म्याग्दी । ढकमक्क फूल फुल्ने आँगन र लटरम्मै तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ । घर नजिकैका पानीका धारामा कमिला डुल्दछन् । पिँढीमा हरियो ढुँसी देखिन्छ । रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन् । छानो भत्किएको छ, घरको धुरीबलो र झ्याल ढोका मक्किएका छन् ।
बेनी–दरबाङ सडकसँगै म्याग्दी नदीको माथिल्लो पट्टी रहेको रातोढुङ्गा गाउँको यो दृश्यले देख्नेहरुको मन कटक्क खान्छ । रुमका टल्कने स्लेट ढुङ्गाले छाएको,सडक र यातायात लगाएतका सम्पूर्ण विकासका पूर्वाधारहरुले छोएको,मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि तीन किलोमिटरको दुरीमा रहेको, कौसी र बाह्रतली सहितका सुन्दर घर भएको यो गाउँ अहिले खण्डहरमा परिणत भएको छ ।
पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारदेखि नजिकै रहेको,मालिका गाउँपालिका ६ मा पर्ने रातोढुङ्गा गाउँमा अहिले न आगो बल्छ न उज्यालो । कैयौँलाई पाले, हुर्काएका घरहरु अहिले आदिम गल्लीजस्ता सुनसान र डरलाग्दा खण्डहरमा परिणत भएका छन् ।
आजभन्दा एक दशक अघिसम्म हराभरा रहेको रातोढुङ्गा गाउँ अहिले पुरै उजाडिएको छ । बेनी–दरबाङ सडकको माथिल्लो र तल्लो पट्टी पक्की घर बनेर व्यापार व्यवसाय चलेको छ । तर सडकदेखि १५ मिटर तल्लोपट्टी म्याग्दी नदीको किनारामा रहेको रातोढुङ्गाका सातवटा चिटिक्कका ढुङ्गेघरहरु मानव विहीन बनेका छन् । भत्किनै लागेको अवस्थामा देखिने ती घरहरु खण्डहरमा परिणत भएका स्थानीय विकल सेनले बताउनुभयो ।
भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण शहर र मधेस झरेपछि गाउँ रित्तिँदै गएको हो । बसाइँ सराइ अहिले रातोढुङ्गाको मात्रै नभएर म्याग्दी जिल्लाको नै मुख्य चुनौती बनेको छ । आर्थिक, सामाजिक, राजनीतिक रुपमा सबल र सचेत भएर पनि गाउँले किन चरम बसाइँ सराइ भोगिरहेको छ त ? शिक्षक सेनको बुझाइ छ, मानिस सुविधाभोगी भए पछि गाउँले यस्तो नियति भोगेको हो ।
“छोराछोरी सुविधा भएको ठाउँमा बस्न खोजे, सुविधाको खोजीले यस्तो भएको हो”, शिक्षक सेनले भन्नुभयो “कति बाध्यताले बसाइँ सरे,कतिले रहरले शहर रोजे । परिणाम गाउँहरु उजाडिदै गए,वस्तीहरु रित्तिदै गए ।”
“रातोढुङ्गा गाउँका नौ घर परिवार गाउँ नै छोडेर शहर पसेका छन् भने कतिपय सडकको छेउमा पक्कीघर बनाएर वसेका छन्” रातोढुङ्गा पारीको कुरसिम्ला गाउँकी मनकुमारी पुनले बताउनुभयो ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा बढीजसो शहरी क्षेत्रमा बसाइँ सराइ गर्ने गरेको मालिका गाउँपालिका वडा नं ६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । “थकालीहरुको वस्ती रहेको रातोढुङ्गा गाउँका सबै घरहरु रित्ता भएका छन्,त्यहाँका सात घरपरिवार थकालीहरु बसाइँसराइ गरेर काठमाण्डौ,पोखरा गएपछि गाउँको अवस्था त्यस्तो भएको हो” वडाअध्यक्ष रोकाले बताउनुभयो । व्यक्तिको आर्थिक हैसियतअनुसार बसाइँ सराइको प्रवृत्ति निर्धारण हुने गरेको उहाँको भनाइ छ ।
वडा कार्याल्यमा बसाइँ सराइको कागज बनाउन आउनेहरुको संख्या बढ्दै गएको उहाँले बताउनुभयो । अधिकांशले घरजग्गा बेचेर औपचारिक बसाइँ सराइ नगरी त्यसै रित्तो र बाँझो छाडेर अन्यत्र गइरहेका पनि उहाँले जानकारी दिनुभयो ।
रातोढुङ्गाको मात्रै होइन पश्चिम म्याग्दीका अधिकांश गाउँहरु रित्तिदै जान थालेका छन् । जिल्लाको देविस्थान,रुम,विम, धवलागिरि गाउँपालिकाका मुना,मुदी,ताकम,मराङ लगाएतका गाउँहरुबाट बाहिरिनेहरुको संख्या वर्षेनी बढ्दै जान थालेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
यहाँका प्रत्येक घरबाट छोराछोरी, बुहारी अमेरिका,जापान,अष्टे«लिया,क्यानडा लगाएतका मुलुकमा पुगेका छन् । अन्य तेस्रो मुलुक र भारतीय सेनामा कार्यरतको संख्या पनि उत्तिकै छ । पैसा कमाउने मोहले पनि युवालाई गाउँ बिर्सन बाध्य पारेको दरबाङका समाजसेवी हिरा बहादुर पुन बताउनुहुन्छ ।
