जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

विसं. २००१ कात्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिनुभएका जुठबहादुर खड्गी (जेबी टुहुरे)ले गीत संगीतको क्षेत्रबाट नेपालको वाम लोकतान्त्रिक आन्दोलनलाई माथि उठाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । उहाँले गाएका ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘आमा दिदी बैनी हो’ जस्ता गीतहरू चर्चित छन् । टुहुरेको २०७८ भदौ १० गते काठमाडौंको वयोधा अस्पतालमा निधन भएको थियो ।

‘जेबी टुहुरे स्रष्टा सम्मान’ पौडेललाई
कवि, गीतकार तथा सामाजिक अभियन्ता अनिल पौडेललाई ‘जेबी टुहुरे स्मृति स्रष्टा सम्मान-२०८०’ बाट सम्मान गरिने भएको छ । जेबी टुहुरे फाउण्डेशनले एक लाख रुपैयाँ धनराशिसहित पौडेललाई सम्मान गर्ने निर्णय गरेको हो । यही भदौ १० गते राष्ट्रिय नाचघर, काठमाडौंमा गरिने विशेष सांगतिक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट पौडेललाई सम्मान गरिने फाउण्डेशनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी गराउनुभयो । पौडेलले लेखेको ‘मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ’, ‘देशभक्त छोरो मर्दा देशै रुँदो रैछ’ गीत जेबी टुहुरेले गाउनुभएको थियो ।

वरिष्ठ जनगायक जेबी टुहुरेको दोस्रो स्मृति दिवसको सन्दर्भमा आयोजना गरिने सोही कार्यक्रममा जेबी टुहुरेको सम्झनामा विभिन्न व्यक्ति र व्यक्तित्वका संस्मरणात्मक लेखहरूको संगालो ‘जेबी टुहुरे स्मृति ग्रन्थ’ पनि सार्वजनिक गरिने जनाइएको छ ।

जेबी टुहुरे फाउण्डेशनले गत वर्षदेखि स्रष्टा सम्मान कार्यक्रम गर्दै आएको छ । गतवर्ष धरानमा आयोजित जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान कार्यक्रममा ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार लव प्रधानलाई उक्त सम्मान गरिएको थियो । संविधानसभाका सदस्यसमेत रहनुभएका टुहुरेको सम्मानमा विसं २०७५ सालमा उहाँ जीवित छँदै ‘जेबी टुहुरे फाउण्डेशन’ स्थापना गरिएको थियो ।

तत्कालीन माले, एमाले हुँदै पछिल्लो समय जेबी माओवादी केन्द्रमा हुनुहुन्थ्यो । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट संविधानसभा सदस्यसमेत बन्नुभएका उहाँ जनसांस्कृतिक महासंघको अध्यक्ष र संरक्षक पनि हुनुहुन्थ्यो । उहाँ माओवादीका सल्लाहकारसमेत हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?