छायाँनाथ र ऋणीमोक्क्ष धाममा दर्शनार्थीको भिड

हिमालय टाइम्स
Read Time = 8 mins

-नृपेन्द्र बहादुर मल्ल

मुगु । मुगु जिल्लामा रहेका हिन्दु तथा बौद्ध धर्मालम्विहरुका प्रमुख तिर्थ स्थलहरु छायाँनाथ र ऋणीमोक्क्ष धाममा दर्शनार्थीहरुको भिड लागेको छ ।

नित्य पुजाका लागी छायानाथ र ऋणीमोक्क्षका गाथ (शिव,पार्वती,बुद्ध र ३३ कोटी देउता र देवीका मुर्तीहरु) छायाँनाथ रारा नगरपालिका वडा नं २ चैन गाँउमा रहेका दुवै धामका मन्दिरमा ११ महिना राखिदै आएपनि प्रत्यर्क वर्ष देश विदेशका हिन्दु धर्मालम्वीहरुको दर्शनका लागी साउन महिनामा छायाँनाथ तथा ऋणीमोक्क्ष धाममा गाथ लिईने चलन छ । यो वर्षपनि गाथको दर्शन गर्न र आफु शुद्धी हुन छायाँनाथ तथा ऋणीकोक्क्ष धाममा मानिसहरुको भिड लागेको हो ।

यी स्थानमा कणाली तथा सुदुर पश्चिममा मानिर्दै आएका विभिन्न देवताका धामी तथा कुल देवताहरुलाई एक पटक छायाँनाथको दर्शन तथा शुद्धी गर्न ल्याउनै पर्ने परम्परा रिती रहेकाले साउन महिनाको शुक्ल अष्टमी देखि जनै पुर्णिमा सम्म छायाँनाथ जाने मानिसहरुको भिड लाग्ने गर्दछ ।

देउताका धामी, कुल देउताका साथै आफ्ना पृत्रीहरुको मोक्क्षका लागी छायाँनाथ र ऋणीमोक्क्ष भन्दा अर्को कुनै धार्मिक स्थल नभएको हिन्दुहरु विश्वास गर्छन ।

जिल्लाको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं १ अवस्थित ४८ सय मिटर उचाईमा रहेको छायाँनाथ हिमालमा रहेको छाँयानाथ धाम र छायाँनाथ रारा नगरपालिका वडा नं १० र ११ मा पर्ने ऋणीकोक्क्ष धाममा यो वेला  देश भित्रका र छिमेकी देश भारतबाट समेत गरि हजारौ तिर्थालुहरु आफना कुल देवताको शुद्धी, नयाँ धामी, झाक्री औतार गर्न, आफुले चाहेको बर माग्न, जीवनमा जानेर नजानेर आफुबाट भएका पापबाट मोक्क्ष प्राप्त गर्न र आफना पृत्रिहरुको सम्झना र मोक्क्षका लागी आउने भएकाले दुवै धामका गाथ दर्शनका लागी र नयाँ धामीलाई विदो , पुरानालाई शुद्धी अनि दर्शनार्थीलाई वर दिन छायाँनाथ र ऋणीमोक्क्ष धाममा लगिदै आएको छायाँनाथका पुजारी सनत कुमार हमाल बताउनु हुन्छ ।

हिन्दुहरुको धार्मिक ग्रन्थ श्री स्वास्थानी वर्त कथाको १० औं अध्यायका अनुसार दक्षप्रजापतीले आफनो घरमा लगाएको महायज्ञमा आफना ३३ कोटी ज्वाई देवता तथा देवीहरुलाई बोलाएपनि भगवान महादेवलाई नवोलाउदा छोरी सतिदेवीले आफना बुवा दक्षप्रजापतीलाई नवोलाउनुको कारण बारे सोध्दा दक्ष प्रजापतीले महादेव बारे नानाथरीका गाली, लाल्छना, आरोप लगाउदै त्यस्ता व्यक्ति महायज्ञमा आए आफ्नो वेईज्यत हुने भएकोले नबोलाएको जवाफ दिएपछि आफ्ना श्रीमानको वेईज्यती सहन नसकि यज्ञको होम कुण्डमा हाम फाली प्राण त्याग गरेको उल्लेख छ ।