“पैसा कमाउने, राम्रो ठाउँमा सुविधा लिएर बस्ने सोच सबैमा छ”, उहाँले भन्नुभयो “गाउँमा दुःख र परिश्रम गरेर कोही बस्न चाहन्न ।” कतिपयले त घरजग्गा त्यत्तिक्कै छोडेर गएको उहाँको भनाइ छ ।
प्रायःले विदेश गएर पैसा कमाउने र शहरबजारमा घरघडेरी जोड्ने उद्देश्य राख्ने गरेका छन् । गाउँ छोडेर शहर रोज्नुको अर्को मीठो बहाना छ, बालबच्चाको भविष्य । गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सके बसाइँ सराइलाई कम गर्न सकिने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको बुझाइ छ ।
“गाउँलाई समृद्धिमा लाने र स्वरोजगारको वातावण सिर्जना गरियो भने बसाइँ सराइलाई तुलनात्मक रुपमा घटाउन सकिन्छ” उहाँले भन्नुभयो ।
राज्य पुनःसंरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरे पनि विश्वस्त भइहाल्ने वातावरण बन्न नसकेको अधिकांशको भनाइ रहेको छ । समाज विकसित अवस्थामा पुगेमात्र बसाइँ सराइजस्ता समस्याको हल हुने दरबाङका बुद्धिजिबी सन्तोष सुवेदीले बताउनुभयो ।
“समाज उन्नत र विकसित भए मान्छेले आफ्नो थातथलो छोड्न चाहँदैन”, उहाँले भन्नुभयो “बसाइँ सराइँ घटाउन राज्यले योजना र कार्यक्रम बनाउनुपर्छ।”
बसाइँ सराइसँगै गाउँको उत्पादन पनि ह्वात्तै घटेको छ । खेतीयोग्य जमिन बाँझै पल्टिएका छन् । दैनिक उपभोग्य सामानका लागि बजारमाथि निर्भर रहनुपर्ने अवस्था छ । बसाइँ सराइ बढ्दै जाँदा त्यसले सामाजिक संरचनामा पनि प्रभाव पार्ने देखिन्छ । जिल्ला तथ्याङ्क कार्यालयसँग आन्तरिक बसाइँ सराइको कुनै लेखाजोखा छैन ।
जिल्लाको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला शहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको संख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
संघीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण भएसँगै जनसंख्या वृद्धिदर ऋणात्मक हुने अवस्थामा पुगेको सरोकारवालाहरुको भनाइरहेको छ ।
वि.स. २०६८ मा एक घर परिवारभित्र ४.०९ जना रहेकोमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजामा ३.६७ जना मात्र बस्ने गरेको देखिन्छ ।
ग्रामीण क्षेत्रबाट सुविधाको खोजीमा बाहिरिनेको संख्या उकालो लागेको जनगणना कार्यालय म्याग्दीका पूर्व–कार्यालय प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । “बसाइँसराइको अवस्था चिन्ताजनक छ, गाउँका घर खाली भएको अवस्थामा सहरबजारबाटै विवरण संकलन धेरै भएको छ” सापकोटाले भन्नुभयो । जिल्लाको ६ वटै स्थानीय तहमा समेत वि.स. २०६८ को जनगणनाअनुसार जनसंख्या कमी रहेको देखिन्छ।
म्याग्दीबाट भारतसहित तेस्रो मुलुकमा विदेशिनेको संख्या १० हजार सात सय १३ रहेको छ । जसमा पुरुष ८ हजार ८४३ र महिला १८ सय ७० रहेका छन् । २५ हजार ३७४ घरधुरी २९ हजार २४२ परिवार संख्याको बसोबास छ । ९५.८७ लैङ्गिक अनुपात, औसत परिवारको आकार ३.६७ र जनघनत्व ४७ रहेको छ ।
जिल्लाको कु्ल जनसंख्याको घरपरिवारमा अनुपस्थित अर्थात् विदेशमा अक्सर बसोबास गर्नेहरू ०.४९ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक छ।
पछिल्ला वर्षमा महिला समेत तेस्रो राष्ट्रमा रोजगारीका लागि जाने प्रतिस्पर्धा भएकाले महिला र पुरुषको जनसंख्याको अन्तर घट्दो रहेको छ। श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती छोराछोरीलाई लिएर बजार झर्ने गरेकाले ग्रामीण बस्तीमा जनसंख्या पातलिँदै गएको पाइएको छ ।
बसाइँसराईको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि विरानो बन्दै गएको समेत जनप्रतिनिधिको भनाइ छ। म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसंख्या रहेको जिल्लामा २०७८ को नतिजामा एक लाख सात हजार ३७२ जना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच