पहिराले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध

रासस
Read Time = 2 mins

लमजुङ । पहिराले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भन्नुभयो, “यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको छ ।” उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उहाँको भनाइ छ ।

सो स्थानमा ठूला-ठूला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ । सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् । यसअघि गत आइतबारसमेत नासों गाउँपालिका-१ तालडाँडामा पहिराले सडक अवरुद्ध बनाएको थियो ।

त्यस्तै छ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक-पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ । सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् । पैसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?