सती देवीले प्राण त्याग गरेपछि विरक्तीएका महादेव सतीदेवीका लाश बोकी पृथ्वी लोकतिर झरेको र सतीदेवीको लास गल्दै जादा जहाँ जहाँ सती देवीका अंगहरु पतन भए ति शक्ति पिठको रुपमा स्थापित भए । सोहि क्रममा महादेव छायाँक्षेत्र हिमालमा पुगेको र त्यहाँ सती देवीका बाँकी रहेका सबै अंग शरिर पतन हुँदा छायाँनाथ एक अद्भुद शक्तिपिठका रुपमा स्थापित भएको उल्लेख छ । सतीदवीका अन्तिम शरिर सबै छायाँनाथमा पतन हुँदा हलुंगाे महशुस भै झस्केर विउझिएका महादेव आफ्नो पिठिउँमा सतीदेवीकाे शरिर नदेखेपछि झनै विरक्तिएर  स्वर्गलोगमा नगई छायाँनाथमा बसेको र सतीदेवीको सम्झना गदै अझैपनि महादेव छायाँनाथमा रहेको विश्वास हिन्दुहरुले गर्ने गर्छन । त्यहि भएर छायाँनाथमा दर्शन गर्न गएमा साक्षात भगवान शिवको दर्शन हुने विश्वास गरिन्छ ।

एता ऋणीमोक्क्ष तिर्थ स्थल बारे हिन्दु धर्मालम्विहरु छायाँनाथमा महादेव बसेकाले उहाँको ध्यान सतिदेवीबाट मुक्त गराउन र दक्षप्रजापती तथा ३३ कोटी देवी देवताले महायज्ञमा महादेव बारे गरेको पापबाट मोक्क्ष दिलाउन स्वर्गबाट भगवान,विष्णु,बर्माले अप्सराहरु पृथ्वीमा पठाएको,ऋणीमोक्क्षमा अप्सराहरुले नाचगान गरेको, जती नाचगान गरेपनि महादेवले छायाँनाथ क्षेत्र नछोडेकाले अझै पनि ऋणीमोक्क्षमा अप्सरा तथा ३३ कोटी देवी देवता त्यही रहेको बताईन्छ र त्यहि भएकाले मानिसहरु पुजाआजा गरि ऋणीमोक्षामा देवी देवतालाई खुशी पार्ने वर प्राप्त गर्ने,विभिन्न पापबाट मोक्ष पाउने,गौजो काटने गर्दछन । शुद्ध मनले ऋणीमोक्क्षमा दर्शनार्थीले जे वर मागे त्यही पाउने अर्का पुजारी अस्विनी कुमार हमाल बताउनु हुन्छ ।

छायाँनाथ मन्दिर रहेको चैन गाँउबाट छायाँनाथ धाम ३ दिन टाढा हिमालमा रहेको र त्यहाँ  बास,गाँसको व्यवस्था नभएकाले तिर्थालुहरुले आफै बास गासको व्यवस्था मिलाउनु पर्छ ।

छायाँनाथ हिमालबाट निस्केको छायाँनाथ खोला र ऋणीमोक्क्षमा रहेको ऋणीमोक्क्ष तालमा नुहाई धुवाई गरि शुद्ध ग्हण गर्न गाथको दर्शन गरि तिर्थालुहरु घर फर्कन्छन ।

विश्वमा रहेका हिन्दु तथा ओमकार परिवारको प्रमुख तथा साझा आस्थाको केन्द्र रहेको छायाँनाथ धामको उचित प्रचार प्रसार र भौतिक विकासमा राज्यको ध्यान जाने हो भने देशले धार्मिक पर्यटक भित्राउन सक्ने ठुलो सम्भावना रहेको छ ।

कर्णालीमा रहेका यस्ता धार्मिक तथा पर्यटकिय स्थलहरुमा पर्यटकमैत्री विकासका पुर्वाधारको निमार्ण गरि पर्यटक आक्रर्षक गर्न सकेमा कर्णाली प्रदेश सरकार र यहाँ रहेका स्थानिय सरकारहरुले सधै संघिय सरकारको मुख ताख्ने दिन अन्त  हुन  सक्छ ।

साउन अष्टमीका दिन शसस्त्र प्रहरी,नेपाल प्रहरी सहित सरकारी टोली गाथ सहित छायाँनाथ र ऋणीमोक्क्ष धाम निस्केको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?