दारका ठेकाठेकीको प्रयोग हराउँदै : संकटमा सिपालु चुँदारा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । बागलुङको बलेवाबाट दारका ठेका, ठेकी,मदानी,धुपौरा,चम्ठो,पुछै लगाएतका सामान बोकेर म्याग्दीको दरवाङ आउनुभएका टीकाबहादुर चुँदारा विक्रीका लागि ल्याएको एउटा सामान पनि विक्रि नभए पछि निरास हुँदै बागलुङ फर्किनुभयो ।

कलात्मक रुपमा कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यावसायीहरु पनि संकटमा पर्न थालेको छ । व्यवसाय नै परिवर्तन गर्ने अवस्था आइलागेको टीकाबहादुर चुँदाराले बताउनुभयो । काठका भाँडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायीहरु संकटमा परेका उहाँको भनाइ छ ।

वर्षौंदेखि काठ कुँद्ने पेशा गर्दै आउनुभएका चुँदारा काठ कुद्ने पेशाबाट पलायन हुनुपर्ने अवस्था आएको बताउनुहुन्छ । १०/१२ वर्षको उमेरदेखि बाबु बाजेले अँगाल्दै आएको पेशा आफूले पनि सम्हालेको बताउने चुँदारा ६० वर्ष उमेर पुगुन्जेलसम्म पनि यही पेशालाई निरन्तरता दिइरहनुभएको छ । यतिन्जेलसम्म यही पेशाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकोमा उहाँलाई चिन्ता लागेको छ ।
कुनै समय थियो, गोठमा रहेका पशुधन र ठेंकी हेरेर त्यस घरको हैसियत आँकलन गरिन्थ्यो । ती सबै साधन रैथाने सीप प्रयोग गरेर जंगलका काठबाट बनाइन्थ्यो । तर, समय फेरियो । मही पार्ने चलन हराउँदै गयो । गाउँघरमा कतै कतै मही पारे पनि प्लाष्टिकका ठेंकीको प्रयोग हुन थाल्यो । रैथाने काठका सामग्रीलाई आयातित प्लाष्टिकका सामग्रीले विस्थापित ग¥यो ।

१० पाथे काठको ठेंकीमा घ्वार्र... घ्वार्र.. गर्दै मही पारेको दृश्य पछिल्लो समय दुर्लभ हुन थालेको छ । ठेंकी र मदानीले दही मथेर मही पार्ने र घट्घट्ी पिउने चलन पनि हराउँदै गएको छ ।

खासगरी काठबाट ठेका बनाउन चुदारा समुदायका मानिस नै खप्पिस छन्। । ठेंकी कुद्ने कामलाई गाउँघरमा चुदारा पेशा भन्ने गरिन्छ । उहाँले बनाएका काठका सामग्री बागलुङ,पर्वत,म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा बिक्री हुने गरेकामा पछिल्लो समय बिक्रीमा कमी आएको उहाँको भनाइ छ ।

]१० पाथी जाने एउटा दारको ठेकोलाई रु १२ देखि रु १५ हजारसम्म पर्ने उहाँ बताउनुहुन्छ । केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक २५÷३० हजार रुपैयाँसम्म आम्दानी गर्ने चुँदारा पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका बताउनुहुन्छ । अहिले मुस्किलले मासिक ५/७ हजार रुपैयाँ मात्र कमाइ हुने गरेको बताउँदै उहाँले भन्नुभयो “प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छाड्यो, अब त दुःख पनि उठ्दैन ।”

बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मिहिनेत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेशा विस्थापित हुँदै गएको दरवाङका व्यवसायी सन्तनाथ सुवेदीले बताउनुभयो ।

विशेष गरेर काठका ठेंका, ठेंकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाँडो), खुर्पेटो लगायतका समानहरु बनाउने गरेका चुँदाराले यी सामानहरु बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने हुने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?