कांग्रेस बैठकमा सांसद शर्मा पक्राउबारे चर्चा, सांसदहरू भन्छन्- गतिरोध अन्त्य गर्न पार्टीले पहल लिनुपर्‍यो

‘सुन तस्करीबारे बोल्दा शर्माप्रति सरकारले प्रतिशोध साँध्यो’

कृष्ण भुसाल
Read Time = 16 mins

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकले सो घटनाबारे प्रारम्भिक टिप्पणी गरेको हो ।

बैठकमा सांसदहरूले सो घटनालाई आपत्तिजनक, अप्रत्यासित र गम्भीरतापूर्वक लिएको पार्टी संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । यस्तै, कांग्रेसका सांसदहरूले संसद्को गतिरोध अन्त्य गर्न पार्टीले पहल लिनुपर्ने बताएका छन् । बैठकमा बोल्ने अधिकांश सांसदहरूले संसद्मा गतिरोध उत्पन्न हुँदा जनजीविकाका सवालहरू ओझेलमा परेको भन्दै गतिरोध अन्त्यका लागि सभापति देउवालाई अग्रसरता लिन सुझाव दिएको प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता प्रदीप पौडेलले जानकारी दिनुभयो । बैठकमा सुन तस्करी प्रकरणबारे समेत छलफल भएको छ । छलफलका क्रममा नेता अर्जुननरसिंह केसीबाहेक बोल्ने अन्य सांसदहरूले राज्यका निकायलाई नै छानविन गर्न दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै, सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा समेत कांग्रेस सांसदहरूले सरकारले गलत गरेको बैठकमा बताएका छन् । ‘यो गलत भयो, सरकार प्रतिशोधपूर्ण ढंगले प्रस्तुत भएको देखियो । आवाज थुन्ने प्रक्रियाका विपक्षमा कांग्रेस उभिनुपर्छ’, बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूको धारणा थियो । शुक्रबारको बैठकमा करिब १५ जना सांसदले बोलेपछि आइतबार बस्ने गरी बैठक सकिएको छ । आइतबारको बैठकमा जनजीविकाका सवालमा सांसदहरूले धारणा राख्ने कांग्रेसले जनाएको छ । कांग्रेसले संसद्को अवरोध हटाउने तथा संसद्‌मा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयकलगायत सात एजेण्डामा छलफल गर्न दलको बैठक बोलाएको हो ।

सुन प्रकरणको छानविन गर्न राज्य व्यवस्था समितिलाई दिऊँ
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुन प्रकरणको छानविनको अधिकार संसदीय समितिलाई दिने विकल्प पेस भएको छ । यद्यपि, राज्यका संयन्त्रले गरिरहेका अनुसन्धानलाई प्रभावित पार्ने गरी आयोग वा समिति बन्न नसक्नेमा अधिकांश नेताहरू एकमत देखिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणको छानविनका उच्चस्तरीय आयोग गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेका बेला कांग्रेस संसदीय दलमा विकल्प पेस भएको हो । प्रमुख प्रतिपक्ष दल एमालेले भने गृह र अर्थमन्त्रीमाथि समेत प्रश्न उठेकाले उच्चस्तरीय आयोग गठनको माग गरेको छ । त्यही माग राख्दै एमालेले १० साउनदेखि लगातार संसद् अवरुद्ध गरेपछि कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको थियो ।

‘शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक’
नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो । ‘यो आपत्तिजनक र अप्रत्यासित छ । दलको बैठक जारी छ । यसबारेमा हामी थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौं’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भन्नुभयो । नेता लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठक आइतबार साढे १२ बजे पुनः बस्नेछ । यसबाहेक कांग्रेसले जनजीविकाका सवालमा अन्य चारवटा विषयमा निर्णय गरेको छ ।

अविरल वर्षाका कारण देशभर बाढीपहिरो र डुबानबाट धेरै मानिसले ज्यान गुमाएको भन्दै बैठकले त्यसबाट क्षति सार्वजनिक र निजी भौतिक संरचनामा क्षति भएकाले तत्काल बाढीपहिरो र डुबानबाट भएको हानि नोक्सानीका बारेमा राहत, उद्धार र पुनःस्थापना गर्न सरकारसँग माग गरेको छ । त्यस्तै, लम्पी स्किनबाट हजारौँ पशु चौपायाको मृत्यु हुँदा किसानले बेहोरेको क्षतिप्रति राहत र उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग कांग्रेस संसदीय दलको बैठकले माग गरेको छ ।

