एपिएफलाई हराउँदै आयोजक फाइनलमा 

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै आयोजक किंग्स क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको खेलमा किंग्सले एपिएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । किंग्सले २५–१८, २५–२२ र २६–२४ अन्तरले जित हात पारेको हो । अब उपाधिका लागि किंग्सले नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।

गण्डकी प्रदेशमाथि प्रतिस्पर्धात्मक जित निकाल्दै पुलिसले फाइनलमा स्थान बनाएको हो ।

पुलिस गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । पहिलो सेट पुलिसले २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस २६–२४ ले विजयी भयो । तेस्रो सेट २५–२२ ले जित्दै गण्डकीले खेलमा फर्कने संकेत दिएको थियो । तर, चौथो सेट पुलिसले २५–२१ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनायो ।

नेपाल भलिबल संघको स्वीकृतिमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग गरेको छ । प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कारतर्फ मात्र चार लाख रकम खर्च हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख दुई हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले एक लाख एक हजार नगद प्राप्त गर्नेछ । तेस्रो हुनेले नगद ५० हजार पाँच सय र सान्त्वनाले २२ हजार दुई सय प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले आठ हजार नगद पुरस्कार पाउनेछ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही तीन हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?