एमाले सरकारकै पालामा अप्टिकल फाईबर र केबल कार बिछ्याउने काम भएकाले सञ्चार क्षेत्रमा सुधार आयो : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरकारको योगदान रहेको दाबी गर्नुभएको छ ।

आफूले प्रधानमन्त्री भएका बेला अप्टिकल फाईबर र केबल कार बिछ्याउने कामदेखि सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा नेपाल अलिक बलियो भएको ओलीको भनाई थियो ।

सांस्कृतिक समाज, नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा बोल्दै ओलीले नेपालको सञ्चार क्षेत्रलाई अझै सुदृढ बनाउन जरुरी रहेको समेत बताउनु भयो । उहाँले नेपालको सुदूरपश्चिम क्षेत्रलाई इतिहास, राजनीतिक, सांस्कृतिक क्षेत्रको जागरणको उद्गम क्षेत्रको रुपमा चित्रण गर्दै अब यो क्षेत्र पछाडि परिरहन नसक्ने बताउनु भयो ।

दुर्गम सुदूरपश्चिम क्षेत्रको कमजोरी भएपनि अब त्यसलाई कनेक्टिभिटीको माध्यमबाट हटाउने कामले तिब्रता पाएको उल्लेख गर्दै अध्यक्ष ओलीले सो ठाउँ अब सहज ढंगले अघि बढने बताउनु भयो । उहाँले त्यहाँको देउडा संस्कृति हरेक नेपालीको आफ्नै संस्कृति भएको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘सुुदूरपश्चिम प्रदेश सधैं पछाडि परिरहन सक्दैन । आज सुदूरपश्चिम पनि कर्णाली, काली कर्णाली, यो प्रदेश, यो भेग पनि पछाडि परेको छ । तर यो सधैं पछाडि पर्न सक्दैन । किनभने स्रोतहरुको हिसावले, अनेक हिसावले यसको कमजोरी भनेको एउटा दूर्गमता मात्रै हो । अब त्यस दुर्गमतालाई हामीले अनेक प्रकारका कनेन्टिभिटीहरु बाटाको कनेक्टिभिटी, हवाई यातायातको कनेक्टिभिटी, अब बिस्तारै हामीले केवल कारका कनेक्टिभिटी, अहिले सञ्चारका कनेक्टिभिटी आदिबाट हामी जोडिईसकेका छौं । र, अरु कनेक्टिभिटी पनि हामीले जोड्नु छ । म प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाईबर र केवल कार बिछ्याउने कामहरुदेखि लिएर सबै सबै जिल्लाहरुमा फोरजी सेवा उपलब्ध गराउने त्यो अभियानलाई सफलतापूर्वक अगाडि सारेको हुनाले अहिले सञ्चार क्षेत्रमा हामी अलिक बलिया भएका छौं । अझै यसलाई सुदृढ गर्न जरुरी छ । सुदूरपश्चिम एउटा इतिहास बोकेको ठाउँ हो । संस्कृति बोकेको ठाउँ हो । कला बोकेको ठाउँ हो । राजनीतिक जागरणको हिसावले अन्यत्र कहीँ भन्दा दशरथ चन्दका हजुरबुबाहरु जंगबहादुर राणाले १९०३ मा कोतपर्वबाट कब्जा गरेपछि नै दशरथ चन्दका हजुरबुबाहरुले नै विद्रोहको आगो सल्काउनु भएको थियो । त्यसैबेला । राणा शासनको विरोध गर्दै केही निर्वासनमा जानु भएको थियो । पहिलो सहिदको हिसावमा सुदूरपश्चिम, राजनीतिक जाँगरणको हिसावमा पहिलो सुदूरपश्चिम । अहिले पनि त्यहाँको देउडा गीत । हर नेपालीको गीत हो ।’

त्यस अवसरमा अध्यक्ष ओलीले सुदूरपश्चिम क्षेत्रले नै नेपालको राणा शासन अन्त्यका लागि विगुल फुकेको पनि स्मरण गराउनुभएको थियो । कार्यक्रममा देउडा संस्कृति झल्कने खालको सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?