चन्द्रयान–३ को सफल अवतरणमा प्रधानमन्त्रीद्वारा भारतलाई बधाई

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिनुभएको छ । उहाँले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताउनुभएको छ । उहाँले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई ज्ञापन गर्नुभएको छ । भारतले आज चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको छ ।

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिनुभएको छ ।

'आज भारतको चन्द्र यान - ३ चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा अवतरण गरेको छ। यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।' उहाँले लेख्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?