त्यसबाहेक डेंगु र आँखा पाक्ने रोगको उपचारका लागि उचित व्यवस्था गर्न र तराई मधेशमा यो वर्ष पानी कम परेकाले कम मात्रामा धान रोपाइँ भएकाले यो समस्याप्रति पनि उचित ध्यान दिन सरकारसँग माग गरेको छ ।

एमालेलाई निरुत्साहित गर्न जरुरी छ : खड्का
कांग्रेस सांसद दीपक खड्काले एमालेले जारी राखेको संसद् बैठकको शृंखला अवरोध डरलग्दो रूपमा अघि बढिरहेको टिप्पणी गर्नुभएको छ । कांग्रेस बैठकमा खड्काले एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको विषय डरलाग्दो रहेको भन्दै निरुत्साहित गर्नुपर्ने बताउनुभयो । ‘एमालेले संसद्मा गरिरहेको अवरोध डरलाग्दो रूपमा आयो । उसको यो शैली विकृत रूपमा आइरहेको छ । किनकि यो पहिलोपल्ट होइन । अवरोध गर्नु त एमालेको बानी नै भइसक्यो । संसद् अवरुद्ध त खुलाउनैपर्छ तर एमालेलाई निरुत्साहित गर्न जरुरी छ,’ खड्काले भन्नुभयो ।

नीतिमै सुधार आवश्यक : राणा
यस्तै, कांग्रेस संसदीय दलको बैठकमा उदयशमशेर राणाले पनि बारम्बार संसद् अवरोध हुँदा नागरिक सरोकारका थुप्रै विषय उठाउन नपाइएकाले नीतिमै सुधार गनुपर्ने बताउनुभयो । ‘यो पहिलोपटक होइन बारम्बार यस्तो आइरहेको छ । पञ्चायत कालदेखिकै समस्या हो’ उहाँले भन्नुभयो, ‘प्रक्रियामा एकपटकका लागि गाँठो फुकाउने होइन नीतिमै सुधार गरेर यसरी सधैँ अवरोध गर्न नपाउने व्यवस्था गर्नुपर्छ ।’

सरकार प्रतिशोधमा उत्रियो : भण्डारी
कांग्रेस सांसद चन्द्र भण्डारीले अर्का सांसद सुनिल शर्माविरुद्ध राज्य प्रतिशोधपूर्ण ढंगले उत्रिएको बताउनुभएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानीका क्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘सुनिल शर्मालाई थुन्नुपर्छ भन्ने छैन । जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन । मैले प्रधानमन्त्री र सिआइबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु’, उहाँले भन्नुभयो, ‘तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन् । बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो ।’ भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदाहुँदै सकिइसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको जिकिर गर्नुभयो । ‘नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन । सुनिल शर्माले बोलेको कसैलाई नपचेको होला नि !’, उहाँले भन्नुभयो, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने । सुनिल शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?’

मन्त्रीहरूबारे प्रश्न उठाएकाले शर्मालाई समातियो : केसी
कांग्रेस सांसद अर्जुननरसिंह केसीले साउन ३ गते बरामद भएको तस्करीको सय केजी सुन प्रकरणमा विभागीय मन्त्रीहरूको भूमिकाबारे कुरा उठाउँदा अर्का सांसद सुनिल शर्मालाई पक्राउ गरिएको बताउनुभएको छ । ‘त्यत्रो सुनकाण्ड छाडेर सरकारले सांसद सुनिल शर्मालाई समातेको छ । सुनिल शर्मा पक्रेको जानकारी संसद्लाई आएन’, उहाँले भन्नुभयो, ‘२७ वर्षपछि यो केसमा सरकारले प्रतिशोध साँधेको छ । जब उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्नुभयो तब समातियो । सुनिल शर्मा भागेर जाँदैनथे ।’
उहाँले शर्मामाथि कारबाही गर्ने हो कि होइन त्यो कानुनी पाटो भए पनि ललितानिवास र सुन तस्करी प्रकरण छाडेर सरकार अहिले आफूविरुद्ध बोल्नेलाई तह लगाउनेतिर लागेको जिकिर गर्नुभयो । ‘सुनिल शर्मामाथिको कारबाही प्रतिशोधका लागि हो’, उहाँले भन्नुभयो, ‘सुन तस्करीको नेक्ससमा सबै दलको मिलेमतो छ । शर्माको शैक्षिक प्रमाणपत्रको १९९६ को कुरा ०७२/७३ मा पनि छानविन भयो । त्यसबेला केही नभेटिएपछि छाडियो । अहिले आएर संसद्‌मा सुनकाण्डबारे कडा अभिव्यक्ति दिइरहनु भएको बेला समातिनु प्रतिशोधका लागि हो ।’

