कतारका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेटवार्ता

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कतारको राजधानी दोहामा उहाँहरुबीच आज शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गर्नुभएको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँग नेपाल सरकारले उच्च आशा गरेको बताउनुभयो ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताउनुभएको थियो । उहाँले चाँडै सकारात्मक परिणाम आउनसक्ने सङ्केतसमेत गर्नुभयो । उहाँले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले कतारका प्रधानमन्त्री अल थानीसँग व्यापार र लगानीका विषय, कतार फ्रन्ट फर डेभलपमेन्टबाट हुने विकास सहयोग, आगामी उच्चस्तरीय भ्रमण आदि विषयमा समेत कुराकानी गर्नुभयो ।

परराष्ट्रमन्त्री साउद दोहामा जारी विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख, विदेशमन्त्री, निजी क्षेत्र, विषय विज्ञ, सञ्चारकर्मी सम्मिलित दोहा फोरम २०२३ मा प्यानलिस्टका रुपमा समेत सहभागी हुनुभएको स्वकीय सचिव जोशीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?