प्रधानमन्त्रीलाई एमाले अध्यक्ष ओलीकाे चेतावनी : भेट्न बोलाएर दोषी देखाउनेगरी दिएको अभिव्यक्ति आफूलाई सैह्य हुँदैन

Read Time = 11 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानवीनमा प्रधानमन्त्री पुष्पकमल दाहालको निष्पक्षतामाथि प्रश्न उठाउनु भएको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कसैलाई बचाउने र कसैलाई फसाउने नियतका साथ ‘म कसैलाई छोडदिन’ भन्ने अभिव्यक्ति दिएको जिकीर गर्दै त्यसलाई सफल हुन नदिइने चेतावनी समेत दिनु भयो । आईतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले कसले छोड्न दवाव दिएको हो ? प्रष्ट पार्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराउनु भयो । आफूले र आफ्नो पार्टीले सो प्रकरणका दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरालाई किन्चित तलमाथि नगर्ने प्रष्टयाउँदै ओलीले सो प्रकरणमा एमालेलाई फसाउने षडयन्त्र नगर्न पनि सचेत गराउनुभयो ।

प्रधानमन्त्री दाहालले शनिबार (हिजो) ओलीसँगको भेटपछि आफूले कसैलाई पनि नछोडने अभिव्यक्ति दिनु भएको थियो । त्यसप्रति ओलीको आपत्ति छ । आफूलाई भेटन बोलाएर आफैलाई दोषी देखाउनेगरी प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्ति आफूलाई सैह्य नहुने ओलीको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘यस भित्र कुन–कुन तत्व प्रवेश गरेको छ ? खोजी गरोस् न सरकारले । त्यसको छानवीन गरेर नतिजा निकाल्ने होइन । हिउँदको महिनामा मलाई बाटोमा पु-याएर माइतीघर मण्डलामा बसाएर यिनी त्यहाँ चिसोमा बस्न पुगे भनेर मजाक उडाउनेहरुलाई चखाउँछु भनेर हिजो भने । पुष्पकमल दाहालजी के बोलेको त्यो ? छानवीन गरौं न पुष्पकमल दाहाल । कसलाई धम्क्याएको ? टेलर हो भनेर । सार्वजनिक गरिन्छ भनेर । म माननीयजीहरुलाई भन्न चाहन्छु–पुष्पकमल दाहाल, चोरले उल्टै हप्क्याई दब्क्याई गर्छ भन्ने हिन्दी भनाई छ । छानवीन गर्न छोडेर मलाई चाँही चिसो भुईँमा बस्ने पठाउने भनेर भन्ने । हामीले पठाएको हो ? उनी आफैं गएका होइनन् । चिसो भूईँमा बस्यो भनेर मेरो खिल्ली उडाउनेहरुलाई देखाईदिन्छु । यसको छानवीन गर्नु पर्छ कि देखाई दिन्छु भन्ने ? के देखाई दिन्छु भन्या ? म प्रधानमन्त्रीजीलाई भन्नु चाहन्छु चुनौतिका साथ देखाउनुस, के देखाउनु हुन्छ देखाउनुस । कोही दोषी छन । दोषीमाथि कारबाही हुनुपर्छ भन्ने कुरामा नेकपा एमाले किन्चित तलमाथि गर्दैन । दृढ छ कारबाही हुनुपर्छ भन्ने कुरामा । जो निर्दोष छ । उसलाई फसाउन खोजियो भने, हामीलाईं ३२ सिटे भन्ने ? देखाउँछु भनेको के ? सरकारले काम गर्ने हो । अनि फाईफूर्ति गर्ने हो ? यो छानवीन गर्ने प्रचण्डको कुनै पुरुषार्थ हो । यो त भदौं २२ गते हामीले आवाज उठाएको हो । राष्ट्रियसभामा हामीले आवाज उठाउन सुरु गरेका हांै । अनि, हामीले भदौदेखि आवाज उठाएको नसुनेर त्यतिखेर देखिनै छानवीन गर्नु पर्दैन थियो । ? अनि आफैंले के के गर्न खोजेजस्तो । कसैलाई छोडदिन । पुष्पकमल दाहालले छोडने हो उनीहरुलाई । उनको खुशीको कुरा हो छाडने र नछोडने ? दोषी भए मैनै छुडदिन कानुनले छोडदैन । को हुन पुष्पकमल दाहाल, कसैलाई छोडदिन भन्ने ? के भनेको त्यो ? म झुक्दिन, दवावमा पर्दिन । कसले दवाव दियो ? मलाई बोलाएर भेटने, विभिन्न विषयमा कुरा गर्ने । अनि म निस्किएपछि कसैको दवावमा पर्दिन भनेर किन फुई लगाएको ? म प्रचण्डजीलाई भन्न चाहन्छु–पछि हट्नुस कसले भन्यो, झुक्नुस् कसले भन्यो, दवावमा पर्नुस कसले भन्यो, कसले दवाव दियो ? मैले उहाँलाई कसैलाई बचाई दिनुस, छानवीन नगरिदिनुस, कसैलाई छोडिदिनुस भने ? मैले त भनेको छु–कडाईका साथ छानवीन गर्नुस्, कारबाही गर्नुस् । तर जसरी एमालेको बारेमा क्याम्पियन चलाउन खोजिएको छ । एमालेलाई अनुचित ढंगले घचेटन खोजिदैछ । व्यक्ति दोषी होला कोही । म जान्दिन । छ, छैन पछि तथ्यहरुले बताउँला । तर एमालेलाई जसरी घचेटन खोजिएको छ । त्यो दुष्प्रयास कसैले पनि नगरे हुन्छ । हिजो पुष्पकमल दाहालको अभिव्यक्ति र चेहरामा ज्याउलहक झल्किन्थ्यो । मलाई ताजुक लाग्यो–के को फूर्ति गरेको हो ? कसैलाई छोडदिन भन्या छ । प्रधानमन्त्रीले छोडने र नछोडने हो र । कानुनले, तथ्य प्रमाणले छोडने ुर नछोडने होला नि । म झुक्दिन भन्या छ । यसको छानवीन प्रधानमन्त्रीले गर्ने हो र । कसलाई बचाउ, कसलाई फसाउ । यसखालका कुरा उठेको छन भने त्यो सफल हुन दिइनेछैन । अहिले बडो पपुलर हुनका लागि भ्रष्टाचार विरोधी ? म धेरै कुरा विगतका सम्झन चाहन्न । अहिले भईरहेका कतिपय कुराहरुको पनि चर्चा गर्न चाहन्न । त्यसकारण छानवीनको निष्पक्षतामा म सरकारी मेकानिजममाथि सन्देह गरिराखेको छैन । प्रधानमन्त्रीको जस्तो अभिव्यक्त आयो, शंकारहित भएर बस्न सकिने अवस्था देखिदैन । अर्को कुरा, केही तत्वहरु, जो एमालेको विरुद्ध छन । एमालेले विकासको लहर ल्याउँदा पनि तिनको मन पोल्छ ।’

