कोशी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको चालू तेश्रो अधिवेशन अन्त्य गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभा अन्त्य गर्नुभएको हो ।

एमालेले संसद् चल्न नदिने देखिएपछि सरकारले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।

कोशी प्रदेश यतिबेला एमाले नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटबाट चलिरहेको छ। भदौ १० भित्रमा जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता थियो। मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरुले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताइरहेका थिए। तर, मुख्य विपक्षी एमाले र राप्रपाले संसद बैठक बहिष्कार गरेको दिन नै सरकारले अधिवेशन अन्त्य गरेर अर्को अध्यादेश ल्याउने तयारी गरेको हो।

सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने बेलामा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेको विरोधमा बुधबार एमाले र राप्रपाले प्रदेश सभा बैठक बहिष्कार गरेका थिए।

संवैधानिक प्रावधानअनुसार संसदमा टेबल भएको ६० दिनभित्रमा अध्यादेश प्रदेश सभाले पास गर्नुपर्ने अथवा विकल्पमा प्रतिस्थापन गर्नुपर्ने हुन्थ्यो। गठबन्धन सरकार एमालेले ल्याएको बजेट स्वीकार नगर्ने, एमाले र राप्रपाले सदन चलन नदिने भएपछि फेरि अध्यादेशमार्फत बजेट ल्याउने तयारी भएको हो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?