सयभन्दा बढीले ज्यान गुमाए हवाई टापुको डढेलोमा

‘मृतकको संख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने’

Read Time = 2 mins

लहाइना । हवाई टापुको माउई जंगलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा १०६ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको संख्या दोब्बर वा तेब्बरले बढ्नसक्ने बताउनुभएको छ । अघिल्लो मंगलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ । बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्थाको सामना अमेरिकी जनताले गर्नुपरेको थिएन ।

विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् । अस्थायी मुर्दाघर वरपर मृतकका अस्थिपञ्जरको संकलन जारी छ । आगोले खरानी नपारेका भग्नावशेषमा मृतकको खोजी जारी छ । हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दै छ । त्यसैले मृतकको संख्या दुईभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एकजना अधिकारीले बताएका छन् ।

१२ हजार हवाईवासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन । नगरको मध्यभागमा रहेको १५० वर्ष पुरानो वरको रूख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रूखका फल पनि डढेका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन बाँकी छ । क्षति मूल्यांकन निकायका अधिकारीले परिस्थिति सहज हुने वित्तिकै क्षतिको मूल्यांकन गरिने बताएका छन् । आगालागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन् । केही स्थानमा क्षतिको आकलन थालिएको छ । रासस/एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?