नेपाली गीत संगीतमा भाइरसको संक्रमण

हिमालय टाइम्स
Read Time = 11 mins

✍️ हरि उप्रेती

नेपाली साहित्य जगत्मा धेरै विधाहरू छन् जसमध्ये गीत संगीत एक सशक्त विधा मानिन्छ । विश्व समुदायलाई नेपाली साहित्यको परिचय दिलाउन एक सफल विधा नै गीत संगीत हो भन्दा अत्युक्ति नहोला । आज विश्वभर रहेका गीत संगीतप्रेमीहरू तिनै गीत संगीतका सिर्जनामा रमाउने र आनन्द लिने गर्दछन् । यसो भन्दै गर्दा सम्पूर्ण श्रोता, दर्शक एवं सर्जकहरूले सिर्जना कसरी सिर्जित हुन्छन्, संरचना कस्तो हुनुपर्दछ र सिर्जनामा कस्ता सूत्रहरू प्रयोग गरिन्छन् भन्ने कुरालाई ध्यान दिन आवश्यक छ ।

विशेषतः यहाँ गीत संगीतको कुरा भएकाले यहाँहरूलाई एकै छिन विषयवस्तुतर्फ मोड्न चाहन्छु । गीत भन्नासाथ अधिकांशले बुझ्ने परिभाषा भनेको भावात्मक अभिव्यक्ति नै हो तर गीतको अर्थ र परिभाषा यतिले मात्र पर्याप्त भने छैन । गीत समाजको ऐना हो, गीत जीवन दर्शनको अभिव्यक्ति हो, गीत सामाजिक रूपान्तरणको एक यथार्थ सन्देश हो । यस्तो गहन विधालाई हल्का रूपमा ग्रहण गरेर सिर्जनालाई प्रस्तुत गर्नु कत्तिको न्याय हुन्छ भन्ने प्रश्नमा एउटा सिर्जनाकारले गम्भीर भएर सो सिर्जना पस्कनुअघि सोच्नुपर्दछ । गीतका पनि अरू साहित्यिक विधामा जस्तै आफ्नै संरचना हुन्छन् र तिनै संरचनालाई अवलम्बन गरी सरल शब्दहरूलाई प्रयोजनमा ल्याएर जीवन अनि सामाजिक रूपान्तरणका मार्गदर्शन बन्ने सिर्जनालाई पस्कनु सानोतिनो कला भने पटक्कै होइन । यसरी अर्थपूर्ण रूपमा लेखेका गीतहरूलाई अब न्यायोचित रूपमा लय दिने काम संगीतकारको हुन्छ ।

गीत संगीतमा वर्षौंदेखि साधना गर्दै आइरहेका सर्जकका टाउकामा लठ्ठी बजारिएको छ । गीत संगीतलाई मौलिक सम्पत्ति र पहिचानका रूपमा सदुपयोग गर्नुपर्ने ठाउँमा प्रतिस्पर्धात्मक कार्यक्रम वा रियालिटी शोका नाममा सम्पत्ति कमाउन उद्यत रही कार्यक्रम सञ्चालन गर्दा वास्तविक साधक, सर्जक र कलामाथि कुठाराघात भएका कैयाँै दृष्टान्त पाइन्छ । अर्कोतर्फ नेपाली गीत संगीतको धरोहर मानिने नेपाली लोक तथा लोकदोहोरी गीतमा छाडापन मौलाएको देख्दा सर्जकहरूमा सिर्जना गर्ने शब्दहरू नै समाप्त भएका हुन् त भन्ने गम्भीर प्रश्न उठेको छ ।

अब भने यहाँहरूलाई थोरै संगीततर्फ डोर्‍याउन चाहन्छु । संगीतलाई सामान्य भाषामा भन्नुपर्दा लय भन्ने बुझिन्छ तर लयले मात्र संगीतको परिभाषालाई पूर्णता प्रदान गर्न सक्दैन । संगीत आफैंमा वेदको ध्वनि हो भने संगीत सुर, आलाप, ताल, राग अनि धुन हो जसमा सम्पूर्ण मानवको अन्तरनाद घन्किन्छ । हुन त म संगीतको विज्ञ भने होइन तर जे बुझेको छु त्यो कुरा भन्न चाहिँ प्रष्ट रुचाउँछु । संगीत सतहमा जति सरल देखिन्छ त्यसको गहिराइ त्यति नै अथाह छ । एउटा विज्ञ संगीतकारले गीतमा संगीत भर्नुअघि गीतको मूल भाव र त्यस सिर्जनाले प्रवाह गर्ने सन्देश थाहा पाउनु अति आवश्यक हुन्छ । गीतका शब्दहरूलाई केलाएर भाव विचलित नहुने संगीत भरिएका कुनै पनि सिर्जनाहरू जीवन्त रहन्छन् । आज र अहिले नै केही हुन नसक्ला तर भोलि समयले अवश्य ती सिर्जनालाई पढाउनेछ अनि सुनाउनेछ । यी त भए गीत र संगीतलाई थोरै बुझ्ने कुरा, अब अलिकति कुरोको चुरो खोतल्नतर्फ लागौँ ।

‘राजमती कुमती’ बाट गुञ्जिएको नेपाली गीत संगीत आजको अवस्थासम्म आइपुग्दा हजारौँ त के लाखौँ गीत संगीत सिर्जनाहरू बजारमा आइसकेका छन् । तीमध्ये २५ देखि ३० प्रतिशत सिर्जनाहरू जीवन्त होलान् अथवा राजमती कुमतीदेखि नारायण गोपाल र भक्तराज आचार्यसम्मको युगमा आइपुग्दा धेरै गीत संगीतले जीवन्त प्राण पाएका छन् । त्यसपछिका समय र कालखण्डमा गीत संगीत सिर्जनामा केही ह्रास आउन थाल्यो । जति-जति आधुनिक युगको विकास हुँदै गयो त्यति नै नेपाली गीत संगीतमा पश्चिमी सुगन्ध आउन थाल्यो जुन गीत संगीतलाई समयसापेक्ष विकास गर्न निकै महत्वपूर्णदेखिन्थ्यो ।

