२२ औँ आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औँ आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्नुहुने भएको छ । आगामी अगष्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२औँ आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप हुँदैछ । जहाँ नेपालका समान दुई पुरुष र महिला खेलाडीले फाइटतर्फ प्रतिस्पर्धा गर्नुहुनेछ ।

महिला ४७ केजी तौल समूहमा रुविका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिस्पर्धा गर्नुहुनेछ । पुरुषमा भने पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौल समूहमा नेपालका तर्पmबाट चुनौती प्रस्तुत गर्नुहुनेछ । रुविकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जित्नुभएको थियो ।

विश्व च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षकमा रूप सिं मोक्तान र टिम अफिसियलमा घमबहादुर थापा र विक्रम बाठामगर हुनुहुन्छ । नेपाल आइटिएफ महासंघका निवर्तमान अध्यक्ष एवं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अञ्जन धमला नेपाली टोलीको प्रमुख हुनुहुन्छ । एसियाली आइटिएफ महासंघका कार्यकारी सदस्य तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यसमेत रहनुभएका धमलाले उक्त विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नुहुनेछ ।

काजकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने आठ सदस्यीय नेपाली टोलीलाई बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाइ गर्नुभएको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्लो समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?