अख्तियारद्वारा भीमदत्तका तत्कालीन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका कञ्चनपुरका तत्कालिन नगरप्रमुख र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा नगरपालिकाले नियमविपरीत छुट दिएको भन्ने उजुरी आयोगमा परेको थियो । अनुसन्धानका क्रममा भीमदत्त नगरपालिकाका तत्कालिन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले राजश्व चुहावट गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आयोगका अनुसार नगरप्रमुख विष्टको अध्यक्षतामा बसेको नगरसभाको बैठकले राजस्वमा छुट दिने मनसायसहित पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सिफारिसका आधारमा एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ छुट दिने निर्णय अनुमोदन गरी ठेक्का सम्झौताअनुसार राजस्व नउठाई चुहावट गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगले चुहावट भएको रकमको दोब्बर जरिवानाको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले तत्कालिन कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालिन वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, इन्जिनियर हिमालय सिहं ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत (छैटौं) विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्र देव भट्टविरुद्ध पनि मुद्दा दायर गरेको छ । यस्तै, आयोगले सोही कसुरमा भवानी कन्स्ट्रक्शन प्रालिका संचालकहरू ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, पुष्पराज भट्ट, ईश्वरीप्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टलाई पनि मतियारको रुपमा प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

ईश्वरीप्रसाद भट्टको मृत्यु भइसकेकाले प्रचलित कानुनबमोजिम उनकी श्रीमती खगेश्वरी भट्टबाट बिगो भराउने मागदाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

घुससहित पक्राउ परेका कार्यवाहक वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नौ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका कवडियाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । कवडियाले अनुदानको लागि सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको नौ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा उनले पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्नको लागि वडा कार्यालयबाट सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उनलाई आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजायसमेत मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?