लम्पी स्किनविरुद्धको खोपमा कालोबजारी

हिमालय टाइम्स
Read Time = 5 mins

नन्दराम जैशी/हिटा
सुर्खेत । पशुचौपायामा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोपमा कालोबजारी भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले अधिकतम एक सय ४० रुपैयाँ पर्ने खोप खरिद गर्दा दुई सय १० रुपैयाँ भुक्तानी गरेको हो । संघीय सरकारअन्तर्गत रहेको पशु सेवा विभागका अनुसार खोपको अधिकतम मूल्य (एमआरपी) एक सय ४० रुपैयाँ मात्र हो । तर, प्रतिखोप ७० रुपैयाँ बढी लिएर वनदेवी एग्रोभेट फर्मा काठमाडौंले कर्णाली प्रदेश सरकारलाई बेचेको छ । मन्त्रालयले खरिद गरेको दुई हजार पाँच सय खोपको मूल्य एक सय ४० रुपैयाँका दरले तीन लाख ५० हजार हुन आउँछ तर वनदेवी एग्रोभेटले एक लाख ७५ हजार रकम बढी लिएपछि मन्त्रालयले पाँच लाख २५ हजार भुक्तानी गरेको छ ।

मन्त्रालयका पशुपक्षी विकास महाशाखा प्रमुख प्रचण्ड खड्काका अनुसार खोप खरिदका लागि कर्णाली प्रदेशका सातवटा जिल्लालाई पाँचदेखि आठ लाखसम्म गरी कुल ४० लाख रकम बाँडिएको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले अधिकतम एक सय ४० रुपैयाँ पर्ने खोप खरिद गर्दा दुई सय १० रुपैयाँ भुक्तानी गरेको हो ।

महाशाखा प्रमुख खड्काले भन्नुभयो, ‘सुरुमा खोप बिक्रीका लागि अन्य एग्रोभेटले अनुमति लिएका थिएनन् । खोप पाउन पनि मुस्किल थियो । हामीले वनदेवी एग्रोभेटबाटै खोप खरिद गर्‍यौँ, वनदेवीले प्रतिखोप दुई सय १० रुपैयाँका दरले बिल पठाएपछि हामीले सोहीअनुसार भुक्तानी गरेका हौँ ।’ कर्णालीस्थित पशुपन्छी विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म १६ हजार नौ सय २६ खोप लगाइएको छ । जसमध्ये कतिपय स्थानमा पालिका आफैंले पनि खोप किनेका छन् । कर्णालीमा खरिद भएको १६ हजार नौ सय २६ खोपमा वनदेवी एग्रोभेट फर्माले ११ लाख ८४ हजार आठ सय २० रुपैयाँ बढी लिएर कालोबजारी गरेको देखिन्छ ।

कुन जिल्लामा कति खोप ?
कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म लम्पी स्किनविरुद्धको १६ हजार नौ सय २६ खोप पशुचौपायालाई लगाइएको छ । जसमध्ये हुम्लामा एक हजार पाँच सय २५, डोल्पामा दुई हजार आठ सय ५०, मुगुमा तीन हजार नौ सय ५०, जुम्ला पाँच सय, कालिकोट एक हजार सात सय ६९, दैलेख छ सय २० र सुर्खेतमा दुई हजार आठ सय ५७ खोप लगाइएको पशुपन्छी विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
त्यस्तै, सल्यानमा एक हजार दुई सय पाँच, रुकुम पश्चिममा एक हजार एक सय ७५ र जाजरकोट जिल्लामा चार सय ७५ खोप लगाइएको तथ्यांकमा उल्लेख छ ।

११ हजार छ सय ३८ पशुचौपाया मरे
कर्णाली प्रदेशमा लम्पी स्किनका कारण हालसम्म ११ हजार छ सय ३८ पशुचौपाया मरेका छन् । मर्ने पशुचौपायामा बाच्छा/बाच्छी, गाई/गोरु, भैंसी र चौंरी रहेका छन् । कुल दुई लाख ३८ हजार दुई सय एक पशुचौपायामा लम्पी स्किनको संक्रमण हँुदा एक लाख ६९ हजार सात सय १२ पशुचौपायालाई उपचार गरिएको छ । मर्ने पशु चौपायामध्ये हुम्लामा दुई हजार एक सय २५, डोल्पामा सात सय २३, मुगुमा दुई सय ४८, जुम्ला पाँच सय ७४, कालिकोटमा एक हजार पाँच सय १३, दैलेखमा छ सय ३७ र सुर्खेतमा एक हजार तीन सय ६४ पशुचौपाया मरेको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ । त्यस्तै, सल्यानमा एक हजार ३५ र रुकुम पश्चिममा पाँच सय ४२ र जाजरकोटमा दुई हजार आठ सय ७७ पशुचौपाया मरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?