कक्षा १२ को नतिजा गत वर्षभन्दा सुधार

झण्डै सात हजारले ल्याए ३.६१ देखि ४ जिपिए, एक लाख ८२ हजार विद्यार्थीको आयो ननग्रेड

डिबी शर्मा
Read Time = 5 mins

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजामा सुधार आएको छ । माथिल्लो जिपिए ल्याउने विद्यार्थीको संख्यासँगै समग्र नतिजामा समेत सुधार आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माथिल्लो जिपिए ल्याउन विद्यार्थीको संख्या बढेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो । यस वर्ष करिब ५१.९१ प्रतिशत ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ३ प्रतिशतले सुधार भएको बोर्डको दाबी छ । गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । त्यस्तै, ४९.०९ प्रतिशत भने ननग्रेडेड भएको बोर्डले जनाएको छ ।
उहाँका अनुसार कक्षा १२ को परीक्षामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जिपिए ल्याएका छन् । गत वर्षभन्दा यस वर्ष ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् । गत वर्ष चार हजार १७९ विद्यार्थीले उक्त जिपिए ल्याएका थिए । ३.२१ देखि ३.६० जिपिए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ । यस्तै एक लाख ८२ हजार ९२६ विद्यार्थीले ननग्रेडेड (एनजी) ल्याएका छन् । यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डले जनाएको छ । गत वर्ष एक लाख ८८ हजार ४१० विद्यार्थीले एनजी ल्याएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरूले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् । पुनः ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

कक्षा १२ को परीक्षा गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालन भएको थियो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी परीक्षामा सामेल भएका थिए । बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते, सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेडेड
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा ननग्रेड (एनजी) ल्याउने विद्यार्थीका लागि असोज ६ र ७ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । दुई विषयसम्म ननग्रेड ल्याएका एकलाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालले बताउनुभयो । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार ५८४ छ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा ननग्रेड भएका छन् । अंगे्रजी विषयमा एक लाख नौ हजार ५२७ जना ननग्रेड भएका हुन् । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५०० रुपैयाँ तिरेर नतिजा पुनर्याेग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन पनि सक्ने परीक्षा नियन्त्रक अर्यालले बताउनुभयो । पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेका भन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने र तीन जनाले दिएको नम्बरको औसत निकाल्ने गरिन्छ । यसरी आएको प्राप्तांक पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अंक कायम हुनेछ । १० प्रतिशत भन्दा बढी कम वा बढी भएमा नयाँ अंक कायम हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?