकेको बताउनुभयो ।

“पश्चिम बागलुङ अलि भौगोलिक रुपमा निकै जटिल ठाउँ छ, हिउँदमा गाडी चल्न कुनै समस्या हुँदैन, बर्खामा खोलाहरु बढ्ने र ठाउँ–ठाउँमा पहिरो झर्ने हुँदा समस्या आउने गरेको छ, सबै ठाउँमा एकै पटक पुल बनाउन पनि नसकिने, पुल नबन्दा समस्या आउने” उहाँले भन्नुभयो– “बाह्रै महिना सडक संचालन गर्न आवश्यक ठाउँमा क्रमस पुल पनि बनाउनका लागि केन्द्र र प्रदेश सरकारसँग सहकार्य गछौँ, अहिले बन्द भएका सडक खोलामा पानीको बहाव घट्दा साथ सुल्छन् ।”

पहिराले घरगोठ भत्कियो
तीन दिनदेखि परेको भरी वर्षाका कारण बागलुङको काठेखोलामा एक घर र गोठ भत्किएको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका गोपाल थापाको घर र नरबहादुर मल्लको गोठ भत्किएको हो । पहिरोले घर भत्किएपछि थापाको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

थापाको घर र गोठ भत्किँदा करिब सात लाख बराबरको क्षति भएको उहाँको भनाइ छ । पहिरो पीडितलाई आवश्यक राहतको व्यवस्था गरिने उहाँले बाउनुभयो । अहिले पनि भारी वर्षा भइरहेको हुँदा ग्रामीण सडक अवरुद्ध भएको उहाँको भनाइ छ । सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवन प्रभावित बनेको अध्यक्ष लामिछानेले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?