काठमाडौं महानगरपालिकाविरुद्व फुटपाथ व्यवसायीको प्रदर्शन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । सडक व्यापार गर्ने साना व्यवसायीहरूले महानगरपालिकाको कदमविरुद्ध आइतबार काठमाडौंमा भेला भई प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरले जबरजस्ती विस्थापन गर्न खोजेको भन्दै साइकल, ठेलागाडा, फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरू र केही सर्वसाधारण आन्दोलनमा उत्रिएका छन् । व्यवसायीको आन्दोलनमा सहभागी कानुन व्यवसायी सुविन मुल्मीले काठमाडौं महानगरले सडक व्यापारीहरूलाई गरिखान नदिएको बताउनुभयो । उहाँले गैरकानुनी रूपमा व्यवसायीहरूको सामान महानगरले खोसेको भन्दै कानुनी रूपमा नै उनीहरूको समुचित व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सडक व्यापारलाई कानुनले रोकेको अवस्था नरहेको जिकिर गर्नुभयो ।

महानगरले गैरकानुनी रूपमा व्यवसायीहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरेको आरोप लगाउनुभयो मुल्मीले भन्नुभयो, ‘सडक व्यापारीहरूलाई गरिखान दिइरहेको अवस्था छैन । उहाँहरूको सामान गैरकानुनी रूपमा खोसिएर लिलाम गरिएको अवस्था छ । सडक व्यापारलाई कानुनी रूपमा नै व्यवस्थापन गर्न आग्रह गर्न आएका हौँ । सडक व्यापारलाई कानुनले रोकेको अवस्था छैन । कानूनले अनुमति वा दर्ता गरेर गर्नुपर्छ भनेको छ । तर, अनुमति लिने प्रावधान बनाएकै छैन । त्यो त काठमाडौं महानगरपालिकाको ऐनमा नै छ ।

नगरपालिकाले त्यसरी सामान खोस्न पाउँदैन । कुनै पनि ऐन कानुनमा लेखेको छैन । फोहोरमैला व्यवस्थापन ऐन जोडिएको छ, स्थानीय सरकार ऐन जोडिएको छ, त्यो दुई वटैमा लेखिएको छैन । गैरकानुनी रूपमा उहाँहरूको सामान खोसेर लिलाम गरी पैसा कमाउने काम गरिएको छ । त्यो सबै गैरकानुनी हो । त्यसको विरोध गर्न जो गरिब जनताहरू हुनुहुन्छ, कुनै उपाय, विकल्प नभएर सडकमा ठेला व्यापार चलाउनुभएको छ, त्यस्तोलाई व्यवस्थापन गर्नुपर्छ । कार्यतालिका नै राखेर अनुमति दिने सिष्टम बनाउनुपर्छ । गरिबको पेटमा लात हान्न मिल्दैन । उहाँहरूलाई गरिखाने व्यवस्था गरिनुपर्छ । सडक व्यापारलाई व्यवस्थापन गर्न मेयर बालेन्द्र साह गम्भीर हुनुपर्छ ।’ व्यवसायीहरूले सहर सबैका लागि कि धनीका लागि मात्रै ? गरी खान देऊ लगायतका नारा लगाएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?