तर, त्यही सुगन्धलाई आफ्नो मौलिक अत्तर बनाउन खोज्दाखोज्दै विकृतिहरूले प्रवेश गर्ने अवसर प्राप्त गरे । तिनै सुगन्ध विषाणु बन्दै गए अनि विस्तारै सिर्जनाकारहरूका हात काप्न थाले । गीत रचनामा विकृतिका शब्दहरू उनिन थाले । क्रमशः भावमा विचलन पनि आउन थालेको देखिन्छ । ऋषिमहर्षिका समयदेखि स्थापित हाम्रो पूर्वीय शास्त्रीय संगीतलाई पश्चिमी संगीतको सुगन्धबाट फैलिएका विषाणुले विस्तारै आक्रमण गर्न थालेको देखिन्छ । यता प्रविधिको विकाससँगै गीत संगीतमा मौलिक धुन हराउन थालेको पाइन्छ भने उता कम्प्युटराइज बाजाका धुनहरूले संगीतको मिठासमा ह्रास आएको अनुभूत गर्न सकिन्छ । यस्ता अनेकौँ संरचनात्मक र प्राविधिक विकृतिलाई अंगाल्दै जाने हो भने के साँच्चै हाम्रो मौलिक गीत संगीतको पहिचान जोगाउन सकिएला त ? यो गीत संगीतका विज्ञ र पारखीलाई गम्भीर प्रश्न लाग्नुपर्दछ । यी माथि उल्लिखित विषयहरू सैद्धान्तिक र प्राविधिकमात्र हुन् । अब एकै छिन लागाँै गीत संगीतको व्यावहारिक पक्षतर्फ ।

बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै वास्तविक जीवन दर्शनलाई चटक्क भुलेर मनोरञ्जनको दुनियाँमा रमाउनेको जमात हृवात्तै बढेको पाइन्छ । हिजो रेडियो टेलिभिजन हुँदै युट्युबसम्म आइपुग्दा गीत संगीतले केही हदसम्म आफ्नो अस्तित्व जोगाइरहेको कुरा नकार्न सकिन्न । जब युट्युब हुँदै टिकटकसम्म गीत संगीत आइपुगे विस्तारै विस्तारै सिर्जनाहरूको अस्तित्व समाप्त हुने बाटोतर्फ लागेको आभास पाइन्छ । जिब्रो नचपाई भन्नुपर्दा धेरै गीत संगीत र सिर्जनाहरू बलात्कृत भइसकेका छन् । सँगसँगै ती सिर्जनासँग जोडिएका सर्जकहरू पनि नांगिने क्रम बढ्दो देखिन्छ । यसो भन्दै गर्दा सामाजिक सञ्जालहरू नराम्रा हुन् भन्न खोजेको भने पटक्कै होइन तर ती सञ्जालहरूलाई कसरी र कुन अवस्थामा अनि केका लागि प्रयोग गर्दैछु भन्ने कुरा प्रयोगकर्ताले ध्यान दिन आवश्यक देखिन्छ । कतिपय अवस्थामा भाइरल हुने बहानामा सामाजिक सञ्जालमा छिरेका भाइरसहरूले गीत संगीतलाई मरणासन्न अवस्थामा पुर्‍याइसकेको कुरा नकार्न सकिन्न ।

गीत संगीतको भाषासम्म नबुझेकालाई टिकटकमा जथाभावी चिच्याइरहेकालाई युट्युबमा डलर र भ्यूज कमाउने प्रलोभनमा परी टपक्क टिपेर स्टुडियोभित्र छिराउने प्रवृत्तिले सिंगो गीत संगीतको अपमान गरेको पाइन्छ । अर्कोतर्फ गीत संगीतमा वर्षौंदेखि साधना गर्दै आइरहेका सर्जकका टाउकामा लठ्ठी बजारिएको छ । गीत संगीतलाई मौलिक सम्पत्ति र पहिचानका रूपमा सदुपयोग गर्नुपर्ने ठाउँमा प्रतिस्पर्धात्मक कार्यक्रम वा रियालिटी शोका नाममा सम्पत्ति कमाउन उद्यत रही कार्यक्रम सञ्चालन गर्दा वास्तविक साधक, सर्जक र कलामाथि कुठाराघात भएको कैयौँ दृष्टान्त पाइन्छ । अर्कोतर्फ नेपाली गीत संगीतको धरोहर मानिने नेपाली लोक तथा लोकदोहोरी गीतमा छाडापन मौलाएको देख्दा सर्जकहरूमा सिर्जना गर्ने शब्दहरू नै समाप्त भएका हुन् त भन्ने गम्भीर प्रश्न उठेको छ । आजकल कतिपय दोहोरी गीतहरू परिवारसँग बसेर सँगै हेर्न नसक्ने भइसकेको अवस्था छ । यस्तो छाडापनलाई अंगालिरहने हो भने नेपाली गीत संगीतको धरातल नै समाप्त हुने देखिन्छ । यी सम्पूर्ण विकृतिहरूको उपचार नखोज्ने र भाइरसहरूलाई समयमै पहिचान गरेर औषधि नगर्ने हो भने नेपाली गीत संगीतलाई प्राणघातक रोग लाग्ने निश्चित देखिन्छ । अब त सरोकारवाला संघ संस्थाहरू ब्यँुझिने पो हो कि ? जय गीत जय संगीत ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?