बंगलादेशी नागरिकहरूलाई बन्धक बनाई फिरौती असुल्नेहरू पक्राउ

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । बंगलादेशी नागरिकहरूलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका सात व्यक्ति पक्राउ परेका छन् । बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा बंगलादेश गाजिपुरका ४७ वर्षीय अमिर हुसेन, बंगलादेश बरिसालका ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बंगलादेशी नागरिक ३८ वर्षीयसलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली, बंगलादेशी नागरिक २१ वर्षीय जहांगीर आलम, काठमाडौं हाडिगाउँ बस्ने बंगलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई रहेका छन् । 

गिरोहले वैदेशिक रोजगारीमा लाने भन्दै बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानहरूमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो । कार्यालयले बन्धक बनाइएका ६ जना बंगलादेशी नागरिकलाई उद्वार गरेको समेत पत्रकार सम्मेलनमा जानकारी दिएको छ । 

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार प्रहरी परिसर काठमाडौं पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिनुभयो । 

पीडितहरूमध्ये कालिमाटी टोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडी नाजमुल, एमडी इयासिन, इब्राहिम हुसैन र एमडी अल अमिनलाई उद्धार गरिएको छ । त्यस्तै,  हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट सात नेपाली बालबालिकाको उद्धार

नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ । विगत छ वर्षदेखि मानव बेचविखनविरुद्ध कार्यरत सामाजिक संस्था केआइएन इण्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो । 

दार्चुलाकी १५ वर्षीया, पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक, महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो । ती बालबालिका विभिन्न बहाना तथा प्रलोभनमा भारत पुर्याइएको थियो । एकदेखि ६ महिनाको अवधिमा हराएका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको हो । 

बालबालिकाको उद्धार र स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न संस्था केआइएनका निर्देशक नवीन जोशीका अनुसार ती बालबालिकामध्ये तीनजना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहवरमा पारिवारिक पुनर्मिलन गराइएको छ । एक बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ । तीन बालिकालाई रूपन्देहीको एक आवासगृहमा राखिएको छ । बालबालिका भारतसम्म के कसरी पुगे भन्नेबारे थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवासगृहमा राखिएको हो । उद्धार गरिएकामध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिँडेको र दिल्लीको मेट्रो स्टेसनमा फेला पारिएको केआइएनका निर्देशक जोशीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पाल्पाकी बालिकालाई लागुऔषध प्रयोगकर्ताले सीमा नाकामा भएको चेकजाँचमा बुहारी भनेर झुक्याएर भारत पुर्याएका थिए । ती बालिकालाई रेलवे स्टेसनबाट उद्धार गरिएको हो । पर्साकी बालिका दिल्लीमा खोजतलास गर्ने क्रममा खाली कोठामा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको थियो । चारैजना बालकलाई दिल्लीबाट उद्धार गरिएको केआइएनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?