स्वीडेन फिफा महिला विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल

उपाधिका लागि आज स्पेन र इंग्ल्यान्ड भिड्दै

Read Time = 2 mins

सिडनी । घरेलु टिम अस्ट्रेलियाविरुद्ध २-० को जित निकाल्दै स्वीडेनले फिफा महिला विश्वकपमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार ब्रिसबेनस्थित सनक्रप रंगशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिना रोल्फो र कोसोभारे एस्लानीले गोल गर्न सफल हुनुभयो ।

खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो । ६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पार्नुभयो । यसपछि दुवै टिमबाट थप गोल भएन ।

स्वीडेन लगातार दोस्रोपटक विश्वकपमा तेस्रो भएको हो । सन् १९९१ देखि विश्वकपका सबै संस्करण खेलेको स्वीडेनले हालसम्म उपाधि चुम्न सकेको छैन । एकपटक उपविजेता र तीनपटक तेस्रो भएको थियो ।

स्वीडेन जारी संस्करणमा समूह ‘जी’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । स्वीडेनले प्रि–क्वार्टरफाइनलमा साविक विजेतासमेत रहेको अमेरिकालाई पेनाल्टी सुटआउटमा पाँच-चार ले स्तब्ध बनाएको थियो । २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो ।

जारी विश्वकपको फाइनल खेल आज (आइतबार) हुनेछ । अस्ट्रेलिया रंगशालामा हुने फाइनलमा उपाधिका लागि स्पेन र इंग्ल्यान्ड भिड्नेछन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?