कोहलपुरमा नापी र मालपोत शाखा खुल्ने

हिमालय टाइम्स
Read Time = 4 mins

-शुभाकर विश्वकर्मा

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकामा मालपोत र नापी कार्यालयको शाखा विस्तार हुने भएको छ । संघीय सरकारको अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्रालयले नयाँ कार्यालय स्थापनाका लागि कोड तथा बजेट व्यवस्थापन गर्न पत्राचार गरेसँगै बाँकेको कोहलपुरमा मालपोत र नापीका शाखा कार्यालय विस्तार हुने भएको हो । कोहलपुरसहित राप्तीसोनारी र बैजनाथका नागरिकसमेत अहिले पनि जिल्ला सदरमुकाम नेपालगञ्ज जानुपर्ने बाध्यता छ ।

कोहलपुरमा शाखा कार्यालय स्थापनाका लागि लामोसमयदेखि विभिन्न राजनीतिक दल र स्थानीय सरकारले पहल गर्दै आएका थिए । यहाँका जिम्मेवार निकायहरूको निरन्तरको प्रयासस्वरूप अन्ततः कार्यालय खुल्ने भएको कोहलपुर नगरपालिकाले जनाएको छ । गत वर्षको चैत्र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले बाँकेको कोहलपुरका साथै गौशाला, महोत्तरी, जोगबुढा, डडेल्धुरा र आठबिसकोट रुकुम पश्चिमको संगठन संरचना, दरबन्दी तेरिजबमोजिम कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत गर्ने र स्रोत सुनिश्चित गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार कोहलपुरमा स्थापना हुने कार्यालयको कार्यक्षेत्र कोहलपुरसहित राप्तीसोनारी र बैजनाथ गाउँपालिका रहने उल्लेख छ ।

यसैगरी, कार्यालय स्थापना गर्ने प्रक्रियाअन्तर्गत नै अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी, तथा गरिबी निवारण मन्त्रालयलाई पठाएको पत्रमा आर्थिक वर्ष २०७९÷०८० मा कार्यालय सञ्चालनका लागि कार्यालय कोड र बजेट व्यवस्था भएको नदेखिएकाले उक्त नयाँ मालपोत र नापी कार्यालयहरूको कार्यालय कोड र बजेट व्यवस्थापनको लागि चैत्र १७ गतेको निर्णयलाई कार्यान्वयन गर्न भनेको छ ।

मन्त्रालयकी शाखा अधिकृत जानकी शाहद्वारा हस्ताक्षरित पत्रमा कोहलपुरसहित देशभरका चारवटा स्थानमा कार्यालय स्थापना गर्न प्रचलित कानुन र स्वीकृत मापदण्डभित्र रही खर्च गर्ने गरी चालु खर्चतर्फ आठ करोड ८९ लाख ४० हजार र पुँजीगततर्फ दुई करोड ५६ लाख ४२ हजारको सीमाभित्र रही उक्त मन्त्रालयको चालु आवको विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने भनिएको छ । यस्तै, कार्यालयलाई एक÷एक वटा मोटरसाइकल कर्मचारीको पारिश्रमिकबाहेक अन्य प्रशासनिक खर्चमा बजेट वक्तव्यको बुँदा नम्बर ३७९ बमोजिम १५ प्रतिशत खर्च कटौती गरिएकोले मितव्ययिता गर्न भनिएको हो ।

यता, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरमा नापी तथा मालपोत कार्यालय स्थापना गर्न पहल गर्ने कोहलपुर पूर्व– नगर प्रमुखलगायत राजनीतिक दल सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँका अनुसार अब छिट्टै कोहलपुर कार्यालय सञ्चालनका लागि नगरपालिका तीव्र रूपमा अघि बढ्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?