संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । संसद सेवा दिवसको अवसरमा आज मैत्रीपूर्ण फुटसल भएको छ ।

मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल भएको हो । प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको छ ।

फुटसल खेलका क्रममा बोल्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले युवापुस्तालाई उत्साहित तुल्याउन फुटसलको आयोजना गरिएको बताउनु भयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिनका रुपमा आज फुटसल खेलिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद सेवा दिवसमा स्वभाविक रुपमा संसदका सांसदहरु, सचिवालयका सदस्यहरु, सभामुख, उपसभामुखहरुले उत्सव मनाउने दिन हो । हामी फुटसल खेलेर मनाउँदै छौँ । युवापुस्तालाई उत्साह गर्ने कुरा हो ।’

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले देशको विकासको लागि खेल अनुशासन र लगनशीलताका साथै व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा भएको बताउनु भयो । उहाँले खेललाई युवा पुस्तामा प्रोत्साहन गर्दै लैजानुपर्ने बताउनु भयो । उहाँले नेताहरुले खेलाडीहरुबाट अनुशासन र टिमवर्ककको बारेमा सिक्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको सन्दर्भ संसद सेवा दिवस, संसद सेवा अलग्गै भएको १७ औं संसद सेवा दिवसको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रम भएका छन्, त्यसमध्येमा यो फुटसल प्रतियोगिता पनि एउटा हो । राष्ट्रिय सभा र प्रतिनिधि सभाको टिम बनाएर मैत्रीपूर्ण खेल खेल्ने सन्दर्भ हो । देशको विकासको लागि खेल, अनुशासन र लगनशीलता व्यक्तिको प्रतिभा अघि बढाउने र राष्ट्रको पहिचान फैल्याउने कुरा पनि हो । यसलाई बिस्तारै अघि बढाउनुपर्छ भनेर प्रोत्साहन मिलोस् भनेर हो । सधैँ यस्तै गर्न पाए हुन्थ्यो, अब त अलि उमेर पुग्यो, ढाडको कारणले गाह्रो हुन्छ । राजनीतिक गोल र फुटबल गोल फरक हो । खेलाडीबाट धेरै कुरा सिके राजनीति पनि सफल हुन्छ ।’

त्यस्तै उपसभामुख इन्दिरा रानाले यस्ता कार्यक्रम संसद सदस्यहरुका लागि महिनामा एक पटक राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सधैँ काम गर्दा मान्छेलाई प्रेसर हुन्छ, टेन्सन हुन्छ । यस्ता कार्यक्रम प्रत्येक महिनामा हुनुपर्छ । वर्षको एकदिन होइन । उत्साह दिनलाई महिनाको एक पटक हुनुपर्छ ।’

उपसभामुख रानाले सधैँ काम गर्नेहरुलाई तनाव हुने भएकाले संसद सदस्यहरुलाई वर्षको एक पटक नभइ महिनामा एक पटक यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनु भयो । खेलमा प्रतिनिधि सभाले राष्ट्रिय सभालाई ४-० ले पराजित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?