गिरिबन्धु टि स्टेटको जग्गा अनुसन्धान गर्न आवश्यक भए गरे हुन्छ : अध्यक्ष ओली

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताउनु भयो । उहाँले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिनुभयो । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु की उहाँहरु लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो । हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो । तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो । यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो । अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ । त्यसमा सहमति भयो । गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । बिना कानून पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरु रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?