चियाको मूल्य नपाउँदा किसान मर्कामा

Read Time = 3 mins

प्रकाश नेपाल/हिटा
इलाम । नेपालको सुदूरपूर्वी इलाम चियाले परिचित जिल्ला हो । यहाँका अधिकांश किसान चियाखेतीमा संलग्न छन् तर वर्षौंदेखि चियाको उचित मूल्य नपाउँदा निराश छन् । यहाँका स्थानीयवासीको जीविकोपार्जनको मुख्य स्रोत पनि चियाखेती नै रहेको छ । जिल्लाको सूर्योदय नगरपालिकामा हरियो चिया पत्तीको उचित मूल्य नपाएपछि चिया किसान वर्षौंदेखि मर्कामा पर्दै आएका छन् । नगरमा रहेका अधिकांश चिया उद्योगले विभिन्न कारण देखाउँदै हरियो पत्तीको उचित मूल्य नदिने किसानको गुनासो छ । स्थानीय किसान अम्बरबहादुर लावतीले मूल्य नपाएकै कारण खेती नै परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य ४० रुपैयाँ तोकिदिएको थियो । नगरले ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ नै बनाएर न्यूनतम मूल्य तोकिदिए पनि किसानले भने उक्त मूल्य पाउन सकेका छैनन् ।

कार्यविधिमा किसानले हरियो पत्तीको गुणस्तर कायम राख्नुपर्ने प्रावधान छ, जसमा हरियो पत्तीमा न्यूनतम ४० प्रतिशत सुइरो हुनुपर्ने उल्लेख छ तर कार्यविधिअनुसारको शर्त पालना गराउन प्रभावकारी नियमन छैन । कामदार नपाएपछि किसानले मेसिन प्रयोग गरेर चिया टिप्ने गरेका छन् । मेसिनले चिया टिप्दा गुणस्तरहीन पत्ती आउने गरेको र फर्काउनुपर्ने बाध्यता रहेको सिद्धिविनायक चिया उद्योगका प्रवन्धक अर्जुन तामाङको भनाइ छ ।

लागतअनुसारको मूल्य नपाउने र बिक्री गर्न समस्या हुने गरेको किसानको गुनासो एकातिर छ भने अर्कोतिर उद्योगी किसानले चियाको पत्तीमा गुणस्तर कायम गर्न नसकेकाले मूल्य नपाएको दाबी गर्छन् । इलाममा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड रहे तापनि चिया किसान र उद्योगीका समस्या समाधानमा भने चासो दिएको देखिँदैन । बोर्डका अनुसार सूर्योदय नगरपालिकामा ६६ वटा चिया उद्योगअन्तर्गत सात हजार पाँच सय किसान चियाखेतीमा आबद्ध छन् । इलाम, देउमाई र माई नगरपालिका साथै सन्दकपुर गाउँपालिकाका धेरै स्थानमा चियाखेती हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?