सोधनान्तर बचत तीन खर्बनजिक, १५ खर्ब ३९ अर्ब ३६ करोड विदेशी मुद्रा सञ्चिति

रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड

लेखनाथ पोखरेल
Read Time = 8 mins

काठमाडौं । निजी क्षेत्रका साथै विज्ञहरूले समेत मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको बताइरहेका बेला नेपाल राष्ट्र बैंकको तथ्यांकले भने अर्थतन्त्र सन्तोषजक अवस्थामा रहेको देखाएको छ । त्यसो त निजी क्षेत्र र विज्ञमात्र नभई सरकारसमेतले हाल देशको अर्थतन्त्र सन्तोषजनक नरहेको भन्दै चिन्ता व्यक्त गर्दै आएको छ । तर, नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांकअनुसार अर्थतन्त्रका धेरैजसो सूचक सकारात्मक देखिएका हुन् ।

रेमिट्यान्सका साथै विदेशी मुद्राको सञ्चितिसमेत बढेको छ । समीक्षा वर्षमा सोधनान्तर स्थिति पनि झण्डै तीन खर्ब अर्थात् दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष दुई अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा दुई अर्ब २१ करोडले बचतमा रहेको छ ।

२०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० असारमा २३.१ प्रतिशतले वृद्घि भई ११ अर्ब ७४ करोड कायम पुगेको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८० असारमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २८.६, ८३.० र २५.१ प्रतिशत रहेका छन् । २०७९ असार क्रमशः २४.६, ५७.८ र २२.१ प्रतिशत थिए ।

आर्थिक वर्ष २०७९/०८० मा चालु खाता पनि ७२ अर्ब १६ करोडले मात्रै घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष पाँच अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको हो ।

रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४०.३ प्रतिशतले बृद्धि भई चार लाख ९७ हजार सातसय चार पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले घटेर दुई लाख ७७ हजार दुई सय ७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।

मूल्यवृद्धि ७.७४ प्रतिशत
आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत थियो । आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.५५, तराईमा ८.००, पहाडमा ७.५६ र हिमालमा ७.१२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरूमा यस्तो मुद्रास्फीति क्रमशः ५.७३, ६.४१, ६.८७ र ६.०७ प्रतिशत थियो । २०८० असारमा भने वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.७०, तराईमा ७.४८, पहाडमा ६.९८ र हिमालमा ८.१९ प्रतिशत रहेको छ । २०७९ असार महिनामा उक्त क्षेत्रमा मुद्रास्फीति क्रमशः ७.३८, ८.३२, ८.४१ प्रतिशत र ८.८४ प्रतिशत थियो ।

साढे १४ खर्बको व्यापारघाटा
आर्थिक वर्ष २०७९/८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले घटेर एक खर्ब ५७ अर्ब १४ करोडमा झरेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फको निर्यात ३१.३ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ११८.३ र १०.७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतकोे निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतको निर्यात घटेको छ । समीक्षा वर्षमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोडमा झरेको छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४, १५.९ र २०.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा स्पोन्ज आइरन, रासायनिक मल, अन्य स्टेशनरी सामान, अलकत्रा, कागज लगायतकोे आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस, एमएस विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेल लगायतको आयात घटेको छ ।
समीक्षा वर्षमा कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले घटेर १४ खर्ब ५४ अर्ब ५९ करोडमा झरेको छ । अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा निर्यात-आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत थियो । समीक्षा वर्षमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ५४ खर्ब ४२ करोडको आयात भएको छ । अघिल्लो वर्ष दुइ खर्ब १३ अर्ब ५३ करोडको आयात भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?