अध्यक्ष ओलीले सो प्रकरणमा एमालेलाई फसाउने प्रयास नगर्न पनि चुनौति दिनु भयो । उहाँले वर्तमान सरकारजस्तो प्रतिपक्षी विरोधी सरकार आफूले ५८ वर्षको आफ्नो राजनीतिक जीवनमा कहिल्यै नदेखेको आरोप समेत लगाउनु भयो । अहिलेसम्म सरकारले केही पनि गर्न नसकेको उहाँले दावी गर्नु भयो ।

अध्यक्ष ओलीले भन्नु भयो, ‘सरकार भनेको के हो ? सरकारले के काम गर्नु पर्दछ ? सरकारले राजनीतिलाई सही ढंगले, लोकतान्त्रिक ढंगले अघि बढाउनु पर्दछ । यस राजनीतिक प्रणालीको प्रभाव, प्रतिष्ठा बढनेगरी, राजनीतिक प्रणालीको रक्षा हुने गरी, त्यसलाई सुदृढ गर्नेगरी सरकारले काम गर्नु पर्दछ । अहिलेको सरकारको यस हिसावले हेर्दा के छ त ? स्थिरताको पक्षमा छ त भन्दा अस्थिरताको कारक नै अहिलेको सरकार । अरु हामीले स्थिरतातर्फ के छ भन्दा मंसीर ४ मा चुनाव भयो । अहिलेसम्म, आज हामी बैशाख २४ गतेमा पुगेका छौं । यी बितेका महिनाहरुमा अहिलेसम्म सरकार परिवर्तन, यो स्थानीय तहमा परिवर्तन गर्न नमिल्ने भएको हुनाले नत्र भने स्थानीय तहमा पनि यहीँ खेल चलिरहन्थ्यो । यिनीहरुले यही खेलो चलाई रहन्थे । प्रदेशमा त्यही खेल चलाईराखेका छन–सरकार गठन, परिवर्तन । देशका लागि होइन आफ्ना लागि काम गर्ने । त्यही काम गरिराखेको छ । केन्द्रमा २ महिनामा सरकार परिवर्तन हुन्छ । कोही छोडदैछन । कोही भर्ती हुँदैछन । अस्तीका दिन मात्रै पनि एउटा घटकले सरकार छोड्यो । अलिक दिन अघि अर्को घटकले सरकार छोड्यो । अस्तीको दिन होला सायद, २१ गते होला सायद ३ जना मन्त्री बल्ल थपिए । अझै सरकारले पूर्णता पाएको छैन । सरकार गठन हुन सकेको छैन । सरकारले पूर्णता पाउन सकेको छैन । १०/१० वटा पार्टीले सरकार बनाउन सक्दैन भने अरु के काम गर्छ ? गर्न सक्छ ? गठबन्धन पनि कति हो ? टुंगो छैन । कहिले ४ भन्छन् । कहिले ८ भन्छन् । कहिले नौं भन्छन् । कहिले १० भन्छन् । यो भन्दा राजनीतिक तमासा देशमा के हुन्छ ? यो राजनीतिक रुपले अस्थिरताको कारक भएको छ सरकार र सत्ताधारी दलका नेतृत्व । यो अस्थिरताको कारण उनीहरु नै हुन । जनताको पक्षमा केही काम भएको छ त ? कतै बाटो बनेको छ ।, कतै पुल बनेको छ, कतै विद्यालय बनेको छ ? कतै केही भएको छ ? केही पनि गरेको छैन । हामी हेरिराखेका छौं । विचित्रको स्थिति छ । जनता रनभुल्लमा छन । म आश्चय चकित भए यसमा । मैले जीवनमा, यति ५८ वर्ष राजनीति गर्दा यस्तो सरकारी रवैया, यति निकम्मा र प्रतिपक्ष विरोधी, त्यो मैले कहिल्यै पनि अनुभूति गरेको थिइन । राजनीति यस्तो छ ।’

अध्यक्ष ओलीले भ्रष्टाचार विरुद्धको मुद्धामा कडा ढंगले प्रस्तुत हुन पनि पार्टीका सांसदलाई निर्देशन दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?