पाल्पाका अस्पतालमा आँखा पाक्ने विरामीको भीड

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 3 mins

पाल्पा । जिल्लामा आँखा पाक्ने रोग व्यापक रुपमा फैलिदै गएको छ । पाल्पाका अधिकांस अस्पतालहरुमा आँखा पाकेका बिरामीको भीड बढेको अस्पतालहरुले जनाएका छन् ।

चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् । नेपाल नेत्र ज्योति संघ अन्तर्गत पाल्पा लायन्स लाकौल आँखा अस्पताल, रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्र, रैनादेवी छहरा, तिनाउका आँखा उपचार केन्द्रसहित पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या अत्याधिक रहेको छ ।

एउटै घरका धेरै व्यक्ति यो रोगबाट संक्रक्रमित भएको पाइएको छ । कसैको रातो आँखा देखिन्छ । कतिपयको आँखा एकदमै चिलाएर सुन्निएको छ । कोही सुतेर उठ्दा आँखामा कचेरा (चिप्रा) परेको बताउँछन् । कोही बिझाएको र दुखेको भन्दै अस्पताल पुग्ने गरेका छन् । अहिले जिल्लाका अधिकासं अस्पतालहरुमा यस्तै दृश्य देखिन्छन् । आँखा रोग विशेषज्ञलाई यो समस्याको उपचार गर्न भ्याइनभ्याइ छ । आँखा पाक्ने रोग पाल्पा मात्र होइन अहिले देशैभर फैलिएको छ । जेठदेखि फैलन थालेको आँखा पाक्ने समस्या पाल्पामामा भने साउन दोस्रो सातादेखि फैलिएको चिकित्सकहरू बताउँछन् ।

अहिलेसम्म जिल्लामा करिब ६ हजार व्यक्तिहरु आँखा पाक्ने समस्याबाट ग्रसित भएका छन् । यहाँका तानसेन, रम्भा, रामपुर, बगनासकाली, रिब्दीकोट, पूर्वखोला, निस्दी, माथागढी, तिनाउ र रैनादेवी छहराका ग्रामीण क्षेत्रमा आँखा पाकेका विरामीहरु फेला परेका छन् । पाल्पा लायन्स लाकौल आँखा अस्पतालमा मात्र दैनिक जसो एक सय भन्दा बढी आँखा पाक्ने विरामी आउने गरेका छन् । यहाँ साउन १८ गते यता २ हजार १ सय २७ जना आँखा पाकेका विरामीहरुको उपचार भइसेको अस्पतालका नेत्र सहायक मनोज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पताल आउने विरामी मध्ये ६० प्रतिशत आँखा पाकेर आउने गरेका छन् । आँखा पाक्ने समस्याको उपचारका लागि बालबालिका, युवा तथा प्रौढहरू बढी आउने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?