टाउको गिँडिएको अवस्थामा लखन्देहीमा भेटिएका युवक भारतीय नागरिक

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । हरिवन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल तल टाउनकाे गिँडिएको अवस्थामा फेला परेको युवकको भारतीय नागरिक भएकाे पुष्टी भएकाे छ ।

भारतको सितामाढी जिल्ला अन्तर्गत मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिशेष राजको टाउको रहेको परिवारद्वारा सनाखत भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले जानकारी दिनुभयाे । ‘अभिशेषका पिता राम दिवाकर लगायत अन्य परिवारका सदस्यहरुले टाउकाको सनाखत गरिसक्नु भएको छ’, एसपी सुवेदीले शुक्रबार दिउँसो ‘सनाखत भएको टाउको पोष्टमार्टमका लागि आजै काठमाडौं पनि पठाईसक्यौं ।’

मृतकका पिता राम दिवाकरका अनुसार गत साउन २० गते अभिशेष आफ्ना ४ जना छिमेकी साथीहरुसँग घुम्न भनि सर्लाही हिँडेका थिए । अन्य ४ जना पनि हालसम्म गाउँघरतिर सम्पर्क बिहिन रहेकाले अभिशेषको हत्यामा उनीहरुकै संलग्नता रहेको हुनसक्ने अनुमानका साथ जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।

अभिशेषको अन्त कतै हत्या गरेर टाउको मात्र लखन्देही खोलामा फालेको हुनसक्ने भएकाले सागरनाथ वन विकास परियोजना सहित बाँके जंगल क्षेत्र एवं सम्भावित अन्य स्थानमा शरिरको तल्लो भाग खोज्नका लागि व्यापक रुपमा प्रहरी टोली खटाईएको एसपी सुवेदीले जानकारी दिए ।

सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालले पोष्टमार्टम गर्न नमानेपछि प्रहरीले विहिबार साँझ नै उक्त टाउकोलाई सुरक्षीत रुपमा काठमाडौं पठाउन लागेको थियो । तर भारतीय युवक रहेको हुनसक्ने जानकारी प्राप्त भएपछि उक्त टाउकोलाई पहिचानका लागि मलंगवा स्थित अस्पतालको पोष्टमार्टम कक्षमै राखिएको र हाल पहिचान पश्चात काठमाडौं पठाईएको छ । स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले हिजो विहिबार बिहान लखन्देही खोलाको पुलदेखि ५० मिटर दक्षिण उक्त टाउको फेला पारेको थियो । पूर्व–पश्चिम राजमार्ग छेउमै टाउको गिँड मात्र फेला परेपछि स्थानीय सर्बसाधारणमा त्रास त बढेको थियो नै टाउको कसको हो भनेर पत्ता लगाउन समेत प्रहरी अधिकारीहरुलाई टाउको दुःखाई बनेको थियो ।

एसपी सुवेदी, ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख शिवराम थापा लगायत अन्य सुरक्षा अधिकृतहरु टाउकाको पहिचान गराउन र शरिरको तल्लो भाग खोज्न जिल्लाका विभिन्न स्थानमा अहोरात्र खटिएका थिए । बेवारिसे टाउकाको भोलिपल्टै पहिचान गर्न सफल भएपछि सम्बन्धित सुरक्षा अधिकृतहरुले धेरै हदसम्म राहतको सास फेर्न पाएका छन् । ‘टाउकाको पहिचान भईसकेपछि अब अनुसन्धान अगाडी बढाउन धेरै हदसम्म सजिलो भएको छ’, एसपी सुवेदीले भन्नुभयाे, ‘अब मृतकको शरीरको अन्य भाग तथा उनीसँगै आएका अन्य ४ जना भारतीय युवकको खोजीमा लागेका छौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?