बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा सहमति भएको छ ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् ।

यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी २२१ जना फरार भएका थिए ।

पटक पटकको छलफलसँगै आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुंगिएको हो ।

आइतबार भएको सहमति गरेर शवपरीक्षण गरी सदगद गर्ने सहमति भएको भक्तपुरका प्रजिअ रिजालले जानकारी दिनुभयो ।

मृतक परिवारले भने १० लाख क्षतिपूर्ति एवं राहत रकमको माग गर्दै आएका थिए । युसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप दुई लाख सहयोग रकम उपलब्ध गराएको छ । सहमति भएसँगै मृतक बस्नेतको सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा शवपरीक्षण गर्ने र दाहसंस्कार हुने भएको छ ।

त्यसैगरी बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्साको, १८ जनालाई मकवानपुरको, सात जनालाई डोटीको र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको विभागले जानकारी दिएको छ ।

स्थानान्तरण गरिएकाहरू अधिकांश १८ वर्षमाथिका छन् । सुधार गृहमा रहेका दुई सय ९७ मध्ये ४३ बालिका र किशोरी छन् । सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गर्न थालेपछि थप घटना हुन नदिन उनीहरूलाई अन्यत्र स्थनान्तरण गरेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?