किताबको कमिसनमा प्रधानाध्यापकलाई मस्ती, विद्यार्थी र अभिभावकलाई सास्ती

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 7 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा प्रधानाध्यापकहरु कमिसनको चक्करमा लागेपछि अभिभावक र विद्यार्थीहरुलाई सास्ती भएको छ । शैक्षिक सत्र सुरु हुना साथ जनक शिक्षाको पाठ्यपुस्तक उपलब्ध नभएको भन्दै निजि पब्लीकेशनका पाठ्यपुस्तक जबरजस्ति किन्न लगाई अभिभावक र विद्यार्थीलाई आर्थिक भारमा पारेका हुन् ।

निजी पब्लीकेशनहरुले सामुदायिक विद्यालयका प्रअहरुलाई आर्थिक प्रलोभनमा पारेसंगै विद्यालयमा निजी पब्लीकेशनका विषयहरु पढाउन सुरु भएको हो । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउने बहानामा प्रधानाध्यापकहरु संगठित भएर पब्लिकेशन संग बार्गेनीङ गरी पुस्तक लगाउने गरेको आरोप लाग्दै आएको छ ।

बर्दघाट नगरपालिका शिक्षा शाखाको समन्वयमा २०७९ चैत्र २८ गते बसेको प्रअ बठकले अनिवार्य रुपमा जनक शिक्षाका पुस्तक लगाउने निर्णय गरेको शक्षिा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो । पन्थीले जनक शिक्षाकै पाठ्यपुस्तक लगाउने निर्णय भएको बताए पनि दाउन्नेदेवी माध्यामिक विद्यालयका प्रअ चिरञ्जीवी खनालले भने नगरले जनक तथा अन्य निजी पब्लीकेशन जुनसुकै भएपनि प्रयोग गर्ने विषयमा नगरमा छलफल भएको बताउनुभयो ।

बर्दघाट नगरपालिकाले गत चैत्र २० गते सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई पत्राचार गरी निशुल्क पाठ्यपुस्तक खरिद तथा वितरण सम्बन्धमा शैक्षिकशत्र २०८० का लागि निशुल्क पाठ्यपुस्तक अनुदान शीर्षकमा रकम निकासा भइसकेको र कार्यान्वयन पुस्तिकामा भएको ब्यबस्था अनुसार विद्यालयले अनिवार्य रुपमा पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित जनक शिक्षा सामाग्री केन्द्र वा अनुमति प्राप्त नीजि मुद्रणका पाठ्यपुस्तक खरिद गरी निशुल्क पाठ्यपुस्तक सेट उपलब्ध गराउन भनी पत्रमार्फत निर्देशन दिएको थियो ।

पत्रमा जनक तथा नीजि मुद्रण लेखेर हस्ताक्षर गरेका नगर शिक्षा प्रमुखले भने पत्रकारहरुको जिज्ञासामा जनक शिक्षाको बाहेक अरुको विल मान्य नहुने बताउनुभयो । पत्रको आसय अनुसार विद्यालयहरुले नीजी पब्लीकेशनका पुस्तक लगाए पनि निःशुल्क उपलब्ध गराउनुपर्ने देखिन्छ । तर अभिभावकहरुले शुल्क तिरेर पुस्तक किन्न बाध्य रहेको दिव्यज्योती मावि कक्षा ८ मा अध्ययनरत विद्यार्थी मनिष ढकालका अभिभावक एवं पत्रकार कृष्ण ढकालले बताउनुभयो । उहाँले भन्नुभयो,  “विद्यार्थीलाई निशुल्क उपलब्ध गराउनुपर्ने पाठ्यपुस्तक पैसा तिर्नुपरेपछि खोजी गर्दा निजिको किताब लगाएर कमिसन असुल्ने गरेको प्रष्ट हुन्छ ।”

सहयोगी पुस्तकको नाम दिएर नीजि प्रकाशनको पुस्तक लगाउने र अभिावकबाट पैसा असुलिएको ढकालको भनाई छ । यस्तो गुनासो गर्ने ढकाल मात्र हुनुहुन्न शैक्षिक शत्र सुरु भएको ५ महिना पछि पुनः जनककै पुस्तक वितरण गरिएपछि धेरै अभिभावहरु रुष्ट बनेका छन् । कतिपय अभिभावकले विद्यालयमै पुगेर निःशुल्क पाईने पाठ्यपुस्तक प्रअहरुले कमिसनको चक्करमा दुईवटा किताबहरु अनिवार्यरुपमा भिडाएको गुनासो गरेका छन् ।

दाउन्नेदेवी माविका प्रअ खनालले कतिपय उदाहरण जनकको किताबमा प्रष्ट नभएका विषयहरु प्रअहरु छलफल गरेर निजी पब्लिकेशनका पुस्तकहरु लगाईएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “ नगरले पहिला हुन्छ भन्यो तर पछि नगरका कर्मचारी हुन् कि हाकिम हुन् तिनिहरुले उर्दी जारी गरी जनककै चाहिन्छ भनेकोले अहिले जनककै बाँडियो ।”

नगरका सामुदायिक विद्यालयहरुमा निजी पब्लीकेशनका पुस्तकहरु लगाएको विषयमा अख्तियारले चासो राखेपछि नगरले उर्दीनै जारी गरेर जनकको पुस्तक बाँड्न लगाएको दाउन्नेदेवी माविका अध्यक्ष रमेश बस्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “केही विद्यालयका प्रअ हरु मिलेर निजि पब्लीकेशनका किताबहरु लगाएका छन् जुन हाम्रो स्कुलमा पनि छ ।”

तपाईको स्कुलमा कति कमिसन आयो ? भन्ने प्रश्नमा बस्यालले विद्यालय प्रशासन बाहेक ब्यबस्थापन समितिलाई थाहा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पनि धेरै अभिभावकले गुनासो गरेपछि कमिसनको कुरा सुनेको हुँ ।”

अभिभावकहरुले आरोप लगाएजस्तै बर्दघाट नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा कमिसनकै चक्करका कारण कतिपय प्रअहरुको संयुक्त खाता संचालनमा रहेको श्रोतको दाबी छ । “निजी पब्लीकेशनले पाठ्यपुस्तक लगाईदिएबापत संयुक्त खातामा पैसा राखिदिने र संयुक्त खाता संचालन गरेका प्रअहरुले अन्य प्रअहरुलाई कमिसन दिनेगरेको छन् ।” श्रोत भन्छ ।

नीजि पब्लीकेशनका पुस्तकहरु लगाईएको विषय र आर्थिक पारदर्शिताको विषय उठान भएपछि कतिपय विद्यालयको सामाजिक लेखापरीक्षण नै रोकिएको छ । कमिसनको विषय उठान हुन थालेसंगै कतिपय प्रअहरुले भने कमिसन बापत आएको रकम विद्यालयका खातामा जम्मा गरेको श्रोतको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?