उत्कृष्ट लघु उद्यमीहरू पुरस्कृत

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । स्वावलम्बन विकास केन्द्रको ३२औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट लघु उद्यमी र उत्कृष्ट लघुवित्त पुरस्कृत भएका छन् । संस्थाले तीन विधामा पुरस्कार तथा विभिन्न विधामा सम्मानपत्र प्रदान गरेको हो । आइतबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा लघुवित्त अभियन्ता तथा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठको सम्मानमा स्थापित शंकरमान श्रेष्ठ लघुवित्त पुरस्कारबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पुरस्कृत भएको छ । गत वर्ष लघुवित्तको मर्म र भावनाअनुसार लक्षित वर्गमाझ उत्कृष्ट वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गरेबापत उक्त संस्थाले दुई लाख नगद पुरस्कार प्राप्त गरेको हो । नेपालभरिका लघुवित्त तथा सहकारी संस्थामध्ये उत्कृष्ट संस्थालाई यस्तो पुरस्कार प्रदान गरिन्छ ।

त्यसैगरी २०६९ सालको उत्कृष्ट लघु उद्यमी सदस्य पुस्कारबाट स्वावलम्बन लघुवित्तकी सदस्य चुलाचुली ४ इलामकी बविता मारेम्लुङ, युनिक नेपाल लघुवित्तकी सदस्य बर्दिया निवासी फूलकुमारी थारु र उपकार लघुवित्तकी सदस्य राप्तीसोनारी बाँके निवासी प्रेमकुमारी वली पुरस्कृत भएका छन् । पुरस्कृतमध्ये फूलकुमारी र प्रेमकुमारी कृषि उद्यमी हुनुहुन्छ भने मारेम्लुङ कपडा व्यवसायमा सफल र उदाहरणीय उद्यमी हुनुहुन्छ । उनीहरू जनही २५ हजार र प्रमाणपत्रबाट सम्मानित भएका हुन् ।

त्यस्तै, २०६९ सालको उत्कृष्ट लघु उद्यमशीलता विकास पुरस्कारबाट सहारा नेपाल बचत तथा ऋण सहकारी पुरस्कृत भएको छ । एक लाख राशिको पुरस्कार हरेक वर्ष लघुवित्त सदस्यमाझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गर्ने एउटा संस्थालाई प्रदान गरिन्छ ।
शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बनोत्सर्जनको अवधारणा अनुरूप तीन शून्य क्लबको प्रवद्र्धन र गठनमा उत्कृष्ट काम गरेकोमा जीवन विकास लघुवित्त र तीन शून्य क्लब प्रवद्र्धन र गठनमा उत्कृष्ट सहयोगी व्यक्ति जीवन विकास लघुवित्तकै तालिम विभाग प्रमुख रञ्जना निरौलालाई प्रशंसापत्र प्रदान गरिएको छ । स्वावलम्बनले आफ्ना लघुवित्त सदस्य संस्थासँगको सहकार्यमा रैथाने ज्ञान, सीप, संस्कार, संस्कृति तथा साधन र स्रोतको जगेर्ना र परिचालन गरी वातावरणमैत्री समुदायको निर्माण गर्न एवं जलवायुजन्य जोखिममा रहेका गरिब परिवारलाई उद्यमी बनाउन वातावरणमैत्री स्वावलम्बन गाउँ विकास कार्यक्रम सञ्चालन गरेको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे ३ धार्पा गाउँलाई वातावरणमैत्री स्वावलम्बन गाउँ बनाउन उदाहरणीय कार्य गरेकोमा मानुषी लघुवित्त पनि सम्मानित भएको छ भने लघुवित्त सदस्यको उत्पादनको बजारीकरण मूल्य शृंखलामा काम गरी उनीहरूका उत्पादनको उच्च मूल्य प्रदान गर्ने उद्देश्यले ग्रिन सप ब्राण्डमा नेपाल महिला सामुदायिक सेवा केन्द्र प्रालि स्थापना गरी उदाहरणीय कार्य गरेबापत दाङको नेपाल महिला सामुदायिक सेवा केन्द्रलाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, केन्द्रका उपाध्यक्ष महेन्द्रकुमार गिरी, संस्थापक सदस्य डा. सुमित्रा मानन्धर गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?