सरकारविरुद्ध दुई दिन बोल्नुहोस् त सुनिल शर्मा बनाइदिन्छन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सुनिल शर्मालाई पक्राउ गरेको प्रति सरकारको आलोचना गर्नुभएको छ । शुक्रबार एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले सरकारको आलोचना गर्नुभएको हो । ओलीले भन्नुभयो, ‘सुनिल शर्माले दुई दिनमा नक्कली प्रमाणपत्र बनाएको हो ? गृहमन्त्री र अर्थमन्त्रीको आलोचना गर्नेबित्तिकै हतकडी । दुई दिन बोलेपछि किन पक्राउ गर्नुपर्ने ? अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन् । अब त एउटा निवेदन कुखुरा चोरेको भनेर हाल्दिन्छ, हतकडी लगाएर लान्छ सांसदलाई । दुई महिना, ६ महिनापछि अब बोल्दिनँ बाबा भनेपछि होइन रहेछ भनेर छाडिदिन्छ ।’

यस्तै, एमाले अध्यक्ष ओलीले सुन प्रकरणमा आफूहरूले सत्यतथ्य बोल्छ भनेर सदनमा सत्तापक्षले बोल्न नदिएको आरोप पनि लगाउनुभयो । ओलीले भन्नुभयो, ‘सुन प्रकरणमा प्रतिपक्षले सत्य बोल्छ भनेर सदनमा बोल्न दिँदैन । उठेर विरोध गरिहाल्छ । यसको जरासम्म पुग्नुपर्छ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो । भारतले गम्भीर ढंगले प्रश्न गरिरहेको छ । अर्थतन्त्र यस्तो भइसक्यो । गर्ने गराउने आफूहरू, अनि कसैलाई छाड्दिनँ भनेर फाइँफुइ गर्ने ?’

सांसद शर्मा रिहा, थुनामा राख्न अदालतले दिएन अनुमति
नक्कली प्रमाणपत्र बनाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट बिहीबार पक्राउ पर्नुभएका सांसद सुनील शर्मा शुक्रबार साँझ रिहा हुनुभएको छ । काठमाडौं जिल्ला अदालतले उहाँलाई थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति नदिँदा शर्मा रिहा हुनुभएको हो । सरकारी वकिलको कार्यालयले सांसद शर्मालाई थुनामा राखी अनुसन्धान गर्न म्याद मागे पनि अदालतले अनुमति नदिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दण्डपाणि शर्माको एकल इजलासले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्ने प्रहरीको अनुरोधलाई अस्वीकार गरेको हो । यो प्रकरणमा आठ जनालाई ब्युरोले पक्राउ गरे पनि शर्मालाई भने रिहा गर्न आदेश दिएको हो । अन्य अभियुक्तविरुद्ध भने पाँच दिनको म्याद थप भएको बताइएको छ ।

सांसद शर्मालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय काठमाडौंमा लैजाने क्रममा तनाव भएको थियो । कांग्रेस नेतासमेत रहनुभएका शर्माका समर्थक र प्रहरीबीच धकेलाधकेलका साथै तनावको स्थिति बनेको थियो । समर्थकहरूले सुनीलमाथि दुव्र्यवहार भएको भन्दै नाराबाजी गरेका थिए । शर्माले सरकारी वकिलको कार्यालयबाहिर निस्कने क्रममा समर्थकलाई आफूमाथि दुव्र्यवहार भएको बताउनुभएको थियो ।

सिआईबीको हिरासतबाट रिहा हुने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आफूले न्याय पाएको भन्दै धेरै मान्छेले न्याय पाउनपर्ने बताउनुभयो । ‘आज न्याय मैले पाएको छु । धेरै मान्छेले न्याय पाउनपर्छ,’ शर्माले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?