गुमनाम सडक डिभिजन, अलपत्र फोरलेन सडक

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । ‘चारलेन सडक वरदानभन्दा पनि अभिशाप भएको छ’, सडकको यो हविगत होला भन्ने मैले कहिल्यै सपनामा पनि देखेको थिएन, यो अभिव्यक्ति घोराही तुलसीपुर सडकमा सार्वजनिक यातायात चलाउने चालक घनश्याम परियारको हो । उहाँ यो सडकमा विगत ७ वर्षदेखि जोडिएको वताउनुहुन्छ तर सार्वजनिक यातायातमा सडकको सास्ती घोराही तुलसीपुरमा जस्तो सायद जुम्ला कालीकोटमा पनि छैन । अर्का सवारीचालक भीमबहादुर डाँगीको सकस पनि उस्तै छ । पुरन्धाराबाट काठमाडौंसम्म गाडी चलाउँदा सबैभन्दा सकस घोराही–तुलसीपुरमै भएको उहाँको अनुभव छ । त्यसमा पनि सबैभन्दा बढी सकस सेवार खोला वल्लो–पल्लो साइडका खाडलमा छ । उहाँको भनाइमा कम्तिमा स्थानीय सरकारले खाडल पुर्ने मेसो मिलाए मतदाताले गुन मान्थे तर खासमा यो सडकको स्तरोन्नति र मर्मतसम्हारको जिम्मा डिभिजन सडक कार्यालयकै हो ।

असोजमा खाडल पुर्ने र कामचलाउ कालोपत्रेको ठेक्का लिएका निर्माण व्यवसायी वेखबर छन् । चारलेनको ठेक्का रद्द भएपछि सडक सुधार गर्नु पर्ने काममा कुनै प्रक्रिया अघि बढाइएको छैन । सडक डिभिजन गुमनाम छ, कसले कामको ठेक्का लिएको हो त्यो पनि गुनमान छ । सकसैसकसको यात्रा घोराही—तुलसीपुरमा छ ।

  सङ्घीय सरकार मुकदर्शक

खासमा यो सडकको मर्मत र स्तरोन्नतिको जिम्मा स्थानीय सरकार र प्रदेश सरकारको होइन तर गाली स्थानीय सरकारलाई छ । घोराही र तुलसीपुरका मेयरहरू यो सडकको गाली खाइरहेका छन् । जनमतको कदर गर्दै घोराही र तुलसीपुरमा एक चरण खाडल पुर्ने काम पनि भयो तर यसले समस्या समाधान हुन सकेन । सकसमा छन् कार चालक, मोटरसाइकल चालक अनि सबै सवारी साधनहरू ।

यो विषयमा सडक डिभिजन कार्यालय गम्भीर हुनु पर्ने हो किनकि यो सडकको मर्मतको ठेक्का पनि भएको छ । असोज मसान्तसम्म काम सम्पन्न गर्ने गरी ठेक्का पनि भएको हो । कुइरेपानीदेखि तुलसीपुरसम्म पहिलो चरणमा बेस हालेर कालोपत्रेसहित सडक साविकको स्थानमा सञ्चालनमा ल्याउने तर सडक कार्यालयका प्रमुखको यो विषयमा कुनै आधिकारिक अभिव्यक्ति छैन ।

यहाँका सांसदहरूको दबाबमा सडक विभागमार्फत् घोराही—तुलसीपुर चारलेन सडकको २९ किलोमिटर सडक साविककै अवस्थामा मर्मत हुने गरी ठेक्का परेको थियो । ठेक्का सम्झौता अनुसार कम्तिमा ३ करोड रुपैयाँको बजेट पनि विनियोजन भएको छ तर असोज मसान्तसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले अझैसम्म पनि काम थालनी गरेका छैनन् । यो अवस्थाले अझै महिनौँसम्म सर्वसाधारण एवम् यातायात व्यवसायीले दुःख पाउने अवस्था देखिएको छ । यो सडकको सकसका विषयमा कुनै पनि सरोकारवाला निकाय गम्भीर देखिएका छैनन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?