जुम्लाको सरकारी टोली बडिमालिकाको पूजाका लागि प्रस्थान

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीको भगवती मन्दिरमा पूजाआजा गर्नेका लागी जुम्लाको सरकारी टोली सोमबार बाजुरा प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय सहित दर्जनौं भक्तजनको टोली बडिमालिका गएको छ ।

हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार जुम्लाको सरकारी टोली बडिमालिका गएको जिल्ला प्रशासन कार्यालय जुम्लाका सुचना अधिकारी दत्तराज हमालले जानकारी दिनुभयो । जुम्लाका संस्कृतिका जानकार रमानन्द आचार्यका अनुसार परम्परादेखि हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ । जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पेटारो नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको संस्कृत जानकार आर्चायको भनाइ छ ।

बडीमालिका जाने टोली सुरक्षार्थ सिमावर्ती जिल्ला प्रशासन र प्रहरी कार्यालयसंग समन्वय भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो । बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ । बडिमालिकाबाट टोली १६ दिन पछि जिल्लामा फर्किने स्थानीय प्रशासनले जनाएको छ । बडिमालिकामा वर्षमा एक पटक हुने पूजाले बाजुरा र जुम्लाको धार्मिक सहिसुष्णताको विकास संगै धार्मिक पर्यटनलाई समेत उजागर गरेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गोरीनन्द आचार्यले जानकारी दिनुभयो । नेपाली नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौ भक्तजन, सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बडिमाली जाने सरकारी टोलीलाई बिदाइ गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?