बाँदर र बँदेल आतंक नियन्त्रण गर्न गुल्मी कांग्रेसमा छलफल

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मी कांग्रेसको बैठकमा वन्यजन्तुको आतंकबाट किसानहरु ठूलो पीडामा परेको भन्दै छलफल भएको छ । नेपाली काँग्रेसको केन्द्रीय समितिद्वारा सञ्चालित ‘विशेष आन्तरिक अभियान’ यस जिल्लामा शुभारम्भ गर्न भएको बैठकमा बाँदर र बँदेल लगायतका वन्यजन्तु नियन्त्रण सम्बन्धि व्यापक छलफल भएको प्रवक्ता उदयबहादुर थापाले जानकारी दिनुभयो ।

किसानको उत्पादन बाँदर र बँदेलबाट जोगाउन अनिवार्य छ । अन्य देशहरुमा जनावरले कृषि क्षेत्रमा समस्या उत्पन्न गराउँदा नियन्त्रणका लागि अपनाइएका विधिहरु नेपाल सरकारले समेत अवलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको छ । किसान र उनीहरुको उत्पादन जोगाउन नेपाल सरकारले बाँदर र बँदेल आतंकलाई अविलम्ब नियन्त्रण गर्नुपर्छ भनी गुल्मी काँग्रेसले नेपाल सरकारलाई पत्र पठाउने भएको प्रवक्ता थापाले बताउनुभयो ।

गुल्मीसहित देशका गाउँहरुमा बाँदर र बँदेल लगायतका वन्यजन्तुको आतंकबाट किसानहरु ठूलो पीडामा छन् । कृषि उत्पादन बढाउन कृषकहरुलाई उत्साहित गर्नुको साटो उत्पादन संरक्षण गर्ने वातावरण समेत तयार नहुनु दुःखद भएको भन्दै वन्यजन्तुको आतंक नियन्त्रण गर्नु निर्विकल्प रहेको सभापति खिलध्वज पन्थीले बताउनुभयो ।

किसानहरुको कृषि पेशामै आकर्षण राखी राख्न, कृषिजन्य आयात घटाउन, अनियन्त्रित बसाइ सराइ निरुत्साहित गर्न र विदेशिएका युवालाई स्वदेशमै आफ्नै माटोमा कर्म गर्न प्रोत्साहित गर्न वन्यजन्तुको आतंक नियन्त्रण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, नेपाली काँग्रेस केन्द्रीय समितिद्वारा सञ्चालित ‘विशेष आन्तरिक अभियान’ लाई यस जिल्लामा सफल बनाउन प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति र पालिका कार्यसमितिका बैठक सम्पन्न गर्नका लागि कार्यतालिका बमोजिम जिल्ला प्रतिनिधि समेत खटाइएको सचिव भगत सिंह खड्काले जानकारी दिनुभयो ।

बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु गंगा शाही, अब्दुल सत्तार, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेश सदस्यहरु विष्णुकुमारी सापकोटा, सुवास केसी, लक्ष्मण पन्थी लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?