ग्याबोनमा पनि सैन्य विद्रोह, गणतन्त्रका सबै संस्था भंग

Read Time = 2 mins

लिब्रेभिल । मध्यअफ्रिकी मुलुक ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भंग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता लिएको बताएका छन् । सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन् । अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा पनि उनीहरूले गरेका छन् । आम निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोंगो विजयी घोषित हुनुभएको थियो ।

विपक्षीहरूले धाँधली भएको तर्क गरेको निर्वाचनमा राष्ट्रपति बोंगोले दुई तिहाइ मतले जितेको निर्वाचन आयोगले बताएको छ । बोंगो अपदस्थ भएसँगै ग्याबोनमा उनको परिवारको ५३ वर्षको सत्ताको अन्त्य हुनेछ । अफ्रिकाको प्रमुख तेल उत्पादकमध्येको एक ग्याबोनको ९० प्रतिशत भूभाग जंगलले ढाकिएको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको ग्याबोनमा ५५ वर्षभन्दा बढी समयदेखि एउटै परिवारले शासन गर्दै आएको छ । शनिबारको निर्वाचनमा तेस्रो कार्यकालका लागि उम्मेदवार बनेका ६४ वर्षीय बोंगोका पिताले झण्डै ४२ वर्ष सत्ता सम्हालेका थिए । सन् २००९ मा आफ्ना बुबा ओमरको निधन भएपछि उहाँले कार्यभार सम्हाल्नुभएको थियो ।

फ्रान्सको उपनिवेश रहेको नाइजरका निर्वाचित राष्ट्रपतिलाई सेनाले आफ्नो सुरक्षा घेरामा राखेर गत जुलाई २८ देखि सत्ता सञ्चालन गरेको छ । केही वर्षयता अफ्रिकामा सैन्य विप्लव नियमित घटना भएका छन् । हालैका वर्षमा बुर्किना फासोमा दुईपटक र गिनी बिसाउ, गाम्बिया र साओ टोम र प्रिन्सिपेमा एकपटक असफल विद्रोहका प्रयासका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?