पत्रकार अधिकारीसहित आठजना बालअभियन्ता सम्मानित

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटले पत्रकार किरण अधिकारीसहित ८ जना बालअभियन्तालाई सम्मान गरेको छ ।

शनिबार वडा नम्बर-५ को दहाल माध्यमिक बिद्यालय सुकाटियामा किर्डाक नेपाल कालीकोट र सेभ द चिल्ड्रेनले सहजीकरण गरेको बालबिवाह बिरुद्ध ऐतिहासिक प्रथम बालसम्मेलनमा बालअधिकारको क्षेत्रमा काम गर्ने बालअभियान्तालाई सम्मान गरिएको हो ।

शुभकालिका गाउँपालिकामा विगतदेखि हालसम्म बालबालिकाको क्षेत्रमा काम गरेको र विगतमा गाविस बाल सञ्जाल हुँदै जिल्ला बाल सञ्जाल सचिवसम्म काम गर्दै आएकाले पत्रकार किरण अधिकारीलाई सम्मान गरिएको हो भने अन्य ८ जना बालअभियन्तालाई गाउँपालिकामा हुँने बालबिवाहका घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको बताइएको छ ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटले कालीकोटको शुभकालिका गाउँपालिका र तिलागुफा नगरपालिकामा विगत ५ वर्षदेखि बालबिवाह बिरुद्ध विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको छ ।

कर्णाली प्रदेशका अन्य जिल्लाको तुलनामा कालीकोट जिल्लामा बालबिवाहको दर उच्च रहेको पाइन्छ । त्यसमध्ये तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका विगतको तुलनामा भन्दा पछिल्लो समय बालबिवाह न्यूनीकरण हुँदै आएको किर्डाक नेपाल कालीकोटका परियोजना संयोजक प्रकाश शाहीले बताउनुभयो ।

उहाँले सन् २०२२ को अगष्ट देखि २०२३ को जुलाईसम्मको अवधिको सर्वेक्षण अनुसार शुभकालिका गाउँपालिकामा १ सय १६ जनाले बिवाह गरेकोमा ३२ अर्थात् २७ प्रतिशतले २० वर्षभन्दा मुनि बिहे गरेको पाइएको जानकारी दिनुभयो । यसैगरी तिलागुफा नगरपालिकामा पनि सोही अवधिमा ७५ जनाले बिवाह गरेकोमा ९ जना अर्थात् १२ प्रतिशतले बालबिवाह गरेको पाइएको परियोजना संयोजक शाहीले हिमालय टाइम्सलाई बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?